Comments Add Comment

महाकालीपारि अलपत्र २६ सय नेपालीको उद्धार

कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार हुन सकेन

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको छ । बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका २५ सय ९५ जनाको उद्धार गरिएको हो ।

एकैदिन दार्चुलापारि धार्चुलाबाट १ हजार २९६ जनाको र बैतडीपारि पिथौरागडबाट १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको हो ।

दार्चुलाका दुई नाकाबाट उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । दार्चुलाको दत्तु नाकाबाट ९२० जना र पुलघाट नाकाबाट ३७६ जनाको उद्धार गरिएको उनले बताए ।

उद्धार गरिएका अधिकांस नागरिक सुदूरपश्चिम प्रदेशका रहेका छन् । त्योसँगै कर्णाली प्रदेशका पनि केही नागरिक रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिको सम्बन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई घर पठाइएको उनले जानकारी दिए ।

‘उहाँहरुको ज्वरो परीक्षण गरेर जिल्ला पठाएका छौँ । थप परीक्षण त्यहीँ हुन्छ,’ उनले भने, ‘जिल्ला पुगेकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्देशन आएको छ ।’

भारतको क्वारेन्टाइनमा बसेर आएका नागरिकलाई १४ दिन र त्यहाँ नबसेकाहरुलाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्देशनसहित जिल्ला पठाइएको उनले जानकारी दिए ।

बैतडीपारि उद्धार गरिएका नागरिकहरुलाई पनि बिहीबार रातिनै घर पठाइएको छ ।

भरतको पिथौरागडबाट उद्धार गरिएका नागरिक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका रहेको बैतडीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार हुन सकेन

बिहीबार बैतडी र दार्चुला नाकाबाट २६ सय नागरिकको उद्धार गरिए पनि कैलाली र कञ्चनपुर नाकाबाट भने नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।

एक महिन अघिदेखि कैलालीको गौरिफन्टा नाकापारि १२० जना नेपाली अलपत्र छन् । भारतको पलियामा अलपत्र परेका नागरिकहरुको उद्धारका बिषयमा अझै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

उता कञ्चनपुर पारि चम्पावतमा पनि २ सय जना भन्दा बढी नेपाली अलपत्र छन् । एक महिनादेखी अलपत्र ती नेपालीहरुको पनि उद्धार हुन सकेको छैन । उपल्लो निकायबाट निर्देशन नआएको हुँदा उद्धार हुन नसकेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए ।

‘उनीहरुको तथ्यांक संकलन गरेका छौँ । तर उद्धार हुन सकको छैन,’ उनले भने, ‘माथिबाट निर्देशन आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment