Comments Add Comment

कुवेतमा आममाफी पाएका ३५ सय नेपाली स्वदेश फर्किने अनुमति कुर्दै

दूतावासमा ट्राभल डकुमेन्ट बनाउन आएका नेपाली

२२ वैशाख, काठमाडौं । कुवेतमा झण्डै तीन हजार पाँच सय नेपाली स्थानीय आश्रयस्थलमा अहिले सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरू आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदारहरू हुन् ।

कुवेतले विनाकैद तथा जरिवाना गैरकानुनी हैसियतका कामदारका लागि आममाफी दिन आह्वान गरेपछि त्यस्ता कामदारहरू कुवेतको सरकारी आश्रयस्थलमा पुगेका छन् ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ। विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् । तर, कुवेत सरकारले उनीहरूलाई फर्काउने गरी दूतावासमार्फत नेपाल सरकारसँग पहल गरेको छ ।

नेपाल सरकारले क्वारेन्टाइन राख्ने प्रवन्ध गरेर नेपाल फर्किन अनुमति दिएपछि मात्रै उनीहरू आउन पाउने अवस्था छ ।

कुवेतको आममाफी प्रक्रियामा सहभागीहरू भएकालाई घर फर्किन लगेज र आफ्नो बन्दोबबस्तीका समान र आवश्यक तयारीसहित त्यहाँको सार्वजनिक खेल मैदान, विद्यालय, क्याम्पस, सार्वजनिक सभाहललगायतमा पुगेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतले आश्रयस्थलमा खाना र बस्नको प्रवन्ध गरेपनि व्यवस्थित वातावरण छैन । त्यस्ता आश्रय केन्द्रहरूमा नेपालीसहित थुप्रै देशका नागरिकलाई मिसाएर राखिएको छ ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रिया सहभागी हुन समय दिएको थियो ।

यही समयमा अवैध हैसियतमा रहेका कतिपय नेपाली तोकिएका केन्द्रहरूमा पुगेका थिए । नेपाली दूतावासका अनुसार चार दिनको बीचमा करिब तीन हजार नेपालीले स्वदेश फर्किन ट्राभल डकुमेन्ट पाएका छन् । जो राहदानी नबोकी कुवेतमा बसेका थिए ।

कुवेतले अवैध कामदारलाई आफ्नै स्रोतबाट विमान चार्टर गरेर कामदार फर्काउने व्यवस्था गरेको छ । यसअनुसार यो प्रक्रिया सहभागी कामदारले निःशुल्क स्वदेश फर्किन पाउँछन् । यसरी फर्किने कामदारलाई पुनः कुवेत फर्किन दिने निर्णय पनि त्यहाँको सरकारले गरेको छ । उनीहरूले कुवेतमा कुनै जरिवाना र कैद सजाय पनि भोग्नु पर्दैन ।

आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूले आश्रय स्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्दारको लागि हवाई मार्ग खोल्न माग गरेका हुन् ।

आश्रय स्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिनेबारे छलफल थालिएको श्रम मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार कुवेतमा करिब सात हजार यस्ता कामदार रहेको अनुमान गरिए पनि आधा संख्यामा मात्रै आममाफी प्रक्रियामा आएको बताए ।

‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर छलफल थालेका छौँ, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थानको मूल सवाल छ,’ ती अधिकारीले भने,’के गर्ने भनेर छलफलमै छौँ ।’

नेपालले कोभिड-१९को संक्रमणको अवधिभरि उनीहरूलाई कुवेतमै क्वारेन्टाइनमा राख्न पनि त्यहाँको सरकारसँग पहल गरेको छ ।

यो पनि पढ्नुहोस कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment