Comments Add Comment

पर्यटनमा महामारीको असर र सौराहाको सर्तकता

नेपाल भूकम्पीय दृष्टिले ११ औ‌ं, जलवायुको दृष्टिले चौथो, बाढीका दृष्टिले ३०औ‌ं र बहुप्रकोपीय जोखिमको हिसाबले २० औ‌ं स्थानमा छ । नेपालमा पहिरो, हिमताल विष्फोटन, डढेलो, आगलागी, भूकम्प, बाढी, टोरनाडो साथसाथै विश्वमै विकराल अवस्था उत्पन्न गराएको कोभिड-१९ विपत्तिको कारण बन्ने गरेको छ ।

विगतलाई हेर्दा नेपालमा २०४५ सालको भूकम्प, २०५०, २०५९, २०६४ र २०६५ सालको बाढी तथा २०७२ को विनासकारी भूकम्पले हजारौंको जीउधनसँगै पर्यटनमा समेत १८ अर्ब बराबरको क्षति व्यहोर्नुपर्‍यो। २०७५ सालमा बारामा आएको विनासकारी टोरनाडो जस्ता प्राकृतिक विपत्तिले २०० जनालाई घरबारविहीन बनायो । हाल देखापरेको कोभिड-१९को भयावह स्थिति हेर्दा यसको समयावधि कहिले र कतिसम्म हुन्छ ? यसको असर कतिसम्म पर्छ भन्ने अन्योल छ ।

नेपाल सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रिय नाराकै रुपमा लागिपरेको थियो । फलस्वरुप पर्यटनको आगमन पनि व्यापकरुपमा बढ्दै थियो । तर, कोभिड-१९ भाइरसका कारण सरकारले गत चैत १० गतेदेखि आन्तरिक र बाहृय आवत-जावत बन्द गर्‍यो । देशको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पक्ष एक पर्यटन पनि हो । तर, कोरोनाले पर्यटनका लागि इतिहासकै डरलाग्दो अवस्था सिर्जना गरिदिएको छ ।

सौराहाको अवस्था

कोरोना र लकडाउनका कारण देशको तेस्रोे ठूलो पर्यटकीय नगरी सौराहाका रिसोर्ट व्यवसायीहरू मारमा परेका छन् ।

सौराहाका होटेल व्यवसायीहरूले प्राकृतिक प्रकोप र महामारीविरुद्ध अपनाएको पूर्वतयारीका मापदण्डले धेरै हदसम्म कोभिड-१९ लाई समेत सम्बोधन गरेको कुरा तीन चरणमा (सन २०१८ देखि २०१९ सम्म) गरेको सोधपत्रको अध्ययनले देखाएको छ ।

सौराहा चितवनको रत्ननगर नगरपालिकाको बछ्यौली गाउँको राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज नजिकै अवस्थित छ । यहाँ विगत १९९२-१९९३ मा करिब ५५हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आएका थिए । तीमध्ये २३ हजार पर्यटक निकुञ्ज नजिकैको होटेलमा बसेका थिए ।

यहाँ सिङ्गापुर, हङकङ, ताईवान र भारतबाट ठूलो संख्यामा पर्यटक आउने गर्थे । विगतदेखि हालसम्म होटल व्यवसायीहरूले आफ्नो क्षेत्रको सुरक्षाका निम्ति चाहिने अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुरक्षा उपकरण प्रयोगमा ल्याएको अध्ययनले देखाएको छ । जस्तै-

१. आगलागीसम्बन्धी

  • भान्सा घरमा Fire Extinguiser,
  • भान्सा घर सुत्ने कोठाभन्दा टाढा रहेको,
  • मद्यपानको लागि छुट्टै क्षेत्रको व्यवस्था,
  • हाइ भोल्टेजबाट बच्न अटोमेटिक स्वीचको व्यवस्था,

२. बाढीसम्बन्धी

  • पानीको वहावलाई न्यून बनाउन नदीको तट एवं रिसोर्ट वरिपरि प्रशस्त बोटबिरुवा रोपिएको,
  • पानीको जोखिममा अड्किएका मान्छेलाई हात्तीबाट उद्दार गरिने,
  • भूकम्प प्रतिरोधी भवन एवं खुला चौर रहेको,
  • जोखिम न्यूनीकरण गर्ने प्रविधिको प्रयोग

३. शारीरिक सुरक्षासम्बन्धी

  • अनुमतिविना प्रवेश निषेध
  • प्रत्येक व्यक्तिको सुरु परिचय लिने
  • हातहतियार भए नभएको इलेक्ट्रोनिक पद्धतिबाट चेक जाँच गर्ने
  • चौबीसै घण्टा एम्बुलेन्सको व्यवस्था
  • आकस्मिक उपचारको निम्ति स्वास्थ्यकर्मीको व्यवस्था गर्ने
  • चौबीसै घण्टा सिसी क्यामेराका साथसाथै सुरक्षाकर्मीको व्यवस्था

४. खाना सुरक्षासम्बन्धी

  • खाना बनाउँदा छुट्टै एप्रोनको व्यवस्था
  • हातमा पञ्जा तथा टाउकोमा पूर्ण टोपीको व्यवस्था
  • विभिन्न ठाउमा साबुनपानी तथा स्यानिटाइजरको व्यवस्था
  • अस्वस्थ कर्मचारीलाई छुट्टीको व्यवस्था
  • तत्काल प्याकिङ्ग भएका खाद्यान्नमा जोड
  • विषादीरहित हरियो सागपातमा जोड

५. वातावरणीय सुरक्षासम्बन्धी

  • रिसोर्ट वरिपरि प्रशस्त बोटबिरुवाको वृक्षारोपण
  • प्रकोपका बेला पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन हात्तीको व्यवस्था
  • पातलो बस्ती तथा प्रशस्त खाली चौरको व्यवस्था
  • भैपरी आउन सक्ने जोखिमको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय स्तरका छुट्टाछुट्टै प्रविधिको प्रयोग

६.  सामानको सुरक्षासम्बन्धी

  • होटल तथा रिसोर्टमा बस्ने पाहुनालाई छुट्टै लकरको सुविधा
  • दुई सिफ्टमा सुरक्षाकर्मीको निगरानी
  • सम्बन्धित पर्यटकको उपस्थितिमा मात्रै कोठाको सरसफाइ गरिने
  • नयाँ आगन्तुकलाई अनुमतीविना प्रवेश निषेध

७. अपराधसम्बन्धी

  • नगरपालिकाको रोहवरमा सुरक्षा निकायद्वारा होटल तथा रिसोर्टको निगरानी
  • रिसोर्ट तथा होटलका पहरेदारद्वारा निगरानी
  • २४ घण्टा सीसी क्यामेराको निगरानी

८. आतंकवादसम्बन्धी

  • तीन चरणमा छड्के जाँच गरिने -आगन्तुकको परिचय बुझ्ने, सुरक्षाकर्मीलाई सुसूचित गराउने, हातहतियार तथा लागु औषध जस्ता कानुनद्वारा प्रतिबन्धित कुरालाई पूर्ण चेकजाँच गरिने)

 ९. महामारीसम्बन्धी

  • विभिन्न ठाउँमा साबुनपानी तथा स्यानिटाइजरको व्यवस्था
  • आकस्मिक उपचारका निम्ति तत्कालै स्वास्थ्यकर्मीको व्यवस्था
  • निश्चित दुरी कायम गरी छुट्टाछुट्टै कोठा तथा बेड, बिस्तराको व्यवस्था
  • आवश्यक व्यक्तिको पहिचान गरी उचित यातायातको साधनद्वारा गन्तव्यमा पुर्‍याइने व्यवस्था
  • विविध सचेतनामूलक सूचनाको व्यवस्था
  • महामारी रोकथामका निम्ति छुट्टै कोषको व्यवस्था

यसरी प्राकृतिक प्रकोप तथा महामारीका कारण पर्यटन क्षेत्रको द्रूतगतिको विकासलाई बीचैमा रोकी अर्बौंको धनसम्पती तथा अमूल्य जीउधनको क्षति व्यहोर्दै आएका बावजुत पनि राष्ट्रको अर्थव्यवस्थामा अग्रणी भूमिका निर्वाह गर्ने पर्यटकीय क्षेत्रमा आईपर्ने विविध प्राकृतिक प्रकोप तथा महामारीका जोखिम न्यूनीकरणका निम्ति सौराहाका होटल तथा रिसोर्ट व्यवसायीहरूले अर्बौं लगानी गरी अवलम्बन गरेका अधिकांश सुरक्षाका उपायहरूले पर्यटकीय क्षेत्रसँग सम्बन्धित पाहुना तथा कर्मचारीहरूको जीउधन र होटल तथा रिसोर्टका भौतिक संरचनाहरूको यथासम्भव पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको पाइन्छ । जसका कारण भावी दिनमा समेत सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा सौराहाको पर्यटन क्षेत्रलाई लिन सकिन्छ ।

  (सापकोटा त्रिविमा द्वन्द्व, शान्ति र विकास अध्ययन विषयमा स्नातकोत्तरतहकी विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment