Comments Add Comment

भारी बिसाउन चाहँदैनन् बाघबहादुरहरू

Photo Credit : रासस
भारी बोकेर गुजारा चलाउँदै आइरहेका सिन्धुपाल्चोकका ६७ वर्षीय बाघबहादुर तामाङ ।

२९ वैशाख, काठमाडौं । भारी बिसाउनुको अर्थ हो– हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन ।

मानिसहरु भन्छन्– शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महसुस गर्छन् मानिसहरु ।

तर भारी बिसाउन चाहन्नन् बाघबहादुर । बिसाएर पनि के गर्नु ? दिनहुँ भारी नपाए ६७ वर्षीय बाघबहादुर तामाङको छाकै टर्दैन । त्यसैले उनी भारी बिसाएर बस्ने होइन कि सधैँ भारी बोक्न चाहन्छन् । यो उनको नियति हो । तर अहिले शरीरमा भारी छैन । उनलाई भारी दिने बजार बन्द छ । त्यसैले उनको छाक टर्न छोडेको छ ।

उनलाई भारी नहुँदा शरीर हल्का भएजस्तो मात्र भएको हो, भोकले भने मन मस्तिष्क सबै गलाएको छ । शरीरले भारी नपाउँदा मनको भारी झनभन्दा झन् गह्रौं बन्दै गएको छ । यस्तै छ बाघबहादुर र उनका भरिया साथीहरुको दैनिकी ।

भातका गाँस कपाकप मुखमा हाल्दै थिए, बाघबहादुर । भोको पेटमा परेको भोजनको चरम आनन्दले उनको मुहार भित्रैदेखि हासेको देखिन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित नवलपुरका तामाङले यति मिठो मुखले भात खाइरहेका थिए कि उनको मुखलेभन्दा शरीरको हाउभाउले नै सुखको सञ्चार गराएको अनुभूति हुन्थ्यो ।

जबजब उनको मुखमा गाँस थपिँदै जान्छ तब उनको मुजैमुजा परेको मुहार दिलैदेखि हाँसेको अनुभूति हुन्छ बाहिरबाट देख्नेलाई । ठूलो सपना छैन बाघबहादुरको अहिले । पेटभर खान पाए पुग्छ । शीरमा नाम्लोले थेप्चिएर कच्याककुचुक परेको ढाका टोपी छ, तर बेलाबेलामा यसो सजिरहनुहुन्छ । वर्षौं पुरानो देखिने स्पोर्टस् जुत्ता, ट्राउजर र ज्याकेट छ शरीरमा । गएको शिशिर ऋतुका सायद काठमाडौँका कैयौँ चिसा रात यही कपडाले फाल्यो होला ।

काठमाडौँको जोरपाटीमा वर्षौंदेखि भारी बोक्ने बाघबहादुर लकडाउनका कारण काम नपाएपछि संस्थाले दिएको खानाको भरमै छन् । पाए खाने नत्र कोठामा गएर सुत्ने दैनिकी नै भएको छ उनको । काम नहुँदा अचेल उनको टाउकामा नाम्लाको पुरानो दाग मेटिन खोज्दैछन् । आजभोलि थाप्लोले नाम्लोको डाम पाएको छैन । बाघबहादुरको थाप्लोमा नाम्लो नबसेको डेढ महिनाभन्दा बढी भयो । तर थाप्लोमा नाम्लाको डाम बस्न नपाएको पीडाले उनको मन अहिले उकुसमुकुसमा छ ।

शुक्रबार जोरपाटीमा भेटिएका उनले लकडाउनको फरक अनुभव सुनाए । एक्कासि सबै गतिविधि ठप्प कसरी भयो भनेर उनी शुरुमा त छक्कै परे । विस्तारै साथीभाइसँग बुझ्न थाले । त्यसपछि उनलाई थाहा भयो, काठमाडौंमा त ‘नेपाल बन्द’ भएको रहेछ ।

साथीभाइसँगको खासखुसले लकडाउन भन्ने त थाहा भएन, उनले विगतमा पनि पटक पटक हुने गरेको नेपाल बन्द मात्र सम्झिए । पहिले पहिलेका नेपालबन्दले जस्तो अहिले पनि उनी अवाक छन् ।

अघिपछि नेपाल बन्द हुँदा बरु केही न केही गतिविधि हुन्थे । यसो थाप्लोमा नाम्लो हाल्न पाइन्थ्यो । तर अहिलेको ‘नेपाल बन्द’ले त उनलाई साह्रै गाह्रो पारेको छ ।

यतिखेर विश्व नै कोरोनाको कहरमा डुबेको छ । डेढ लाखभन्दा बढीको ज्यान गइसक्यो । लाखौँलाई यो भाइरसको सङ्क्रमणले आक्रमण गरेको छ । कति मृत्युसँग लड्दैछन् । हरेक कामकाज र अर्थतन्त्र डामाडोल छ । गतिविधि चलायमान हुन सकेको छैन । विश्वमा मानवीय क्षति बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने त्रास हामीमा पनि छाएको छ ।

यस्तो विषम परिस्थितिमा बाघबहादुर जस्ता लाखौँ मजदूरको बिचल्ली छ । उनी अहिले ६७ वर्षका भए । तर ५० किलोसम्मको भारी बोक्न सक्छन् । यसरी भारी बोक्दा एक भारीको रु ४०–५० देखि रु १०० सम्म हात पर्थ्यो । दिनमा बढीमा ५÷७ सय कमाइ हुन्थ्यो । यसैले छाक टर्थ्यो । अचेल दिनभर भारी बोक्न पाइँदैन ।

मजदूरलाई कमाइ हुँदा बेलुकाको छाक राम्रो र मिठो लाग्छ । भारी बोक्न नपाउँदा खिन्न भएर फर्कनुपर्छ । त्यसैले भारी बिसाउने चाहना हुँदैन यस्ता असङ्गठित क्षेत्रका मजदुरलाई ।

बाघबहादुरको झैँ सिन्धुलीका हरिबहादुर माझीका दुःखका दिन पनि यसैगरी बितिरहेको छ । काम नपाउँदा केही दिन भौतारिनुपर्‍यो । दुई चार दिन पेट भोकै रह्यो । न सडकमा सवारी साधन छन् नत मान्छे । अनि भारी बोक्न पाउने कुरै भएन । भक्तपुरमा भारी बोक्ने काम गर्दै आएका माझी भन्छन्– ‘जे पाइन्छ, त्यही गरिन्थ्यो, अहिले त पेटभर्न पनि गाह्रो भइसक्यो ।’

उनलाई अहिले जस्तो सकस कुनै बन्दमा भएको थिएन । दिउँसो दाताले दिएको खाना खाने अनि कतै पाटीतिर गएर सुत्ने दैनिकी बनेको छ ।

दैनिक भारी बोक्न पाउँदा उनीजस्ता अनगिन्ति मजदूर औधी खुसी हुन्छन् । जति धेरै भारी पायो, उति धेरै खुसी हुने ज्यान अहिले भारी नपाउँदा आराम छैन बरु पीडा थपिएको छ । आराम धेरै हुँदा बेचैनी बढ्दैछ । रातमा राम्ररी निद्रा लाग्दैन । त्यसैले माझी भारी बोक्न पाउने समय पर्खिरहेका छन् ।

उनका अन्य साथीहरु भाइकाजी खत्री, रामबहादुर वाइबा, बाबुराम गुरुङ, प्रेम धिमालको दैनिकी पनि यसैगरी बितिरहेको छ । जीवन गुजारा गर्ने माध्यम नै टुटेपछि सहाराविहीन बन्नुभएको छ । अहिलेसम्म सङ्घसंस्थाले खाना दिएको थियो । कतिपय स्थानीय तहले यसरी निःशुल्क खाना बाँड्न रोक लगाएको छ । सरकारले उनीहरुलाई स्थानीय तहको विकास निर्माणमा सहभागी गराउने निर्णय गरेको छ । त्यसमा पनि आफ्ना मान्छेलाई मात्र दिने होलान् भन्ने चिन्ता मजदुरको छ ।

सरकारले यसअघि असंगठित क्षेत्रका मजदुरलाई राहत दिने निर्णयका विषयमा उनीसँग तीतो अनुभव छ । नागरिकता बोकेर स्थानीय तहमा गए पनि राहत पाएनन् । आफ्ना मान्छेलाई, घर भएकालाई, जिम्मा लिनेलाई मात्रै राहत दिन थालेपछि रित्तो हात फर्कनुपरेको अनुभव उनीसँग छ ।

यसरी सडकमा आउने असङ्गठित मजदुर मात्रै छैनन् । शिक्षक, विद्यार्थी, अन्य सामान्य पेशा अपनाउने, साना व्यवसायी समेत छन् । व्यवसाय नचल्दा केही हप्ता त समस्या परेन । त्यसपछि विस्तारै खाने र बस्नेको अभाव हुन थाल्यो । कामको खोजीमा सडकलाई सहारा लिनुको विकल्प भएन ।

महामरीको सम्भावित संक्रमणले देश लकडाउनमा छ । यसका कारण निम्नवर्गीय मानिस प्रभावित छन् । उनीहरु भोकै बस्नुपर्ने बाध्यता छ । नेपालको संविधान, २०७२ ले मौलिक हकमा नै खाद्य र आवासको व्यवस्था गरेको छ । संविधानको धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने व्यवस्था छ ।

नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा लकडाउन र सरकारको उपयुक्त रणनीतिका कारण कोभिड–१९ विरुद्धको सङ्घर्षमा मुलुकलाई सफलता मिलेको बताउँछन् । अहिलेको सरकारी योजना सही मार्गमा रहेको भन्दै पुनःजेठ ५ सम्मका लागि लकडाउन बढाइएको छ । सरकारले आर्थिक गतिविधिसमेत चलायमान बनाउन थालेको छ । सरकारको कामकाजमा यस्ता मजदूरहरुलाई रोजगारी दिने सरकारी निर्णय छ । सरकारले भने झैँ आर्थिक क्रियाकलाप हुन थाल्यो र काम पाइयो भने असङ्गठित क्षेत्रका मजदूरमा आशाको दियो बल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment