२९ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण जर्मन बुण्डेसलिगा यही मे १६ देखि फेरि शुरु हुने भएको छ । फ्रेन्च लिग वान रद्ध भइसकेको छ ।
यसबाहेक इंगल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा र इटलीको सिरी ए कहिले शुरु हुन्छ भन्ने चासो छ । ला लिगाका अध्यक्ष ह्याभियर तेबास अलि बढी चिन्तित जस्ता देखिन्छन् ।
ला लिगा अर्को महिना जुनमा शुरु गर्ने तयारी भइरहेको छ । ला लिगा क्लब बार्सिलोनाका खेलाडीले व्यक्तिगत रुपमा प्रशिक्षणसमेत शुरु गरिसकेका छन् । ला लिगा अध्यक्ष तेबासले लिग जुन १२ मा शुरु हुने आशा राखेका छन् ।
तेबासले मुभिस्टारसँग कुरा गर्दै ला लिगा १२ जुनबाट सुरु हुनेमा आफु आशावादी भएको बताएका हुन् । कोभिड १९ महामारीका कारण ला लिगा गत मार्च यता स्थगित छ ।
‘म चाहन्छु जुन १२ बाट सुरु होस्, तर यो अन्य विषयमा पनि निर्भर हुनेछ’ तेबासले भने । उनले ला लिगा र दोस्रो डिभिजनको लिग एकै समयमा हुने समेत बताए ।
कोरोना संक्रमणाका कारण २६ हजार भन्दा बढीको मृत्यु भएको छ ।
आइतबारमात्रै स्पानिस ला लिगका ५ खेलाडीलाई कोरोनाको संक्रमण देखिएको ला लिगाले पुष्टि गरेको छ । तर गोपनीयताको कारण ती खेलाडीको नाम सार्वजनिक भएको छैन ।
उनीहरुको नियमित परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा समावेश गर्न सक्ने जनाइएको छ ।
ला लिगा अध्यक्ष तेबासले खेलका क्रममा सबैभन्दा कम जोखिम हुनेसमेत बताएका छन् । उनले ला लिगाका २५ देखि ३० खेलाडी कोभिड १९ पोजिटिभ भेटिन सक्ने बताएका छन् ।
ला लिगाको ११ चरणको खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4