
२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएसँगै त्यहाँ रहेका नेपालीहरु पनि समस्यामा परेका छन् ।
नेपालका दूताबासहरु, गैरआवासीय नेपाली संघ, लगायतका संयन्त्रहरुमार्फत संकलन गरिएको तथ्यांकअनुसार झण्डै ६ लाख स्वदेश फर्किन चाहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
‘भारतबाट २ लाख ५० हजार र भारत बाहेकका मुलुकबाट ३ लाख २३ हजार ५३० नेपाल फर्किन चाहिरहेको तथ्याङ्क संकलन भएको छ’ सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मन्त्री ज्ञवालीले जानकारी दिए । त्यसमध्ये पनि २ लाख १० हजार नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्ने देखिएको छ ।
बढी नेपाली भारतमा, समस्या पनि त्यहीँ
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सबैभन्दा बढी नेपाल भारतमा छन् । र, समस्या पनि भारतबाटै फर्किनेहरुको व्यवस्थापनमा छ ।
खुला सीमाका कारण अहिले पनि लुकिछिपी नेपालीहरु घर फर्किएका छन् । र, उनीहरुमा कोरोना संक्रमण पनि देखिएको छ । अब भारतले रेल्वे सञ्चालन गर्ने तयारी गरेकाले नेपाल फर्किनेहरुको संख्या बढ्ने सरकारको अनुमान छ ।
त्यस्तो अवस्थामा नेपालीहरुलाई सीमा नाकामा रोक्न कठिनाई हुने परराष्ट्रमन्त्री ज्ञवाली बताउँछन् । ‘ ल्याउन नसकिने, नल्याउँदा चोरबाटोबाट आउने । यसरी हेर्दा नल्याउँदा झन समस्या हुन सक्छ’ मन्त्री ज्ञवाली भन्छन्, ‘भारतले रेल्वे सञ्चालन गर्यो भने त त्यसलै उलटफेर नै ल्याइदिन्छ ।’
त्यसैले सरकारले सकेसम्म भारतमा रहेका नेपालीहरुलाई बसेकै ठाउँमा राख्न भारतको संघीय र राज्य सरकारहरुसँग समन्वय गर्ने कोशिश गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
ठूलो संख्यामा नेपालीहरु सीमा नाका आइपुगे भने के गर्ने भन्ने तयारी भइनसकेको उनले जानकारी दिए ।
विदेशीले लैजाउ भन्न थाले
कतिपय देशले आफ्ना देशमा रहेका नेपालीहरुलाई फर्काउनका लागि आग्रह गरेको स्वयं परराष्ट्रमन्त्रीले स्वीकार गरेका छन् ।
यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौं ल्याउन भन्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई नै पत्र पठाएको छ । ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । आज मात्रै पत्र प्राप्त भयो । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन’ उनले भने ।
‘आउन चाहनेलाई ल्याऊँ, व्यवस्थापनको जिम्मा सेनालाई दिऊँ’
समितिको बैठकमा सांसदहरुले भने आउन चाहने नेपालीलाई ल्याउन र उनीहरुलाई क्वारेन्टाइनमा राख्नेलगायतका व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिन सुझाव दिएका छन् । औषधि खरिदमा भन्दा क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा सेनालाई दिनु उपयुक्त हुने सांसदहरुको सुझाव छ ।
‘सेनालाई अरुअरु जिम्मेवारी दिनु भन्दा क्वारेन्टाइनको जिम्मा दिँदा हुन्छ’ बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले भने । सीमामा रहेका नेपालीहरुलाई तुरुन्तै नेपाल ल्याउन तथा भारतको दिल्ली, मुम्बई, गुजरात, कलकता, पटना लगायतका क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने गरी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशीलाई आउन कडाई गर्ने र नेपालीहरुका हकमा खुकुलो गर्ने नीति अवलब्धन गर्न सरकारलाई सुझाव दिइन् ।
जवाफमा मन्त्री ज्ञवालीले यसबारे अध्ययन भइरहेको बताए । ‘अन्य देशबाट नेपाल फर्किएकाहरुलाई विमानस्थलबाट काठमाडौंमै राख्ने, कोरोना परीक्षण गरेर सम्बन्धित प्रदेश पठाउने वा स्थानीय तहमा पठाउने हो भन्ने विषयमा अध्ययनपछि मात्र भन्न सकिन्छ’ उनने भने ।
तर विदेशबाट आउनेहरुलाई काठमाडौंमै क्वरोन्टाइन बनाएर राख्ने सरकारको नीति नरहेको उनले प्रष्ट पारे ।
प्रतिक्रिया 4