Comments Add Comment

जलवायु परिवर्तनमा कोभिड-१९ को कस्तो असर ? ५ ग्राफिक्समा हेर्नुस्

काठमाडौं । अहिले विश्वभर कार्बनडाइअक्साइडको उत्सर्जनमा ऐतिहासिक कमी आएको छ । यसअघिका कुनै पनि युद्ध, आर्थिक मन्दी र महामारीमा पनि कार्बन उत्सर्जनमा अहिलेको जस्तो कमी देखिएको थिएन । तर, कोभिड-१९ को असरबाट जोगिन विश्वका धेरै देशले लकडाउने गरेपछिको केही महिनामा नै कार्बन उत्सर्जनको ग्राफ ऐतिहासिक रुपमा तल झरेको देखिन्छ ।

यस वर्ष व्यापक मात्रामा कार्बन उत्सर्जनमा कमी आए पनि यसको औसत तथ्यांक शून्यमा नझरेसम्म अवस्था सामान्य भने बन्ने छैन । सय वर्षअघिको स्पेनिस फ्लुयता विश्वभर कार्बन उत्सर्जन बढिरहेको छ ।

तेल, ग्यास र कोइलाको खपत उल्लेख्य मात्रामा बढेसँगै कार्बन उत्सर्जनमा उल्लेख्य वृद्धि भएको हो ।

ऊर्जाको स्रोत परिवर्तन हुँदै गएसँगै सन् १८५०को दशकयता अहिलेसम्म विश्वको तापक्रम एक डिग्री सेल्सियस बढिसकेको छ । तत्कालै कार्बन उत्सर्जनमा ठूलो कमी नल्याउने हो भने यो शताब्दीको अन्तिममा विश्वको तापक्रम तीनदेखि चार डिग्री सेल्सियससम्म बढ्ने आकलन छ । अहिले कार्बन उत्सर्जनमा आएको कमी नौलो भने होइन ।
यसअघि सन् २००८ देखि २००९ को बीचमा आर्थिक संकटको समयमा विश्वभर कार्बन उत्सर्जनमा ४५ करोड टनले घटेको थियो । दोस्रो विश्वयुद्धपछि विश्वभर कार्बन उत्सर्जनमा ८० करोड टनले कमी आएको थियो । त्यस्तै, तेल संकट तथा विभिन्न समयमा आएको वित्तीय संकटको समयमा पनि विश्वभर कार्बन उत्सर्जनमा उल्लेख्य कमी आएको थियो ।

विभिन्न अध्ययनले देखाएअनुसार यस वर्ष कार्बन उत्सर्जन चारदेखि आठ प्रतिशत अर्थात् दुईदेखि तीन अर्ब टनसम्म घट्न सक्छ ।

यात्रामा कमी

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वभर भ्रमणमा पनि उल्लेख्य कमी आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा नियोग -आईईए)का अनुसार विद्युत् माग २० प्रतिशत वा सोभन्दा बढीले घटेको छ । यस वर्ष समग्रमा भने विद्युत् आवश्यकता पाँच प्रतिशत घट्न सक्ने अनुमान छ । यो गिरावट सन् १९३० को दशकयताकै ठूलो हो ।

लकडाउनका कारण कोइलाको मागमा पनि कमी आएको छ । यस वर्ष कोइलाको माग आठ प्रतिशत घट्ने अनुमान छ । विशेषगरी सडक यातायातमा आएको कमीले कार्बन उत्सर्जनमा ठूलो कमी आएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

आईईएका अनुसार गत मार्चको अन्तिममा विश्वभर यातायातको गतिविधि सन् २०१९ को तुलनामा ५० प्रतिशत कम भएका थिए । विश्वभरका अधिकांश मुलुकमा सडक यातायातको प्रयोग उल्लेख्य रुपमा घटेको छ । सन् २००९को वित्तीय संकटको समयमा विश्वभर तेलको माग औसतमा १३ लाख ब्यारेल प्रतिदिनको दरले घटेको थियो । तर, यस वर्ष तेलको मागमा प्रतिदिन औसतमा एक करोड ब्यारेलले घट्न सक्ने अनुमान छ । साथै, विश्वभर हवाई यात्रामा पनि उल्लेख्य कमी आएको छ । अहिले विश्वभर हवाई उडानहरूमा पनि उल्लेख्य कमी आएको देखिएको छ ।

सबैतिर एकनास छैन

विश्वभरका अधिकांश मुलुकमा एकै किसिमको लकडाउन गरिएको भए पनि कार्बन उत्सर्जनको अवस्था भने सबैतिर एकैनासको छैन । फरक-फरक सहरमा कार्बन उत्सर्जनको अवस्था फरक छ । न्युयोर्क र पेरिसलाई यसको उदाहरणको रुपमा लिने हो भने दुई सहरमा ठूलो भिन्नता देख्न सकिन्छ । पेरिसमा मार्च महिनामा अरू महिनाकोभन्दा ७२ प्रतिशत (१५ प्रतिशत थपघट)को हाराहारीमा कार्बन उत्सर्जनमा कमी आएको छ । सोही अवधिमा न्युयोर्कमा भने केवल १० प्रतिशतको हाराहारीमा मात्र कार्बन उत्सर्जनमा कमी आएको छ ।

औद्योगिक क्षेत्र, पावर प्लान्ट, अत्यधिक आवादीजस्ता कुराले पनि यसमा प्रभाव पारेको छ ।

यस वर्षजस्तै कार्बन उत्सर्जन घट्न गए के होला ?

जानकारहरूका अनुसार विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा कममा राख्ने लक्ष्य हासिल गर्न आगामी वर्षमा पनि यस वर्षमा जस्तै उल्लेख्य मात्रामा कार्बन उत्सर्जन घट्नु जरुरी छ । यस वर्ष कार्बन उत्सर्जन पाँच प्रतिशत घट्यो भने यही क्रमलाई कायम राख्न सके सन् २०५० मा औसत कार्बन उत्सर्जन शून्यमा र्झन सक्छ । तर, कार्बन उत्सर्जन लकडाउन वा प्रतिबन्धको माध्यमबाट नभई उचित नीतिको सहयोगमा हुनुपर्ने विशेषज्ञहरूको भनाइ छ ।

यद्यपि आगामी वर्ष कार्बन उत्सर्जन बढ्ने उनीहरूको अनुमान छ । अहिलेको अवस्थामा यो महामारीबाट सिकेर विश्वभर हरित ऊर्जाको उपायमा ध्यान दिनु जरुरी रहेको बताइएको छ ।

स्रोतः बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment