Comments Add Comment

पोखरा महानगरले राहत वितरण बन्द गर्ने, मजदुरलाई काम दिने

१९ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने बताएको छ । मजदुरलाई राहत नभई काम गरेर खाने वातावरण बनाउने मेयर मानबहादुर जीसीले बताए ।

‘जति राहत दिए पनि मजदुरको जीवन सहज हुने देखिएन । अब उहाँहरुलाई काममै फर्काउने योजना बनाउँदैछौं । कमाएरै खाने स्थिति बनाइदिँदै छौं’ उनले भने । मजदुरलाई काम दिन महानगरपालिकाले हाल विकास निर्माणसम्बन्धी १३ वटा आयोजना सञ्चालन गरेको छ ।

‘पहिलो प्राथमिकतामा बनिरहेका बाटो र कालोपत्रेलाई राखेका छौं । कुनै कुनै ठाउँका योजना सकिन पनि लागिसके,’ पोखरा महानगर इन्जिनियर प्रशान्त बरालले अनलाइनखबरसँग भने ।

महानगरभित्र ८ वटा पुल निर्माणको काम भइरहेको छ । चालु अवस्थामा रहेका योजनामा लकडाउनको सुरुआती दिनदेखि नै करिब २ सय मजदुरले काम गरिरहेका छन् । अब थप मजदुरलाई काम दिने गरी विकास निर्माण योजना अघि बढाउने महानगरपालिकाको तयारी छ ।

मेयर जिसीले लकडाउन लम्बिँदै जाँदा मजदुर वर्गमात्र नभई सम्पूर्ण अर्थव्यवस्था नै तहसनहस हुने भएकाले विकास निर्माणका काम चालु गर्ने योजना बनाएको बताए । ‘कोरोना संक्रमणविरुद्ध सम्पूर्ण सुरक्षा विधि अपनाएर काम सुरु गर्ने भनेका छौं,’ जिसीले भने, ‘महिनौं कामविहीन हुँदा एकातिर मजदुरको अवस्था बिग्रँदै गएको छ भने अर्कातिर करोडौंको क्षति हुने निश्चित छ ।’

मजदुरलाई काममै फर्काएर कमाएर खाने अवस्था सिर्जना गर्ने दायित्व आफूहरुको भएको मेयर जिसीको भनाइ छ ।

लकडाउनका कारण समस्यामा परेकालाई राहत दिन पोखरा महानगरले स्थापना गरेको कोषमा हालसम्म ४ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ । जसमध्ये ३ करोड १५ लाख रुपैयाँ खर्च भइसकेको महानगरले जनाएको छ ।

महानगरले यही कोषको रकमबाट २१ हजार मजदुरलाई खाद्यान्न राहत वितरण गरेको छ । अन्य संघसंस्थाले बाँडेको राहत जोड्दा पोखरामा खाद्यान्न राहत पाउनेको संख्या ३२ हजार रहेको छ । तर आफूहरुले राहत नपाएको भन्दै केही दिन अघि पोखरा महानगर गेटमै करिब २ सय मजदुरले धर्ना दिएका थिए ।

मेयर जिसीले अहिलेसम्म ७० प्रतिशत लक्षित वर्गलाई राहत पुगिसकेको दाबी गरे । ‘ककसको पारिवारिक अवस्था कस्तो छ भनेर घरघरै हेर्दै हिँड्न सम्भव हुँदैन । तर, ७० प्रतिशत लक्षित मजदुरले राहत भने पाइसकेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment