Comments Add Comment

सांसदको कोरोना परीक्षण गरेर मात्र बैठक राख्न सुझाव

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२२ वैशाख, काठमाडौं । संघीय संसद भवन प्रवेश गर्नेहरुमा आरटी पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसदहरुले सुझाव दिएका छन् ।

मंगलबार कार्यब्यवस्था परामर्श समितिको बैठकमा सहभागी विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुले यस्तो माग गरेका छन् । ‘अधिकांश मानीयहरुले पीसीआर टेष्ट गर्नुपर्ने सुझाव दिनुभएको छ । तर, यो विषय सरकारको क्षमतासँग जोडिने भएकाले सभामुखले सरकारसँग समन्वय गर्ने कुरा भएको छ’ बैठकपछि कांग्रेसकी सचेतक पुष्पा भुसालले अनलाइनखबरसँग भनिन् ।

संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । उक्त अधिवेशन सुरु हुनुअघि कोरोना भाइरस रोकथामबारे छलफल गर्दा सांसदहरुले कोरोनाको प्रयोगशाला परीक्षणकै सुझाव दिएका हुन् ।

यसअघि, चिकित्सकहरुले पनि यस्तै सुझाव दिएका थिए ।

वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलसहितको टोलीले संसद भवनको स्थलगत अनुगमन गरेको थियो । त्यस क्रममा चिकित्सकहरुले संसद भवन छिर्नेहरुको दुई दिनअघि नै पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।

मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही सांसदहरुले सबैको नसके पनि बृद्ध, रोग लागेका र नियमित औषधि सेवन गरिरहेका, राजधानी बाहिरबाट तत्काल आएका सांसदको मात्रै भए पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने बताएका थिए ।

कोरोना परीक्षणको विषयमा भोलिदेखि नै सचिवालयले अध्ययन सुरु गर्ने जनाएको छ । यसका लागि संसद सचिवालयले एउटा टोलीसमेत बनाएको छ ।

‘उक्त टिमले प्रत्येक सांसदहरु कहाँ कहाँ छन्, कहिले कहाँबाट आएको जस्ता विवरण संकलन गरेर स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसको आधारमा कसको कुन क्षेत्रको परीक्षण गर्ने भन्ने तय गरिनेछ’ सचिवालयका एक कर्मचारीले भने ।

उच्च सर्तकता अपनाउने निर्णय

मंगलबारको कार्यब्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालन गर्दा उच्च सर्तकता अपनाउने निर्णय गरेको छ । संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था हुनेछ । त्यसपछि ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।

संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा नगई बसेकै ठाउँबाट बोल्ने व्यवस्थ ागर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाव दिएको छ ।

सांसदलाई ल्याउने र पुर्‍याउने व्यवस्था

बैठकमा भाग लिन आउने सांसदाई गाडीले ल्याउने र पुर्‍याउने व्यवस्था पनि गर्नेछ ।

सबै सांसदको गाडी नभएकाले निश्चित क्षेत्र तोकेर त्यहाँसम्म संसद सचिवालयकै गाडीले पु¥याइदिने विषयमा मंगलबार छलफल भएको छ । ‘यसबारे सचिवालयले व्यवस्था मिलाउला’ सचेतक भुषालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment