+
+

जनकपुरमा पुरानै मोडेलको पीसीआर मेसिन

प्रयोगशाला प्रमुख भन्छन्- रेल चाहिएको बेला मोटरसाइकलै पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते ११:२२

२० वैशाख, जनकपुरधाम । गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि प्रदेश २ मा अर्काे मेसिन आइपुगेको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाममा नयाँ मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको नयाँ मेसिन पठाएको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए ।

‘पुनः सोही मोडेलको अर्काे मेसिन आएको छ,’ प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले भने, ‘मेसिन मात्रै अर्काे हो । सबै थोक पहिलाकै जस्तो छ ।’ नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमुना परीक्षण हुने साहले जानकारी दिए ।

ठूलो मेसिन पठाइदिएको भए परीक्षण गर्न सजिलो हुने भए पनि पुनः त्यही मोडेलको मेसिन पठाइएकाले परीक्षणले गति लिन नसक्ने उनको भनाइ छ ।

यो मेसिनलाई मोटरसाइकलको संज्ञा दिँदै उनले भने ‘जसरी मोटरसाइकलले एक पटकमा एक जनालाई मात्रै बोक्न सक्छ, यो मेसिन पनि यस्तै हो । अहिले हामीलाई मोटरसाइकल होइन, एकसाथ सयौं जनालाई बोक्न सक्ने रेलको आवश्यकता छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक पठाइएको मेसिन गत चैत २१ गतेबाट सञ्चालनमा आएको थियो । यो मेसिनबाट एक सय दुई जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, परीक्षण गरिएकामध्ये रौतहटका दुई जना र सर्लाहीका १ जना बालकको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा गरिएको परीक्षण नेगेटिभ र काठमाडौंमा पोजेटिभ देखिएपछि पीसीआर मेसिन थन्काइएको थियो । उक्त मेसिन थन्काएर परीक्षण बन्द गरिएपछि संकलन गरिएका स्वाबहरू काठमाडौं पठाइँदै आएको छ ।

मेसिन बन्द हुँदा पनि काम जारी

यसअघि संघीय सरकारले पठाएको मेसिनले लगातार नेगेटिभ रिपोर्ट मात्र दिएपछि त्यसलाई बन्द गर्दासमेत काममा लागिपरेको बताउँछन् प्रयोगशाला प्रमुख साह। मेसिन नभए पनि आफूले काम नरोकेको बताउँदै प्रमुख साहले थ्रोट स्वाब संकलन गर्नेदेखि अन्य जिल्लामा नमुना परीक्षण गरी समयमा रिपोर्ट दिँदै आएको बताए ।

‘मेसिन बन्द छ, तर स्वाब संकलन गर्दै समयमै रिपोर्ट दिने काम गर्दै आएका छौँ,’ उनले भने । उनले स्वाब परीक्षणका लागि काठमाडौं, हेटौंडा र धरान पठाइरहेको र नयाँ मेसिन सञ्चालनमा नआउन्जेलसम्म पठाइरहने बताए ।

‘मेसिन बन्द भएपछि सर्वसाधारणमा नकारात्मक सन्देश जानु स्वाभाविक हो,’ साह भन्छन्, ‘तर यहाँ कुनै किसिमको काम रोकेका छैनौं । समयमै सबै काम गर्दै आएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?