Comments Add Comment

अमेरिकामा कोरोना कहरले जोडेको नेपाली समाज

सकारात्मक सन्देश दिँदैछन् कोरोनाबाट विजयीहरु

अमेरिकामा रहेको नेपाली समाज नेपालको सानो रुप हो । नेपालमा जे जस्ता चरित्र छन्, यहाँको समाजले पनि त्यही चरित्र बोकेको छ । पछिल्लो समय भनाइ नै छ, अमेरिका गए आचरणसँगै । यसको अर्थ यहाँको नेपाली समाजले भुईँ छोडे पनि टाउको छोडेको छैन । अर्थात् नेपाल हुँदा जसरी सोच्थ्यो, यहाँ पनि त्यसरी नै सोच्छ ।

रमाइलो त के भने अहिले पनि धेरैले डलरलाई पनि रूपैयाँ नै भन्छन् र आम्दानी-खर्च गर्दा स्मार्ट फोनमा रहेको क्याल्कुलेटरमा आजको विनिमयदरले गुणा गर्न छोडेका छैनन् ।

नेपाली समय, नेपाली पारा पनि उही गतिमा छ ।

अमेरिकामा नेपालीका विभिन्न आधारमा खोलिएका हजारको संख्यामा संघ, संस्था छन् । राजनीतिक आस्थादेखि व्यावसायिकतासम्म । जातजातिदेखि क्षेत्र, जिल्ला र गाउँसम्म । साहित्यिकदेखि पेशागतसम्म सबैखाले संघसंस्था छन् यहाँ । र, हरेक संस्थामा पनि कम एकता र बढी बेमेल नै छ ।

जति नै संस्था भए पनि अमेरिका आएको पहिलो पुस्तालाई त्यहीँ रमाइलो थियो भने अर्को पुस्ता भने त्यसबाट विरक्तिँदै अध्ययन र व्यावसायिक उन्नयनका लागि लागिरहेको थियो । समाजशास्त्रीय कोणबाट हेर्दा यो एक किसिमको सामाजिक विनिर्माणको अवस्था जस्तो थियो ।

तर, अहिलेको अवस्था धेरै फरक छ, कोरोना महामारीविरूद्ध लड्न अमेरिकाको नेपाली समाज एकजुट भएको छ । सबैभन्दा धेरै कोरोनाले असर गरेको र नेपालीको बाक्लो बस्ती रहेको न्युयोर्कदेखि क्यालिफोर्निया र शिकागो हुँदै टेक्साससम्म जहाँ-जहाँ नेपालीको बाक्लो बसोबास छ, त्यहाँ-त्यहाँ यतिबेला अभूतपूर्व एकता देखिएको छ । लाग्छ, जतिसुकै अपि्रय भए पनि कोरोना कहर अमेरिकाका नेपालीबीच एकता र भातृत्व विकास गर्दै बाँच्दाको जन्ती र मर्दाको मलामी प्रमाणित गर्ने एक अवसर भएको छ ।

सकारात्मक सन्देश दिँदै कोरोना विजयीहरु

अमेरिकामा करिब पाँचसयको संख्यामा कोरोना संक्रमित नेपाली भएको अनुमान गरिएको छ । यसबीचमा दर्जनभन्दा धेरैको मृत्यु भएको बताइए पनि आधाजतिको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । भर्जिनिया र कोलोराडोमा एक/एक जनाको निधन भएको छ र बाँकी न्युयोर्कमै मृत्यु भएको भनिएको छ ।

नेपाली समुदायका अधिकांश सदस्य कोरोना संक्रमणका बारेमा त्यति उदार भएको देखिएन । धेरैले यो रोग सुरूमा देखाउन नै चाहेनन् । तर, जब उनीहरु निको भए, त्यसपछि भने आफूले कोरोनालाई जितेको अनुभव र संक्रमण हुँदाका लक्षणहरु बताएर धेरैलेे समुदायमा चेतना फैलाउने र हिम्मत दिने काम गरेका छन् ।

बाल्टीमोरमा रहेका नेपाली अवैतनिक महावाणिज्यदुत प्रेमराजा महत भन्छन् , ‘कोरोनालाई जित्ने बिजेताहरुको अनुभवले समुदायलाई धेरै सहयोग पुगेको छ । यसरी बाहिर आएर आफ्नो अनुभव साट्नु सबैको हितको कुरा हो । दिनदिनै आफुले भोगेको अनुभव बाहिर ल्याएर जित्ने उपाय बताएर समुदायलाई हिम्मत र चेतना फैलाउने काम गरेर पनि समुदायलाई जोड्ने कार्यमा धेरै सहयोग पुगेको छ।’

बरिष्ठ लोकगायक महत भन्छन्, यसले मानव जातिलाई नै सकारात्मक सोच ल्याउन लागेको देखिन्छ, आखिर सम्पतीभन्दा पनि स्वास्थ्य र मानवता ठूलो रहेछ भन्ने यसले देखायो ।

सहयोगी नेपाली हातहरु

आज मैले यहाँ अमेरिकाको नेपाली समाजमा कोरोनाविरूद्धको युद्धमा होमिएका फरक-फरक क्षेत्रका व्यक्तिको योगदानका बारेमा चर्चा गर्ने प्रयास गरेको छु । मलाई थाहा छ, मैले यहाँ उल्लेख गरेका बाहेकका अन्य असंख्य व्यक्तिले पनि योगदान गरेका छन् । प्रतिनिधि पात्रका रूपमै सही, मैले केही क्षेत्र र व्यक्तिको नाम उल्लेख गर्ने प्रयास गरेको छु ।

अमेरिका आउने पहिलो पुस्ताका नेपालीलाई अमेरिकी अध्यागमन कानुनमा हुने परिवर्तन र निकै कडा नियम भएको आईआरएस अर्थात् ट्याक्ससँग सम्बन्धित विषयमा हुने परिवर्तनको निकै चासो हुने गर्छ । कोरोना महामारीका बेला अमेरिकी सरकारले यी दुबै क्षेत्रमा थुप्रै परिवर्तन गर्‍यो । ती परिवर्तनले पार्ने सम्भावित असरलाई लिएर नेपाली समाजमा चासो र चिन्ता बढायो । कानुनीरूपमा उठेका चासो र चिन्तालाई अमेरिकाको नेपाली डायस्पोराका पहिलो वकिल खगेन्द्र क्षेत्रीदेखि युवा अधिवक्ता बासु फुलारासम्मका धेरै अधिवक्ताले सामाजिक सञ्जालबाटै सम्वोधन गरिदिएका छन् ।

बरिष्ठ अधिवक्ता क्षेत्री भन्छन्, समुदायका लागि केही हदसम्म सहयोग गर्न पाएकोमा आफूहरुलाई सन्तुष्टि मिलेको छ । मेरो फोन यतिबेला यही कोरोनासँग सम्बन्धित मान्छेकै कलले व्यस्त छ ।

अर्का अधिवक्ता बासु फुलारा दैनिक २ घण्टाको समय यसैका लागि फोनमा समय छुट्याएर सहयोग माग्नेलाई निशुल्क सहयोग दिएको बताउँछन् । राहत कार्यक्रम र ट्याक्ससँग सम्बन्धित चासो र चिन्ताको सम्बोधन गर्न न्युयोर्कका सिपीए बिराज रिजाल हुन् या क्यालिफोर्नियाका राजेन्द्र सिवाकोटी, टेक्सासका भीम कार्की हुन् वा बिलास उपाध्याय उत्तिकै सक्रिय रहे ।

अमेरिकाकाका विभिन्न राज्यमा रहेका पत्रकारहरुले सञ्चालन गरेका भिडियो लाइभबाट होस् या समुदायहरुले सञ्चालन गरेको भिडियो छलफलमा वकिल र सीपीएले निशुल्क सल्लाह दिएर समुदायप्रति पनि आफ्नो दायित्व छ भन्ने पुष्टि गरे । न्यूयोर्कका सिपीए बिराज रिजाल भन्छन्, धेरै इमेल र फोन आएका छन् । सकेसम्म सबैको जवाफ दिने गरेको छु । उनीहरूको यो सामाजिक कार्यले नेपाली समुदाय त लाभान्वित भयो नै, नेपाली समाजको एकतालाई अझ उचाइमा पुर्‍याउन पनि योगदान पुग्यो ।
एनआरएनए आईसीसीका सल्लाहकारसमेत रहेका टेक्सासमा रहेका ब्यवसायी हरिबोल भण्डारी भन्छन्, नेपाली समुदायका लागि उहाँहरुले गरेको सहयोग निकै सराहनीय छ । उहाँहरु मिनेटको हिसाब चार्ज गरेर पैसा लिने व्यवसायमा हुनुहुन्छ । तर, यो महामारीमा समुदायका लागि उहाँहरुको योगदान निकै ठूलो छ ।

बाहिर आएका नेपाली डाक्टर र नर्स

अमेरिकामा धेरै संख्यामा नेपाली डाक्टर र नर्स रहेको भए पनि उनीहरु नेपाली समुदायसँग खासै जोडिएका थिएनन् । तर, कोरोना कहरले उनीहरूमा आफ्नो मूल (ओरिजिन) सँगको सम्बन्ध महत्वपूर्ण हुने रहेछ भन्ने एक किसिमको सचेतना विकास भयो । यसमा उनीहरू बसेको नेपाली समाजले पनि अभिप्रेरित गर्‍यो । आफूभित्रको नेपाली मनले चिमोट्यो ।

अहिले अमेरिकामा रहेका नेपाली डाक्टर र नर्स आफूले भ्याएसम्म सल्लाह, सुझाव र उपचारमा जोडिएका छन् । एनआरएनए स्वास्थ्य कमिटीका संयोजक डा. सञ्जीव सापकोटा र एनआरएन अमेरिकाका निर्वतमान अध्यक्ष डा. केशव पौडेलजस्ता समुदायमा भिजिरहेका डाक्टर हुन् या एटलाण्टाका युवा डा. रामु खरेल, टेक्सासका विश्वास उपाध्याय, अमित बजाज जस्ता युवा हुन्, शिकागोका डा. विकास भट्टराई हुन् या मेरिल्याण्डकी डा. पण्डित, विभिन्न माध्यमबाट समुदायमा जोडिएका छन् ।

ड्यालासको प्रेसबेटेरियन अस्पतालमा कार्यरत डाक्टर सन्दीप पाण्डे भन्छन् , ‘आफ्नो पहिलो जिम्मेवारी त बिरामी नै हेर्ने हो । त्यसपछि परिवार र समाजलाई सकेसम्म ज्ञान बाँड्ने काम गरेका छौं ।’ ड्यालासमै नेपालीहरुले सञ्चालन गरेको डा. क्लिनिक टेक्सास प्राइमरिम केयरका प्रमुख डा. मन्दिप आचार्य भन्छन्ा्, ‘हामीले हाम्रो समुदायमा कसैलाई पनि बिरामी भएर दुःख नपाउन् भनेर घरमै बसेर पनि भिडियो कलमार्फ्त चेक गराउने व्यवस्था गरेका छौं ।’

यसरी धेरै अस्पतालमा काम गर्ने डाक्टर र नर्सहरुले आ-आफ्नो सामाजिक सञ्जालबाट होस् या समुदायका विभिन्न छलफलका भिडियो कन्फरेन्स र पत्रकारले सञ्चालन गरेको भिडियो अन्तरवार्तामार्फत धेरै सकारात्मक सन्देश प्रवाह गर्ने काम गरेका छन् ।

ड्यालासमा रहेका सञ्चारकर्मी किशन रेग्मी भन्छन्, उहाँहरुको यो योगदानले समुदायलाई धेरै फाइदा दिएको छ । अमेरिकाको नेपाली समुदायलाई जोड्न पहिलोपटक डाक्टर र नर्सले पनि उल्लेखनीय योगदान गरेका छन् ।

डाक्टरको यो सकारात्मक कार्यको प्रसंसा गर्दै लस एन्जलसमा रहेका अवैतानिक महावाणिज्यदुत क्रषि ढकाल भन्छन्, हाम्रो समुदायका डाक्टर र नर्सहरुले गरेको सहयोग निकै सराहानीय छ । उहाँहरुको ज्ञान हाम्रो समुदायका लागि हितकारी भएको छ ।

राजनीतिभन्दा माथि उठेका आनन्द

न्युयोर्क यतिबेला कोरोना कहरको इपिसेन्टर हुन पुगेको छ । त्यसमा पनि त्यो इपिसेन्टर मिनी नेपाल भनिने नेपालीहरुको ठूलो बसोबास रहेको न्युयोर्कको ज्याक्सन हाइट वरिपरिको क्षेत्रमै पर्छ । भूगोलको यो निकटताले यहाँका नेपालीले कोरोना कहरको चर्को मूल्य चुकाएका छन्।

यो यथार्थलाई सम्बोधन गर्न यसपटक न्युयोर्कका नेपाली अभूतपूर्व एकता देखाएका छन् । लगभग सयको संख्यामा नेपालीका सामाजिक संघ संस्था रहेको न्युयोर्कमा नेपाली जनसम्पर्क समितिका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टको अगुवाइमा प्रवासी नेपाली मन्च, जनजाति महासंघ, नेपाल समाज, शेर्पा किदुंग, रिजउड सोसाईटी, ठकरी समाज, मधेसी एशोसियसनलगायतका संस्थाहरु मिलेर कोरोनाका बिरुद्ध सहयोग तथा सचेतना समूहमार्फत् अभूतपूर्व काम भएको छ ।

अमेरिकाभर आफ्नो संस्थाको च्याप्टर भएका र व्यक्तिगतरुपमा पनि धेरैसँग सम्बन्ध भएका बिष्टका घरमा यतिबेला अमेरिकाका विभिन्न राज्यबाट न्युयोर्कमा नपाइने टायनोल, थर्मोमिटर, मास्क, पञ्जा, सेनिटाइजर र चामलजस्ता ग्रोसरी किन्न सहयोग दैनिक रुपमा आइरहेको हुन्छ । बिष्टका घरमा आएको सामान यस संस्थाअन्तर्गतका बिभिन्न उपसमितिले पीडितका घर, घरमा पुर्‍याउने काम गरेका छन् ।

बिष्ट भन्छन्न्यु योर्कमा सबैजना घरभित्र बसेको बेला हाम्रा साथीहरु बिष्णु राना मगर, मिलन शाही, राप्के लामा, पासागं शेर्पा, सन्जीब श्रेष्ठ, सतेन्द्र शाह, शिव बानिया, राजकुमार बिष्ट, टेक गुरुङ, अच्युत सिग्देल, लाक्यान लामा, महेश खड्का, मुनेन्द्रनेम्वाङलगायतका साथीहरू आफ्नो प्रवाह नगरी पीडितको घर, घरमा सहयोग लिएर पुगेका हुन्छन् । हालसम्म एक सयभन्दा धेरै विद्यार्थीलाई चामल, दाललगायतका खाद्यान्न सामाग्री दिएको र सयौंको संख्यामा बिरामीको घरमा पुगेर औषधि तथा ग्रोसरी दिएका छन् ।’

कसैबाट पनि आर्थिक सहयोग नलिएको बताउँदै विष्ट भन्छन् ‘अहिले पनि विभिन्न राज्यबाट मनकारी साथीहरू सहयोग पठाइरहनु भएको छ । हामी कुनै पनि राजनीतिक विचार, आस्था, जाति, धर्म, क्षेत्र, सम्प्रदायभन्दा माथि उठेर जसलाई धेरै आवश्यकता छ, प्राथमिकताका आधारमा सहयोग प्रदान गरिरहेका छौं । मानवता नै सबैभन्दा माथि हुन्छ भन्ने हामीलाई थाहा छ।’

धेरैपटक बिरामी घरमा सामान लिएर जाँदा उहाँहरुको आत्माले दिने आर्शिवाद हाम्रा लागि हौसला बनेको बिष्ट बताउँछन् । नेपालमा कुनै एक राजनीतिक दलको कार्यकर्ताका रुपमा परिचय बनाएका बिष्टलाई यस घटनापछि एक साझा सामाजिक कार्यकर्ताका रुपमा धेरैले प्रशंसा गरेको पाइन्छ ।

समुदायमा यसरी गरिएको कार्यको प्रशंसा गर्दै प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष तथा एनआरएन आईसीसी सदस्य सञ्जय थापा भन्छन्, ‘यो निकै सरहानिय कार्य हो । वास्तवमा सामाजिक संस्थाले गर्ने कार्य यस्तै हो । आनन्दजी, मलगायतका साथीले शुरुबाटै महामारीको बेला समुदायका लागि केही गरौं भनेर छलफल गरेर सहयोग गरिरहेका थियौं। म फिल्डमा जान सकिँन, पछाडि बसेर सहयोग र हौसला दिने गरेको छु । जो साथी फिल्डमा गैरहनुभएको छ, उहाँहरूको जति प्रशंसा गरे पनि कमै हुन्छ ।’

न्युयोर्कमा सामाजिक न्यायका लागि क्रियाशील अधिकार, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि सुवेदी, तरुण दलका अनन्त सुवेदीलगायतका अगुवाहरु पनि पीडितको सहयोगका लागि आफ्नै तरिकाले अहोरात्र जुटिरहेकै छन्।

हृयारी भण्डारीले दिएको हात

अमेरिकाको नेपाली समुदायबाट मेरिल्याण्ड राज्यको विधायकमा निर्वाचित हृयारी भण्डारीले नेपाली समुदायमा गतिलो सहयोगी हात बढाएका छन् । अमेरिकाको कान्सास सिटीमा आमसञ्चार प्राध्यापन गरिरहेका नेपालका पुराना पत्रकार डा. प्रदीप भट्टराई उनको काम प्रशंसा गर्दै भन्छन्, ‘हृयारी अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलको इतिहासको कहिल्यै नमेटिने पाना हुन् । उनले कोरोना कहरले ल्याएको चुनौतीलाई नेपाली समुदायका लागि केही गर्ने अवसरका रूपमा उत्कृष्ट उपयोग गरे । यसो गरेर उनले अमेरिकाको मूलधारको राजनीतिमा नेपाली हुनुको अर्थ र उपादेयता पुष्टि गरे ।’

न्युयोर्कमा बसेर लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका पत्रकार किशोर पन्थी पनि विधायक भण्डारीको कामको उच्च मूल्याङ्कन गर्दै भन्छन्, ‘विधायक भण्डारीले मृत नेपालीहरुको दाहासंस्कार गर्न खर्च जुटाइदिनेदेखि शव बेवारिसे हुन नदिन ठूलो भूमिका खेलेका छन्।’

शिकागोमा रहेका नेपाली समुदायका अगुवा तथा एनआरएन अभियन्ता बाला घिमिरे भन्छन्, अमेरिकाको मुलधारको राजनीतिमा आफ्नो समुदायको जनप्रतिनिधि हुँदा धेरै फरक पर्ने रहेछ भन्ने कुरा हृयारीको कामले प्रमाणित भएको छ ।

भण्डारी मेरिल्याण्ड राज्यका विधायक भए पनि छिमेकी राज्य न्युयोर्क, न्युजर्सीलगायतका राज्यका नेपालीलाई धेरै सहयोग गरेका छन् ।

भण्डारीले अमेरिकामा निधन भएका आफन्तलाई नेपालमा सम्पर्क गराउन सहजीकरण गर्ने जस्ता काम पनि गरेका छन् । भण्डारीको साथले प्रभावित समुदायलाई धेरै सहयोग भएको आफुले टाढै बसेर महसुस गरेको टेक्सासका नेपाली समाजसेवी हेम पाठक भन्छन् ।

जुमले जगाएका पत्रकार

अमेरिकामा धेरै संख्यामा नेपाली पत्रकार छन् । यहाँ नेपाली भाषामा थुप्रै संख्यामा अनलाइन छन्, केही संख्यामा पत्रिका र केही टेलिभिजन कार्यक्रम पनि उत्पादन हुने गरेका छन् । दुई-दुईवटा पत्रकारका संस्था नै छन् । तर, पनि अमेरिकाको नेपाली समुदायका लागि सामुदायिक पत्रकारिता गर्नेको संख्या कमै छ । हुन त कतिपयले यो संख्याको पनि औचित्य खोजेका छन्, यो बेग्लै कुरा हो । तर, अहिलेको अवस्था फरक छ । कोरोना कहरसँगै धेरै पत्रकार सक्रिय भएका छन् ।

पछिल्लो समय चर्चामा आएको जुम एप र फेसबुक लाइभमार्फत् यहाँका पत्रकार जागेका छन् । दैनिकरुपमा यहाँका बिभिन्न संघ, संस्थाका अगुवादेखि वकिल, सीपीए, डाक्टर, नर्सका साथै नेपालका मन्त्री र कलाकारका अन्तर्वार्ता प्रस्तुत भएका छन् ।

न्युयोर्कमा रहेर १५ वर्षदेखि सामुदायिक पत्रकारिता गरिरहेका पत्रकार बिष्णु पौडेल भन्छन्, ‘महामारी आयो भन्दैमा हामीले आफ्नो दायित्व बिर्सेका छैनौं, सकेसम्म समुदायलाई सुसुचित पार्ने प्रयासमा छौं।’

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने भन्छन्,’हाम्रो काम भनेको समुदायमा जानकारी र सकारात्मक सन्देश प्रवाह गर्ने हो र अहिले यो महामारीको बेला साथीहरुले गरेको कार्य सकारात्मक छ ।’

बढी प्रभावित क्षेत्र न्यूयोर्क नेजाले राहत सामाग्रीसमेत पठाएको थियो । नेजाले पनि आफ्नै फेसबुक पेजमार्फत कार्यक्रम सञ्चालन गरेर समुदायमा जानकारी र सकारात्मक सन्देश दिने गरेको नेजाका महासचिव पत्रकार किरण मरहट्टा बताउँछन् । उनी भन्छन्, ‘ पत्रकारले यतिबेला व्यवसायिकभन्दा पनि समुदायको हितका लागि मिशन पत्रकारिता गर्नेबेला हो ।

त्यस्तै पत्रकारहरुको अर्को संस्था ईन्जाका अध्यक्ष गुणराज लुइँटेल पनि पत्रकारहरुले समुदायलाई जानकारी दिने कार्यक्रमा धेरैभन्दा धेरै साथीहरुले सकृय भएकोमा खुशी ब्यक्त गर्दछन् ।

उनी भन्छन्, राम्रो सूचना दिएर समुदायको हितमा लाग्नु हामी सबैको दायित्व हो र नेपाली समुदायको हितका लागि सबै सक्रिय हुनु स्वागतयोग्य कदम हो ।

न्युयोर्कमा रहेका सामाजिक अभियन्ता राधाकृष्ण देउजा समकालीन विषयमा कलम चलाउँछन् । उनको विचारमा पत्रकारहरु सदैव सक्रिय हुनुपर्छ भन्ने कुराको राम्रो सन्देश गएको छ।

एनआरएनसँगै सक्रिय स्थानीय संस्था

संसारका धेरै देशमा सञ्जाल फैलाएको एनआरएन हाल अमेरिकाको धेरै राज्यमा आˆना च्याप्टरसहित फैलिएको छ । नेपाल सरकारसँग सिधै समन्वय गर्न सक्ने संस्थाका रुपमा रहेको एनआरएनले अमेरिकामा पनि कोरोना महामारी आएसँगै विभिन्न सचेतना फैलाउने काम शुरु गरेको थियो । विभिन्न समिति बनाएर आपतमा परेका जो कोहीलाई पनि सहयोग गर्न सहज रुपमा फोन नम्बर उपलब्ध गराउने र सहयोग गर्ने काम गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताउँछन् ।

साहका अनुसार एनआरएन चौबिसै घण्टा पीडितका हितका लागि नेपाल सरकार, राजदूतावास र स्थानीय संघ-संस्थासँग सहकार्य गरेर काम गरिरहेको छ । एनआरएनले आर्थिक सहयोग उठाएर पीडितको पहिचान गरी आवश्यकता अनुसार दिने र नेपालमा र्फकन चाहानेहरुका लागि डाटा संकलन गरी सरकारसँग समन्वय गर्दैछ । अमेरिकामा एनआरएनका विभिन्न राज्यमा च्याप्टर रहेको भए पनि एनआरएनसँगै स्थानीय संघ-संस्था पनि महामारीसँगै थप सक्रिय भएका छन् ।

टेक्सासको नेपाली समाज टेक्सास होस् या लस एन्जलसको पशुपति फाउण्डेशन वा शिकागोको नेपाली समाज होस् बाल्टिमोरको नेपाली समाज, वा कान्सासको नेपाली समाज, अधिकांश नेपाली समाज जनचेतना फैलाउने, राज्य सरकारले दिएका सहयोगका बारेमा जानकारी दिने काममा जुटेका छन् ।

नेपाली समुदायको यो सकृयतासँगै संस्थाहरुले वास्तवमा समुदायको हितमा काम गरेको प्रमाणित भएको बताउँछन् लस एन्जलसमा बसेर सामुदायिक पत्रकारिता गरेका पत्रकार गोकुल ढकाल ।

अमेरिका र क्यानडामा फैलिएको एएनए होस् वा अमेरिकाकै क्षेत्रीय संस्थाको हैसियत बनाएको एन्मा, नासियाजस्ता संस्था हुन्, यतिबेला थप सक्रिय बनेका छन् । एन्माका बरिष्ठ उपाध्यक्ष समेत रहेका तिलक केसी भन्छन् ‘यतिबेला हामीले पनि छुट्टै समिति बनाएर काम गरिरहेका छौं।’

संकटले अवसर पनि लिएर आएको हुन्छ भनेजस्तै कोरोनाले अमेरिकाको नेपाली समुदायलाई घर परिवारमा लामो समयसम्म सँगै बस्ने अवसर मात्र प्रदान गरेको छैन, समाजलाई एकीकृत गर्ने चेतना पनि फर्काइदिएको छ । कोरोना कहरमाथि विजय प्राप्त गरेपछि पनि यो कायम रहोस् । अमेरिकामा जहिले पनि मूलको अर्थ हुने भएकाले यो आवश्यक मात्र छैन, अपरिहार्य पनि छ ।

अन्त्यमा, कामना गरौं- कोरोनाको महामारीलाई जितेसँगै संसारभरका नेपाली समुदायमा मात्र नभई सबै मानव जातिमा एकताको नयाँं भावना फैलियोस् ।

( थापा अमेरिकाको नेपाली सामुदायिक पत्रकारिता क्षेत्रमा आवद्ध छन् । उनी टेलिभिजन कार्यक्रम यु स्टार्ट अगेन सञ्चालन गर्छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment