Comments Add Comment

बारा–पर्साका उद्योगीले उद्योग सञ्चालनका लागि मागे अनुमति

२५ वैशाख, वीरगञ्ज । लकडाउनमा ४२ प्रकारका उद्योग खोल्न पाइने भएपछि बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरु खोल्ने तयारी भइरहेको छ । उद्योग खोल्नका लागि उद्योगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।

प्रशासन कार्यालयले टोली खटाएर काम गर्ने मजदुर कर्मचारीका लागि आवश्यक आवासीय सुविधा र खानाको प्रबन्धका बारेमा बुझेर मात्रै सञ्चालन अनुमति दिने तयारी गरेको छ । लकडाउनमा खुल्ने उद्योगले सरकारले तोकेको शर्त पालना गर्नुपर्ने हुन्छ ।

जिल्ला प्रशासन कार्यालय बाराले दिएको जानकारी अनुसार ८ वटा उद्योगले खोल्न अनुमति मागेका छन् । जसमध्ये तीन वटा उद्योगलाई अनुमति दिइसकेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘उद्योग खोल्न पाउँ भनेर हामीलाई ८ वटा उद्योगले निवेदन दिएका थिए, जसमध्ये तीन वटा उद्योगलाई सञ्चालन अनुमति दिइसकेका छौं ।’ प्रजिअ पण्डितले भने, ‘बाँकी ५ वटा उद्योगको अनुगमन गर्न टोली खटाएका छौं, उनीहरुको रिपोर्टको आधारमा निर्णयमा पुग्छौं ।’

सञ्चालन अनुमति पाएका उद्योग पनि आंशिक मात्रै सञ्चालनमा आउने प्रजिअ पण्डितले बताए । ‘लकडाउनका कारण फुल फेजमा उद्योग चल्न सक्ने अवस्था छैन, जसले कर्मचारीलाई भित्रै बसोबासको व्यवस्था मिलाउँछ, कोरोना भाइरस विरुद्ध आवश्यक सतर्कता अपनाउन सक्छ । उसलाई मात्रै सञ्चालन अनुमति दिन लागेका छौं ।’ उनले भने ।

प्रशासकीय अधिकृत, सुरक्षा निकायका अधिकारी, अनुसन्धानका कर्मचारी, सम्बन्धित वडाका अध्यक्ष लगायत सरोकारवाला निकायका प्रतिनीधिले स्थलगत निरीक्षण पछि सञ्चालन अनुमति अनुमति दिने गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

अनुमति पाउने उद्योगमा हुलास स्टिल, जगदम्बा स्टिल र सुर्य नेपाल प्राली रहेका छन् । ४ सय ५० कर्मचारी भएको सूर्य नेपालले दुई सिफ्टमा ८०/८० जना, १५ सय कर्मचारी रहेको जगदम्बा स्टिलले एक शिफ्टमा २ सय ५० र हुलास स्टिलले पाइप बनाउने प्लान्टमा १ सिफ्टमा १० जना मजदुर मात्र खटाउने गरी सञ्चालन अनुमति लिएको छ ।

लकडाउनका कारण यस क्षेत्रका ७० प्रतिशत उद्योग बन्द छन् । खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग बाहेकका उद्योग बन्द छन् ।

उद्योग सञ्चालनमा सहयोग गर्न संघको आग्रह

वीरगञ्ज उद्योग वाणिज्य संघले सरकारले निश्चित प्रकृतिका उद्योग सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेको छ । सँगसँगै उसले लकडाउनको समयमा उद्योग सञ्चालनमा देखा पर्न सक्ने कठिनाइका बारेमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने तयारी छ ।

संघले श्रमिकको सहज उपलब्धता तथा उद्योगीहरुलाई कार्यालयदेखि कारखाना र कारखानादेखि कार्यालय जान आउन सहज वातावरण हुनुपर्ने माग गरेको छ । प्रेस वक्तव्य जारी गर्दै संघका अध्यक्ष गोपाल केडियाले कच्चा पदार्थ उद्योगसम्म लैजान र उद्योगबाट उत्पादिन समानलाई बजारसम्म लैजान आवश्यक प्रबन्ध मिलाउन पनि माग गरेका छन् । उद्योगमा कार्यरत श्रमिक कामदारहरु पर्साका मात्र नभई बारा र रौतहट जिल्लाका समेत रहेकोले उनीहरुलाई ल्याउन फरक फरक जिल्लाबाट गाडी, श्रमिक तथा कामदारको पास लिनुपर्ने व्यवस्थाको साटो एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाईदिन उनीहरुले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

‘उद्योग सञ्चालन गर भनेर मात्रै हुँदैन, उद्योग भनेको मेशिन, मान्छे र भवन मात्रै होइन, यससँग धेरै विषयरु जोडिएर आउँछ । त्यसका लागि श्रमिक कामदारहरुको सहज उपलब्धता, उद्योगीहरुको सहज आवागमनको प्रबन्ध, सञ्चालन पुँजीको उपलब्धता, कच्चा पदार्थ र तयारी माल वस्तुको ढुवानीका लागि सम्बन्धित निकायले आवश्यक बन्दोबस्ती गरिदिनुपर्छ,’ अध्यक्ष केडियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण कतिपय श्रमिक मजदुर काममा फर्कन समेत इच्छुक नभएको अवस्था रहको उद्योगीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment