
ढक् ढक् । ढोका ढक्ढकायो । हृया बेला न कुबेला को होला । कोल्टे फेरेँ । नसुने झैं गरेँ ।
ढोका खोल् न म हो के, अनौठो आवाज सुनियो ।
यो आवाज त मैले अहिलेसम्म सुनेकै थिइनँ । को हो ? भित्रबाट चिच्याएँ ।
‘म तिमीहरूले नै निम्ता गरेर आएको पाहुना हुँ, तिमीहरूलाई लैजान आको’ ऊ खित्का छाड्यो ।
कहाँ लैजाने ? म झस्किएँ ।
‘एकछिन बात मार्छु । घरमा आएको पाहुनालाई भित्र डाक्दैनौँ।’ उ थोरै विनम्र भयो ।
यो बेला अरूको घर आउनु राम्रो होइन । म जान्नँ, तिमी पनि भित्र नआउ । कोरोनासँग डर लाग्छ । खासमा मर्नदेखि डराउँछ मान्छे । हरकोही डराउँछ । म पनि डराएँ ।
सरकारले पनि घरमा नबोलाउनु, नजानु भनेको छ । उसलाई थमथम्याउने कोसिस गरेँ ।
सरकार पनि छ र तिम्रो देशमा ?, ऊ खित्का छोडेर हाँस्यो ।
छ नि मेरो देश छ । सरकार छ र त म छु । सरकारप्रति गर्व गरेँ ।
खै सरकार ? जनताको आँगनमा आइपुग्यो ? कि चुल्होमा बल्यो सरकार ? सरकारको वरिपरि हुनेले देख्नु स्वभाविकै हो । ल ढोका खोल सँगै हाँसौँ । सरकारको स्वभाव तिमीमा पनि रहेछ । हँसाउँदा रहेछौ, उसले ब्यङ्ग्य हान्यो ।
जस्तोसुकै दु:खमा पनि हाँस्न जानेका छौ । सरकार र नेताले रुन दिँदैनन् । हँसाइरहन्छन् नि भनेर घरक्क दैलो खोलेँ ।
रातो लतपतिएको अनुहार । दाँत पनि रातै । हातमा ग्लब्स छन् तर त्यो पनि रातै । निधार हुने ठाउँमा नाक छ। तालुका केही तलमाथि दुई आँखा छन्। लामो कपाल बाटेर कम्मरमा बाँधेको छ । तल फाटेको पाइन्ट र चप्पल लगाएर माथि टिलिक्कको कोट लगाएको । लाल तर यति कुरुप मैले कहिल्यै देखेको थिइनँ ।
आबुई ! को हौ तिमी । कस्तो डरलाग्दो रुप ?, सोधेँ ।
लेऊ हात मिलाम्, उसले कुराकानी अगाडि बढायो । मेरो नाम संकट हो । भयानक मान्थेँ आफैँलाई । तर, यहाँ सामान्य मानियो । संकटको ठिक ठाउँमा आँखा हुँदैन । तर, आँखा हुनेहरूले नै मलाई देखेनन् । निम्ता त गरिहाल्यौ म तिम्रो सिकार गर्न चाहन्छु ।
उसलै फेरि थप्यो, ‘म भरसक मान्छेको जीवनलाई निल्न चाहन्छु । शरीरका अंगहरू छानीछानी पालैपालो चपाएर निल्न । मन परेको अंग खाँदै जान्छु । नत्र थला पार्छु । के म कुर्चीमा आराम गर्न सक्छु ?’
हृवाइ नट प्लिज बस न । म डरले कापेँ । फेरि पनि हाँसेँ र ठट्टा मिसाइदिएँ, मेरो कुन अंग खान्छौ त खायौ भने ।
म प्राय: मान्छेको सुरुमा हात खान्छु । त्यसपछि मुटु, गिदी…. ।
‘मेरो हातले अझै धेरै काम गर्नुछ । म मजदुर हुँ । धेरैका लागि काम लाग्ने हात हुन्, यी । उसकासामु अनुनय गरेँ ।
‘दु:ख र संकटमा सबैभन्दा पहिले काटिने भनेकै मजदुरको हात हो,’ उसले तीतो सत्य बोल्यो । ‘तैपनि दु:खमा नउठ्ने हात के काम ? मान्छे छान्न नसक्ने नि हात हुन्छ ? भुइँमान्छेका साथी नबन्ने यो हात के काम ? संकट नछेक्ने हात के काम ? संकटमा मुठी उठान नसक्ने हात नमस्कार गर्न मात्रै ? यी हातहरूले काम गरिदिएको भए, म आउनै पर्ने थिएन । गिदी निचोरेर खान्छु । खासमा तिमीहरूको टाउकोमा गिदी छ तर गिदीमा हुनुपर्ने चिज छैन । खुट्टा छ, राम्ररी टेक्दैन । पैताला छ, बाटोमा हिँड्दैन । मुख छ, सम्हाल्न सक्दैनौँ । आँखा छ, देख्दैनौं । मुटु छ, न भाव छ न मौकामा हिम्मत देखाउँछौ ।’ मेरो मासु खान उसले कन्भिस गर्दै छ ।
‘दुखलाई निम्ता दिनेहरूलाई भन । हामी मजदुरलाई भनेर के फाइदा ? म एउटाको ज्यानले तिमीलाई के हुन्छ ? तिमीलाई सधैं निम्ता दिनेहरूलाई भन,’ उम्काउने कोसिस गरेँ ।
‘मजदुरका हात काटिएपछि त्यो देशको ज्यान त्यसै सुक्छ,’ उसले अरू डर देखायो । उसले सरकार चलाइरहेकाहरूसँग भेटवार्ता गरेर आएको बतायो । उनीहरूले नै निम्ता गरेका हुन्, खासमा । उनीहरूलाई बिगार्ने तिमीहरू नै हौ । त्यहाँ पठाउने तिमीहरू नै हौ । नराम्रोलाई नराम्रो भनेर पाठ सिकाउँदैनौ । तिमीहरूको पार्टी हुँदैन, गुट हुन्छ । व्यक्तिअनुसारका फरक फरक नेता हुन्छ । सरकार हुन्छ, खबरदारी गर्ने तागत हुँदैन । ढाकछोप गर्छौ । भ्रष्टाचार गर्छन्, बोल्दैनौ । काण्ड मञ्चाउँछन्, देख्दैनौ । जनताको रगत पसिनासँग खेल्छन्, चुप बस्छौ । स्वार्थमा नबोल्ने मुख भजन गाउनमात्रै हो ?
ऊ अझै रोकिँदैन ।
नराम्रोलाई नराम्रो भन्न नसकेर पार्टी र सरकारको इजार समाएर बस्ने जनतालाई भन । हामीलाई फेरि उनीहरूले नै यहाँ पठाउँछन्, भन्छन् शासकहरू । तिमीहरूको दिमाग छैन । दिमाग छ, दिमागमा विवेकको बिर्को लागेको छ । उसले अनुहार रातो पार्यो, मेरो डरले कालो निलो ।
जोडले हान्यो र मेरो कञ्चटबाट एउटा मासुको चौटो फुत्त उछिट्टियो । मुस्कुरायो र चपायो, किचिकिचि ।
झसंग ब्युँझिएँ । कञ्चट छामे, ठिकै छ । निधार छामेँ, पसिनाले लछप्पै छ । सुरुमा यो संकटले खान्छु भनेको हात जस्ताको तस्तै छ ।
समाचार हेरेँ । यो महामारीमा सरकार जोडघटाउमै छ । मजदुरको चुलो बलेको छैन । गरिब भोकको चित्कार सुसेल्दै छ । शासक बेमौसमी बाँसुरी बजाइरहेको छ ।
कुर्चीको खेलमा खेलिरहेकै छन् । जनता संकटले थिलोथिलो छन् । हो, मजदुर गरिबको ज्यान खान देशमा संकट आइरहेकै रहेछ ।
खासमा अघि चपाइरहेको कुरा र आवाज थियो नि ? खासमा त्यो त हाम्रो सपना रहेछ, जो चपाइरहेछ यो समयले। चपाएको त मजदुर र गरिबहरूको भरोसा रहेछ । चपाएको त जनताप्रतिको संवेदना र विवेक रहेछ, शासकले ।
प्रतिक्रिया 4