Comments Add Comment

नारायणीका कोरोना संक्रमितको दैनिकी : नमाज पढ्ने, फोनमा गफिने

२२ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रदेश–२ मा हालसम्म भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको थलो बनेको छ । संघीय सरकारले लेभल–२ को कोरोना अस्पताल घोषणा गरेपछि नारायणीमा अन्य सेवा ठप्प छ ।

यो अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमितको उपचार भइरहेको छ । यसअघि कोरोनामुक्त भनेर डिस्चार्ज भएका दुई जना पनि पुनः अस्पताल भर्ना भएका छन् । सबै विरामीको अवस्था सामान्य छ ।

कतै निस्कन नपाउने भएकाले कोरोना संक्रमितका लागि अस्पतालको आइसोलेसन वार्ड जेलजस्तै लाग्नु स्वाभाविक हो । लकडाउनमा घरमा बस्नुपर्दा त मानिसहरू उकुसमुकुस मानिरहेका छन् भने आइसोलेसन वार्डमा बिरक्त लाग्नु अनौठो कुरै भएन ।

नारायणीमा पहिलेको इमर्जेन्सीलाई आइसोलेसन वार्ड बनाइएको छ । संक्रमितलाई भर्ना लगत्तै दिइने स्वच्छता किटमा व्यक्तिगत सरसफाइका लागि चाहिने सबै सामान हुन्छन् । बिहान चिया–खाजापछि स्वास्थ्यकर्मीले सबै संक्रमितसँग फोनमा सोधपुछ गर्छन् ।

नियमित तालिकाअनुसार बिहान, दिउँसो र बेलुका खाजा–खानापछि संक्रमितहरूसँग फोनमा कुराकानी गर्छन् । औषधि दिने बेलामा पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगाएर वार्डभित्रै जान्छन् ।

दुरी कायम गरेर राखिएका संक्रमितहरूलाई फोनमा आफन्तजनसँग कुराकानी गर्न कुनै रोकावट छैन । स्टाफ नर्स अञ्जना श्रेष्ठका अनुसार उनीहरूले अधिकांश समय फोनमा कुरा गरिरहेका हुन्छन् ।

मुस्लिम समुदायका संक्रमितहरू दैनिक पाँचपटक नमाज पढ्छन् । वार्डमा ११ संक्रमितमध्ये १० जना मुस्लिम समुदायका छन् । एक सातादेखि मुस्लिम समुदायको महान चाड रमजान चलिरहेको छ । १४ वैशाखमा भर्ना भएका वीरगञ्जका दुई संक्रमित पहिल्यैैदेखि मधुमेह (सुगर) र रक्तचाप (ब्लड प्रेसर)को औषधि सेवन गरिरहेका थिए ।

आइसोलेसन वार्डमा समस्या हुने भएपछि उनीहरूले रोजा सार्ने निर्णय गरेको स्टाफ नर्स श्रेष्ठले बताइन् । उनका अनुसार, वैशाख १६ गते थपिएका रौतहटका दुई जना संक्रमित पनि रोजा सार्ने निर्णयमा पुगेका छन् । ‘दुईजना मात्र रोजा बस्नुभएको छ’, उनले भनिन्, ‘अहिले औषधि धेरै खानुपर्ने हुँदा निको भएपछि रोजा बस्ने भन्नुभएको छ ।’

पुनः भर्ना भएका रौतहटका युवकले लामो समय आइसोलेसनमा बसेकाले रोजा बस्न नसकेको बताए । ‘रोजा बस्न तागत चाहिन्छ, तर १५ दिन आइसोलेसनमा बस्दा शरीर कमजोर भइसकेको थियो’, उनले टेलिफोनमा भने, ‘त्यसैले पछि बस्ने निधो गरियो ।’

यसअघि कोरोनामुक्त भएर गएका चारैजना मुस्लिम समुदायका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment