
३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरूमा रेल सेवा सुरु गरेको हो ।
मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।
यसअघि लकडाउनका कारण अलपत्र परेकाहरूलाई उनीहरूको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरूले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरूको घरसम्म पुर्याउन चार सय ६८ वटा रेल सञ्चालन गरिएको जानकारी दिएका छन् ।
कोरोना कहरका बीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने चर्चा छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सञ्चालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैँले त्यसको संकेत गरेको छ ।
दिल्ली मेट्रोले आफ्नो ट्विटर अकाउन्टमा मेट्रो स्टेसनमा विशेष प्रशिक्षित कर्मचारीहरू खटाइएको जानकारी दिएको छ । यात्रुहरूको आउजाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरूलाई खटाइएको हो ।
दिल्लीको लाइफलाइन भनिने दिल्ली मेट्रो कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २२ मार्चदेखि बन्द गरिएको छ।
प्रतिक्रिया 4