+
+
Shares

‘संसद बैठकमा भारतको विरोध होस्’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते ७:२४
भिडियो कन्फ्रेन्समार्फत मानसरोबरसम्मको बाटो उदघाटन गर्दै भारतका रक्षामन्त्री राजनाथ सिंहलगायत ।

२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीले भारतले नेपालको भूमि हुँदै चीनको मानसरोवरसम्म जाने बाटो खोलेको विषयमा विरोध गर्न सरकार, सांसद र देशभक्त नेपालीहरूमा अपिल गरेका छन् ।

भारतले लिपुलेकलगायतका नेपाली भूभागलाई आफ्नो नक्साभित्र पार्नुको उद्देश्य नेपालमाथि हस्तक्षेप गर्नु नै रहेछ भन्ने कुरा अहिले प्रष्ट भएको बताउँदै सहअध्यक्ष सुवेदीले सरकार किन मौन बसेको भनेर प्रश्न पनि गरेका छन् ।

भारतले लिपुलेक हुँदै चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवरसम्म जाने बाटो बनाएको कुरा शुक्रबार सार्वजनिक भएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत् बाटो उद्घाटन गरेका थिए ।

‘यो सार्वभौम नेपाल र यसको अखण्डतामाथिको नग्न हस्तक्षेप हो,’ सहअध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसको घोर विरोध गर्दै भारतले लिपुलेकलगायतका नेपाली भूभाग राखेर बनाएको पछिल्लो राजनीतिक नक्साको इरादा नेपालमाथि हस्तक्षेप गर्नु नै रहेछ भन्ने कुरा प्रष्ट पारेको औल्याउँदछौं ।’

सुवेदीले भारतको हस्तक्षेपप्रति नेपाल सरकार किन मौन बस्यो भनेर प्रश्न पनि गरेका छन् । उनले यसबारे भारतको विरोध जनाउन र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको सम्मान गर्न लगाउन माग गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘संसदको बजेट अधिवेशनमा सांसदहरूले पनि तुरुन्तै यसविरुद्ध आवाज उठाउन र स्वाधीनता र सार्वभौमिक अखण्डतामाथिको हस्तक्षेपको विरोध गरून् भन्ने आग्रह गर्दै सम्पूर्ण वामपन्थी, जनवादी तथा देशभक्त नेपालीहरू हस्तक्षेपकारी भारतीय एकाधिकार पुँजीवादी सत्ताको विरोधमा खडा हुन पनि नेपाल कम्युनिस्ट पार्टी विशेष आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?