Comments Add Comment

माननीयज्यूहरुले मुख छोपेकै राम्रो !

प्रतिनिधिशभाको बजेट अधिवेशनमा सहभागी हुन अधिकांश माननीयहरु मास्कले मुख छोपेर संसद भवन प्रवेश गरे । ठीकै हो, मास्कले मुख छोपेपछि मुख पनि त देखिँदैन । संक्रमणबाट पनि जोगिन सकिएला ।

तर, यतिखेर देशभित्रका कतिपय घटना यस्ता छन्, जसले गर्दा मुलुक चलाउने पक्ष र विपक्षी बेञ्चमा बस्नेसमेतले अहिले बाहिर मुख देखाउन सक्ने अवस्था छैन । तर, माननीयजस्ता व्यक्तिको आफ्नै मुख देखाउन पनि संकोच मान्नुपर्ने अवस्था छ अहिले । फेरि भाग्यमानीको भूतै कमारो भनेजस्तै तपाईँहरुलाई यतिखेर मुख छोप्न मौसमले पनि साथै दिएको छ । त्यसैले तपाईँहरुले मुहार देखाउनुभन्दा मास्क लगाएर छोपकै राम्रो छ ।

देशको सबैभन्दा संवेदनशील क्षेत्र सिंहदरबारको मुखैमा चिनिया नागरिकले नेपाल प्रहरीलाई निरीह बनाउदै कुट्छ, प्रहरी रक्ताम्य हुन्छन् । सिंहदरबारभित्र बसेर ती प्रहरीलाई नरम बन्न आदेश दिनेहरुले कसरी मुख देखाउन् त ? मुख छोपेकै राम्रो ।

राजनीतिमा सबैभन्दा बढी बिकाउ शब्द राष्ट्र, राष्ट्रियता र सीमा न हो । रोटी र बेटीको सम्बन्ध भएको असल दक्षिणको छिमेकीले हाम्रो भूमिमा निर्वाध बाटो बनाउँदै धाबा बोल्छ । १७ वर्षदेखिको काम न कसैले देख्छन्, न बोल्छन्, जादु झै बाटो खुलेपछि बल्ल अलि–अलि सुन्छन् । तर, बोल्दैनन् । यस्तो बेलामा पनि मुख त छापेकै राम्रो नि होइन ?

मुलुक कोरोना भारसको संक्रमणले आक्रान्त नै छ । परीक्षणका लागि किट नपाएर स्वास्थ्यकर्मी, नागरिक अन्योलमा छन् । माननीयज्यूहरुको त स्वाब परीक्षण भैहाल्यो, ढुक्कै भो । कुनै नागरिकले माननीयज्यू मेरो पनि परीक्षण गर्नुपर्ने किट नै पाइएन भन्दा के जवाफ दिने हो ? त्यसैले पनि तपाईँहरुले मुख छोपेकै राम्रो ।

सुशील अर्याल

सिंगो मुलक एक भएर कोरोना संक्रमणकाविरुद्ध लड्नुपर्ने बेला फोहोरी राजनीति, पदको भागवण्डा, नीतिमा होइन नियतीमा खोटो भएपछि नागरिकलाई तपाईँहरुले कसरी मुख देखाउने हो ? त्यसैले पनि मुख त छोपेकै राम्रो । निरन्तरको लकडाउन नागरिकले इमान्दारपूर्वक पालना त गरिदिए, भोको पेट र खाली खुट्टा १४ दिनसम्म राजमार्गमा लतारिदै लतारिँदै नागरिक थातथलोमा पुगे । कमै नेताले मात्र ती दृश्य देखे होलान् ।

सञ्चार क्षेत्रले त देख्दा पनि सुख पाएन । किनभने प्रधानमन्त्रीले उल्टै प्रश्न गर्नुभो कि प्रहरीले, त्यहाँको सिडियोले नदेखेको ठाउँमा पत्रकार कसरी पुगे ? यहाँ नियत छ रे । फेरि यी दृश्यहरु उहाँहरुलाई थाहा हुने कुरा पनि भएन । किनभने उहाँहरु त आरोप प्रत्यारोपको राजनीतिमै व्यस्त हुनुहुन्थ्यो ।

आखिर जनता पाँच वर्षमा चुनाव भैहालेमा एक भोट मात्र हाल्ने निरीह त हुन् थाहा पनि किन पाउनुपर्यो र तपाईँहरुले ? त्यसैले जनताका दुःखमा कि त गम्भीर बन्नुपर्‍यो र ? त्यसैले त मुख छोपेकै ठीक ।

राज्य भूगोल मात्र होइन, नागरिक पनि हो । न स्वदेशभित्रका नागरिकले राज्यको अनूभूति पाए, न त विदेशमा बस्नेले घर सम्झेर निस्केको आँशु थाम्न पाए । विदेशी भूमिमा अलपत्र पर्दा, बिदेशीले थर्काउदा बोलिदिने कोही भएन, सुनिदिने कोही भएन । त्यहाँ भएका राजदूत कुन दुलामा छिरेका छन्, ती निरीह नेपालीले कसरी थाहा पाउनु ? राज्य छ भनेर अनुभूति देखाउने कोही भएन, छैन ।

उद्वारको कुरा त झन् परै जाओस् । एकपटक बोल्यो राज्य जो, जहाँ, जस्तो, अवस्थामा छौँ त्यही, त्यसरी नै बसौँ । यत्तिमात्र बोलेर जात फाल्नुभन्दा त मुख त छोपेकै राम्रो ।

पसिना बेचेर कमाएको बिदेशी मुद्रा राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा हो । त्यही हिस्सेदार नागरिकप्रति राज्य यति निर्मम छ दुनियाँले देखिरहेको छ । आफ्ना नागरिक संसारका कुनाकाप्चामा रोइरहेका छन् । तर, ढुंगो बोल्ला, सिंहदरबार बोल्दैन ।

त्यसैले यसरी अलपत्र परेका आफ्नै दाजुभाईदिदीबहिनीहरुप्रति जवाफदेही नबन्ने माननीयज्यूहरु र राज्यका सबै दूतहरुले किन मुख खोलेर दाँत ङिच्च पार्नु ? मुख छोपेकै राम्रो ।

विद्यालयहरु बन्द छन् । भर्चुअल शिक्षा, नयाँ शैक्षिकसत्रका नाममा अभिभावकलाई शुल्क तोकेर विद्यालयबाट आउने फोनले आतंकित छन् नागरिक । एकपटक राज्यले मुख खुल्यो अनि तुरुन्तै बन्द गर्यो । राज्यका ठेकदारहरुले ठाने होलान्– नाथे यस्ता कुरामा कतिपटक बोल्नु ? ठीकै हो । त्यसैले त तपाईँहरुले मुख छोपेकै राम्रो ।

लकडाउनले नयाँ उत्पादन त छैन, सञ्चित भएकाहरुको राम्रो व्यबस्थापन र मूल्य नियन्त्रण गर्ने कुरै भएन । कसैले सोधेमा के जवाफ दिने ? यस्तो बेलामा त मुख छापेकै राम्रो ।

देश बन्द भएको आज ४८ दिन पुग्यो । यसबीचमा भारतबाट ४ अर्बको तरकारी मात्र आएको समाचार त सुन्नुभएको होला नि होइन ? अनि किसानका तरकारी तथा नवलपरासीका बारीमा केरा कुहिएका दृश्य पनि त टीभीहरुले तपाइँहरुलाई देखाएकै छन् । ती चाहि देख्नुभयो कि भएन ?

यता किसान तरकारी कुहाउन बाध्य भएर रोइरहँदा कसका लागि भित्र्याउनुभयो चार अर्बको तरकारी ? तिनै किसानका उत्पादन किन्न, बेच्न सक्ने नीति बनाउन किन सक्नुभएन ? किन पोस्नुहुन्छ तपाईहरुले किसान मारेर विदेशी ? त्यसैले ती रुन्चे किसानको अनुहार हेर्नुभन्दा त तपाईँहरुले नै मुख छोपेको राम्रो ।

अस्पतालले बिरामी लिन नमानेर कतै सुत्केरी त कतै अरु सर्वसाधारण बिरामी मरेका समाचार पनि तपाईँहरुले नसुनेको पक्कै होइन । निजी अस्पतालमाथिको तपाईँको नियमले उहिल्यै हाबा खाईसक्दा कति सर्वसाधारणले अस्पताल बाहिरै र घरमा ज्यान गुमाउनुपर्यो त्यसको हिसाब राख्नुभएको छ ?

अप्रेशन गरेर सुत्केरी गराउन ठिक्क पारेकी महिला कोरोना प्रभावित जिल्लाको भएको आशंकामा डाक्टरले शैयाबाट जबर्जस्ती तानेर अर्काे अस्पताल रिफर गरेको पनि त तपाईँहरुलाई थाहै छ । के त्यस्ता डाक्टर र अस्पताललाई तपाईँहरुले कारबाहीका लागि बोल्नुभयो ? अब ती निमुखा, निरीह नागरिकलाई के जवाफ दिनुहोला तपाईँहरु ? तिनका अघि अब कसरी मुख देखाउनु ? त्यसैले तपाईँजस्ता निठुरहरुले त मुखै छोपेको राम्रो ।

यही व्यवस्था र अवस्था रहे त फेरि केही वर्षमा निर्बाचन त होला अनि चुनावका लागि भए पनि एक दुई फेरि गाउँ पनि फर्कनुपर्ला, मासु भात टिसर्ट, पैसा इत्यादि बाँड्नु पर्ला । त्यहीबेला फेरि चर्कोचर्को आबाजले बोल्नु पनि पर्छ होला । त्यसैले अहिल्यैदेखि बोलेर बोली किन सक्ने ? माननीयजस्ता मान्छेका महंगा शब्द किन खर्च गर्ने ? आखिर बोल्ने मुख त पछि पनि चाहिन्छ नि । त्यसैले आजको यो मुख छोपेकै राम्रो ।

हो, माननीयज्यूहरु कोरोना त कुनै बेला सकिएला । तर, देशमा देशबासी रहे भने अझै दशकौँसम्म शासन गर्ने त तपाईहरुले नै हो । कमसेकम संक्रमणबाट बाहिर निस्कँदा पूरै मुख देखाएर आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने भएर आउनु होला ।

त्यसैले, अहिलेलाई मात्र होइन कि तपाईँहरुजस्ताले त सधैँका लागि मुख त छापेकै राम्रो । नियतिले पनि तपाईँहरुलाई सहजै बनाइदिएको छ । किनभने आज देशमा संक्रमणबाट जोगन सबैले मास्क लगाउनै पर्ने अवस्था छ । जनताले त सर्जिकल मास्क पनि पाएका छन् कि छैनन् थाहा छैन । तर, तपाईँहरुले चाहिँ एन ९५ मास्क नटुटाउनू । जनताका अघि देखाउन नहुने त्यो मुख लपक्कै पारेर छोप्नू । मानीयहरुका लागि अहिलेको मौसम खराब छ । त्यसैले जतिसक्दो बाक्लो मास्कले मुख छोपेकै राम्रो ।

(अर्याल हिमालय टेलिभिजनका समाचार संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment