Comments Add Comment

वीरगञ्जमा पीसीआर परीक्षण सुरु

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण सोमबारदेखि सुरु भएको छ । पहिलो चरणमा १६ वटा थ्रोट स्वाबको नमुना परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले लामो समयको प्रतिक्षाको अन्त्य भएको जानकारी दिए ।

‘आजबाट पीसीआर सेवा सुरु गरेका छौं, १६ वटा थ्रोट स्वाबको नमुना परीक्षणको क्रममा छ । सोही नमुना भेरिफिकेसनका लागि स्वाब टेकु पनि पठाएका छौं । दुवैतिरको रिपोर्ट तुलना गर्छौं,’ उनले भने, ‘ल्याब सञ्चालनपछि पीसीआर जाँचका लागि कुर्नुपर्ने अवस्था अन्त्य हुने छ ।’

राष्ट्रिय प्रयोगशालाका माइक्रोबायोलोजिस्ट र भाइरोलोजिस्टले पीसीआर परीक्षणका लागि अस्पतालका चार जना प्राविधिकलाई एकसातादेखि तालिम दिइरहेका थिए । वैशाख ३ गते नै मेसिन वीरगञ्ज आइपुगेको भएपनि सञ्चालनमा समय लागेको छ ।

यो पनि पढ्नुहोस कोरोना परीक्षण गर्न वीरगञ्ज आइपुग्यो पीसीआर मेसिन

पूर्वतयारी नभएको अवस्थामा पीसीआर मेसिन आएकोले मलेकुलर ल्याब तयार गर्न समय लागेको मेसु उपाध्यायले जानकारी दिए । ‘पूर्वतयारी नभएको अवस्थामा पीसीआर मेसिन र दुई जना विज्ञ प्राप्त भयो, मलेकुलर ल्याब सञ्चालनका लागि आवश्यक समान थिएन,’ उनले भने, ‘ विज्ञको सल्लाहको आधारमा समान जुटाउन समय लागेको हो । समानको बारेमा पहिले नै जानकारी भएको भए तयारी गर्ने थियौं ।’ मेसिन बाहेक ५० लाखभन्दा बढी सहायक समाग्री खरिद गरिएको मेसु उपाध्यायले बताए । ‘मेसिन आइसकेपछि ५० लाख भन्दा बढीको सहायक सामग्री टेन्डरमार्फत खरिद गरेका छौं, प्रदेश सरकारसँग माग गरेका छौं । सकारात्मक आश्वासन पाएका छौं,’ उनले भने ।

एक पटकमा ३६ वटा स्याम्पल परीक्षण गर्न सक्ने क्षमताको मेशिन नारायणी अस्पतालमा छ । थ्रोट स्वाब संकलनपछि परीक्षण परीक्षण गरेर रिपोर्ट आउन ५ देखि ६ घण्टा समय लाग्छ । दैनिक दुई सिफ्टमा ७२ वटा सेम्पल जाँच गर्ने तयारी अस्पतालले गरेको छ । अस्पतालमा हाल २ सय ५० थान रिएजेन्ट रहेको र थप माग गरिएको कल्सल्टेन्ट प्याथोलोजिष्ट डा. नीरा पाठकले जानकारी दिइन् ।

यसअघि थ्रोट स्वाबको नमुना संकलन गरिसकेपछि पिसिआर परीक्षणका लागि हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाउनुपर्ने बाध्यता थियो । यसक्रममा ८ सय भन्दा बढी थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षण भइसकेको डा. उदय नारायण सिंहले जानकारी दिए ।

नारायणीले ०७६ चैत ६ गतेदेखि आइसोलेसन सेवा सुचारु गरेको हो । अस्पतालले हालसम्म २६ जना शंकास्पद संक्रमितलाई आइसोलेसनमा भर्ना गरेर उपचार गरिसकेको छ । हाल पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment