Comments Add Comment

सहकारीहरुको गुनासो-कालीमाटीमा छिर्नै पाइएन, दिनमा ३ लाख लिटर दूध खेर गयो

२९ वैशाख, काठमाडौं । लकडाउनका कारण किसानले उत्पादन गरेको बिक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे ।
उनले कालिमाटी तरकारी बजारमा विहान ८ बजेभित्र बिक्री गर्न नसके किसानले आफ्नो तरकारी घर फिर्ता गर्नुपर्ने अवस्था रहेको बताए ।

‘काठमाडौंमा हामी आफैंले गाडी ल्याएर पनि विक्री वितरण गरिराखेका छौं । विहान ८ बजेभित्र विक्री गर्न सकेन भने त्यो आधा गाडी नै फर्काएर घर लैजानुपर्ने अवस्था छ,’ उनले भने,’यहाँ सहकारीको किसानले ल्याएर डोको बिसाउने ठाउँ छैन् । यसपालि यति दुख गरियो मन्त्रीज्यूलाई स्वयम् कालिमाटी लगेर उभ्याउँदा पनि उहाँको पनि केही लागेन । त्यो बजार त ४/५ सय मान्छेले कब्जा गरेर बसेको छ, हामी अरु कोही छिर्न पाउँदैनौं ।’

लकडाउनले तरकारी बिक्री नभएपछि किसानले सबै सित्तैमा दिनुपर्ने अवस्था आएको समेत अध्यक्ष पाठकले बताए । उनले किसानले दुःख गरेर उत्पादन गरेको चिज बजार सम्म ल्याएर कम्तिमा मूल्य पाउने वातावरण सिर्जना गर्ने विषयमा छलफल चलाउन समितिलाई आग्रह समेत गरे ।

तरकारी तथा फलफुल संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानहरुद्वारा सञ्चालित सहकारीको पहुँच नभएको बताए । आफुहरुले सरकारसँग माग राखेपछि ९ प्रतिशत स्टल पाउने सहमति भएपनि त्यहीँको व्यापारीहरुको सहकारीको कब्जा रहेको उनले बताए ।

‘कालिमाटीमा तरकारी फलफूलले ठाउँ पाउनुपर्छ भन्ने खालको कुराहरु हामीले माग राख्यौं, र पछिल्लो समयमा त्यहाँ सबै सटर मध्ये ९ प्रतिशत सहकारी समूहलाई दिने भनिएको छ तर पनि त्यहीँका व्यापारिक समूह मिलेर सहकारीको नाउँबाट त्यो सञ्चालन भइराखेको छ,’ उनले भने,’ अहिले उत्पादनमा संलग्न भएर बजारीकरण गर्न खोजीरहेका सहकारी संस्थाहरुले त्यो ठाउँ कालिमाटीको पाउन सकेको अवस्था छैन् ।’ उनले कालिमाटीमा ठाउँ पाउने नसकेपछि आफूहरु अन्यत्र ठाउँ खोज्न बाध्य भएको समेत बताए ।

दिनमा १.५ करोड रुपैयाँको दूध नोक्सान

कृषि क्षेत्रको विकासका लागि प्रत्येक प्रदेशमा आधुनिक बहुउद्देशीय नर्सरी कम्तिमा एकवटा बनाउनै पर्ने अध्यक्ष पाठकले बताए । किसानलाई सबैभन्दा पहिला गुणस्तरीय बीउको समस्या हुने भएकाले त्यसको समाधानका लागि प्रत्येक प्रदेशमा एक/एक वटा बीउ उत्पादन गर्ने नर्सरी आवश्यक उनले रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले लकडाउनले सबै कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति भएको बताए । दुग्ध सहकारी अभियानमार्फत देशभर उत्पादन हुने ६ लाख दुध मध्ये करिब ३ लाख लिटर दुध विक्री नहुँदा दैनिक एक करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भइराखेको उनले बताए ।

यस्तै पशुपंक्षीलाई खुवाउने आहार र दानको ढुवानीमा समस्या भएको छ भने उत्पादित कृषि उत्पादन बिक्री नहुँदा किसानको बारिमै कुहिएको उनले बताए । यस्तै चियाको मुना टिप्ने समयमा लकडाउन भएकाले पनि करिब ६ लाख केजी हरियो चिया टिप्न नपाएर खेर गइरहेको उनले बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि वित्तीय क्षेत्रमा सहकारीको भूमिका अझै बढेकाले यस क्षेत्रलाई पनि सहयोगको आवश्यकता पर्ने बताए ।

उनले त्यसका लागि छुट्टै कोष निर्माण गर्नुपर्नेमा बताए । यस्तै छुट्टै सहकारी बैंक ऐन ल्याएर सहकारी क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

बैठकमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि अर्थतन्त्रमा पारेको असर र सहकारी क्षेत्रको भैमिकाका विषयमा छलफल भएको थियो । छलफलमा सहकारी क्षेत्रका व्यक्तिहरुले बजेटको प्राथमिकता सहकारी मार्फत कृषि उत्पादन बढाउने र सहज बजारको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment