Comments Add Comment

क्वारेन्टाइनको चटारो : बारबर्दिया नगरपालिकाबाट सिकौं

३१ वैशाख, बर्दिया । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि लकडाउन छिचोल्दै शहरबाट मानिसहरु गाउँ फर्किए । कतिपय मानिसहरु हिँडेरै भए पनि गाउँ फर्किए । कतिपयलाई स्थानीय तह र जनप्रतिनिधिले गाडीको व्यवस्था गरेर गाउँ फर्काए । यसरी गाउँ फर्किनेहरुको संख्या यति धेरै भयो कि उनीहरुलाई व्यवस्थित तरिकाले राख्न हम्मेहम्मे पर्यो । केही दिन क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण देखिएन भन्दै स्थानीय तहले घर–घरमा पठाइदिए । यसरी घर फर्किनेहरुमा पछि कोरोना संक्रमण देखियो ।

तर, बर्दियाको बारबर्दिया नगरपालिकाले भने लकडाउन सुरु भएदेखि नै सबैलाई २२ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गर्यो । स्वदेश र विदेशबाट गाउँ फर्किएकाहरुलाई राख्न अलग–अलग क्वारेन्टाइनको व्यवस्था गर्यो । यो नगरपालिकाले समुदायलाई परिचालन गरेर लकडाउनको कार्यान्वयन र क्वारेन्टाइन व्यवस्थापन गर्दै आएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएका कामबारे बर्दियाको बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु (कबिर)ले यसरी जानकारी दिए–

नेपालमा पहिलो र दोस्रो संक्रमित फेला पर्नासाथ हामीले हाम्रो नगरपालिकालाई कसरी सुरक्षित राख्ने भन्ने योजना बनाउन सुरु गरेका थियौं । काम चलिरहेको बेला एयर अरेबियाको जहाजमा चढेर आएका संक्रमितसँग बर्दियाको एकजना व्यक्ति पनि छन् भन्ने हल्ला चल्यो । पछि बुझ्दै जाँदा उनी बर्दियाकै भए पनि बाँकेको खजुरामा बस्दै आएको भन्ने बुझियो ।

दक्षिणतर्फ छिमेकी देश भारत, पश्चिमतर्फ कैलाली र पूर्वको छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित देखिएपछि त बर्दिया झन् जोखिममा पर्यो । कोठियाघाटको एउटा क्रसर उद्योगमा काम गर्ने दुई जना भारतीय नागरिकमा भारत गइसकेपछि कोरोना पोजेटिभ देखिएपछि झन् डर थियो । तर, क्रसर उद्योगमा काम गर्नेहरु र वरपरको वस्तीका बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिएपछि ढुक्क भयो ।

तर, अहिले फेरि बर्दियाको राजापुर नगरपालिका–५ को ११ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । यसबाट हामी अझै पनि जोखिममै छौं भन्ने देखिन्छ र जोखिमविरुद्ध लड्न थप सतर्कतासहित आवश्यक काम पनि गरिरहेका छौं । किनभने हामीलाई थाहा छ त्रासले होइन, हिम्मतले र सावधानीका उपायले कोरोनालाई जितिन्छ ।

नेपालगञ्ज र बर्दिया त हाम्रो पानीपँधेरो जस्तो हुन्छ । किनमेल गर्न जाने, जागिर खान जाने, ज्याला मजदुरी गर्ने धेरैजसो नेपालगन्जमै हुन्छ । त्यसैले बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएलगत्तै बर्दियाका सबै नाकामा कडाइ गरिएको छ । तर,त्यसभन्दा अगाडि नै लकडाउन घोषणा हुनासाथ हामीले क्वारेन्टाइन र नगरपालिकाका नाका व्यवस्थित गर्ने काम गर्यौं ।

हाम्रो नगरपालिकामा प्रवेश गर्ने खासगरी पाँच वटा नाका छन्–लठ्ठुवाघाट, कुसुम्बा घाट, जब्दी घाट, बैदी र बबई पुल । यी पाँचमध्ये हामीले कुसुम्बा घाट नाकालाई पूर्णरुपमा बन्द नै गरिदियौं ।  त्यहाँ झोलुंगे पुल छ, पुलमा जाली लगाइदिएर आउजाउ गर्न बन्द गर्यौं ।

अरु चारवटा नाकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहितको हेल्थ डेस्क चौबीसै घण्टा राख्यौं । जोजो आउँछन्, सबैको इन्ट्री त्यहीँ गर्यौं । उनीहरुको ट्राभल हिस्ट्री लियौं । त्यही अनुसारको वर्गीकरण गरेर विदेशबाट आएकालाई छुट्टै र देशभित्रैका जिल्लाबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा पठायौं । उनीहरुलाई त्यही इन्ट्री पोस्टबाटै क्वारेन्टाइनमा लैजान नगरपालिकाका चारवटा एम्बुलेन्स, पिकअप भ्यान र टिप्पर प्रयोग गर्यौं ।

सरकारले घोषणा गरेको लकडाउनको नियम पालना गर्दै विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेका छौं । सुरुमा जोखिमका हिसाबले नगर क्वारेन्टाइन र सामुदायिक क्वारेन्टाइन भनेर छुट्टायौं । चार वटा नगर क्वारेन्टाइनमा भारत, साउदी, कतार, मलेसिया, कोरियालगायतका देशबाट आएकाहरुलाई राख्यौं । सामुदायिक क्वारेन्टाइनमा चाहिँ देशभित्रैका बिभिन्न जिल्लाबाट आएकाहरुलाई राख्यौं ।

हामीले  चाेह देशभित्रैबाट आएका हुन्, चाहे विदेशबाट आएका हुन्, कसैलाई पनि समुदायमा घुलमिल हुन दिएनौं । अरु जिल्लामा होम क्वारेन्टाइनमा बस्नू भनेर पठाइयो रे भन्ने सुन्यौ, तर हामीले त्यसो नगरेर नगरपालिकाले व्यवस्था गरेकै क्वारेन्टाइनमा राख्यौं ।

बारबर्दिया नगरपालिकाभित्र अहिले ४६ वटा क्वारेन्टाइन छन् । धेरैजसो क्वारेन्टाइनहरु सरकारी स्कुल र क्याम्पसहरुमा बनाएका छौं । पदनाहामा जेष्ठ नागरिक भवन, मानपुरमा सामुदायिक वन उपभोक्ता समितिको भवन र रामपुरमा एउटा रेडक्रस र एउटा सामुदायिक भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गरेका छौं । टोलबाट क्वारेन्टाइनमा आउजाउ गर्न १५ मिनेट मात्र लाग्छ ।  बैशाख ३१ गते मंगलबारसम्म क्वारेन्टाइनमा ३८ महिलासहित जम्मा १८८ जना छन् ।

वैशाखको पहिलो सातादेखि दोस्रो साताको बीचमा क्वारेन्टाइनमा धेरै चाप थियो । काठमाडौंसहित बिभिन्न जिल्लाबाट मानिसहरु हिँड्दै गाउँ आएका थिए । नगरपालिकाले बसको व्यस्था गरेर काठमाडौंमा अलपत्र परेकाहरुलाई ल्यायौं । एक पटक त क्वारेन्टाइनमा १४ सय जनासम्म पुगे । धेरै मानिस हुँदा व्यवस्थापन गर्न गाह्रो भएको थियो । तर स्थानीयवासीको साथ र सहयोगले हामीले सबैको व्यवस्थापन गर्न सक्यौं ।

सबैलाई २२ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्यौं । २२ दिन बसाइँ अवधि पूरा गरेकालाई आरडीटी परीक्षण गर्यौं । रिपोर्ट नेगेटिभ आएपछि मात्र घरमा थप एक साता बस्न पठायौं । भारत र तेस्रो मुलुकबाट आएकाहरु अहिले नगर क्वारेन्टाइनमा छैनन्, स्वास्थ्य परीक्षणपछि उनीहरु घरमै बसिरहेका छन् ।

समुदाय नै संकटमा परेको बेला विपत्तीको सामना गर्ने बल समुदायबाटै प्राप्त हुँदा गौरवको महसुस भइरहेको छ । कोरोनाविरुद्ध लड्न झन् बढी ऊर्जा प्राप्त भएको छ

अहिले क्वारेन्टाइनमा जति छन्, सबै नेपालकै बिभिन्न जिल्लाबाट आएकाहरु छन् ।अहिले क्वारेन्टाइनमा चाप घटेको छ । सबैको स्वास्थ्य सामान्य छ । अहिले नगर क्वारेन्टाइन नभनेर सबैलाई सामुदायिक क्वारेन्टाइन भनेका छौं । सुरुमा क्वारेन्टाइनमा बस्नेहरुलाई नगरपालिकाले नै बिहान नास्ता, खाना, दिउँसो खाजा र बेलुका खाना खुवाउँथ्यो । अहिले यो काम स्थानीयबासी आफैंले गरिरहनु भएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुलाई घरका सदस्यले नै खाना ल्याएर आउनुहुन्छ । दुरी कायम गरेर खाना दिने, खाएका भाँडाहरु लैजाने गर्नु हुन्छ । क्वारेन्टाइनमा बसेकाहरुलाई झुल, ओढ्ने, ओछ्याउने, साबुन, स्यानिटाइजर, पानीलगायतको व्यवस्था गरेका छौं ।

गाउँ फर्किएकाहरु प्रायः ज्याला मजदुरी गर्न बिभिन्न जिल्लामा गएकाहरु नै हुनुहुन्छ । उहाँहरुको घरमा खाने अन्न भए–नभएको एकिन गरेर नभएकाहरुलाई नगरपालिकाले तोकेको राहतको मापदण्डअनुसार नै चामल, दाल, नुन, तेलको व्यवस्था गरिदियौं । त्यो पकाएर आफ्ना घरका सदस्यहरुलाई उहाँहरुले घरबाटै ल्याइदिनु हुन्छ ।

त्यसअघि हामीले क्वारेन्टाइन सन्चालनको लागि पाँच सदस्यीय सामुदायिक क्वारेन्टाइन व्यवस्थापन समिति र कार्यविधि बनायौं । व्यवस्थापन समितिमा सम्बन्धित टोलको वडा सदस्य, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विद्यालयको प्रधानाध्यापक वा शिक्षक प्रतिनिधि, महिला स्वास्थ्य स्वंसेविका र त्यो टोलको मूल बडघर हुनुहुन्छ । समितिको संयोजक भने वडा सदस्यलाई तोक्यौं ।

यो समितिले के–के काम गर्ने भनेर योजना बनाएर काम गर्छ । केही अप्ठ्यारो परेमा नगरपालिकासँग सहयोग माग्छ र हामीले सहयोग गर्छौं ।

बडघरको भूमिका

सामुदायिक क्वारेन्टाइनको अवधारणाले नगरपालिकाको खर्च पनि कम भएको छ । समितिका सबै सदस्यहरुले एकदमै सचेतपूर्वक र राम्रोसँग काम गरिरहनुभएको छ । यसमा बडघरको भूमिका सह्रानीय छ । उहाँहरुले विशेषगरी लकडाउन कार्यान्वयन गराउनका लागि र भौतिक दुरी कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरुको भूमिकाको नगरपालिकाले उच्च मूल्यांकन गरेको छ । गाउँघरमा भद्रगोल रुपमा मानिसहरु बाहिर निस्किने, चोक चौराहामा भेला हुने काम पूरै नियन्त्रण गर्नुभयो ।

बडघरको निर्देशन यस्तो छ भन्ने जानकारी चौकीदारले हाँक पारेर गाउँलेहरुलाई दिन्छ र बर्जित कार्य गाउँलेले गर्दैनन् । बडघरको निर्देशन सबैले पालना गर्छन् ।

बडघर थारू जातिको परम्परागत संरचना हो । गाउँलेले निर्णय क्षमतामा पोख्त, सबैको विश्वासपात्र एक जना व्यक्तिलाई बडघर चुन्छन् । बडघरले गाउँघरमा झैझगडा मिलाउने, विवाह, मृत्यु, भोजलगायतका काममा सघाउने, विकास निर्माणका काममा श्रमदान गर्नेलगायतका काममा सघाउँछन् । बडघरले भनेका कुरा गाउँलेले मान्छन् । त्यसैले क्वारेन्टाइन सन्चालन गर्न, सीमामा निगरानी गर्न सहयोग भएको छ । बडघरसहितको समितिले सक्रियतापूर्वक काम गर्दा सजिलो भएको छ ।

बारबर्दिया नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको चैत २८ गतेदेखि हालसम्म नियमित रुपमा आरडीटी र पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्यौं । सुरुदेखि वैशाख २९ गतेसम्मको डाटाअनुसार १ हजार  १ सय १० जनाको आरडीटी र २० जनाको पीसीआर टेस्ट गराएका छौं । रिपोर्ट नेगेटिभ आएपछि सबै १ हजार १ सय ३० जना घर फर्किनु भएको छ । अझै १ सय ५० जना पुरुष र ३८ महिला गरी जम्मा १८८ जना क्वारेन्टाइनमा हुनुहुन्छ । सबैको स्वास्थ्य सामान्य छ ।

कोरोना भाइरसका संक्रमित नेपालमा भित्रिएको सूचना पाउनासाथ हामीले पीपीई, परीक्षण किट, ग्लोब्स, सर्जिकल मास्क, तापक्रम नाप्ने थर्मोटिर गनको जोहो गर्ने प्रक्रिया मिलायौं । यसको अभाव हुनु अगाडि नै हामीले नगरपालिकाभित्र यस्ता अत्यावश्यक सामान भित्राएका थियौं ।

दीर्घ रोगी र नियमित औषधि सेवन गरिरहनु भएकाहरुलाई लकडाउनको बेला औषधि चाहियो भने नगरपालिकाको स्वास्थ्य समितिले व्यवस्था गरिदिन्छ । त्यसका लागि डाक्टरले औषधि लेखेर दिएको पर्चा र पैसा जम्मा गर्नुपर्छ । औषधि मगाउनका लागि हामीले तीन वटा मोबाइल नम्बरको व्यवस्था गरिदिएका छौं ।

एसईई परीक्षाको पर्खाइमा रहेका विद्यार्थीहरुका लागि कतिपय विद्यालयहरुले पैसा नलाग्ने फोन नम्बरको व्यवस्था गरिदिएका छन् । त्यसमा फोन गरेर आफूले नबुझेका कुराहरु विद्यार्थीहरुले शिक्षकहरुसँग सोध्न सक्छन् ।

क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य परीक्षण लगायतका खर्च चलाउनका लागि रकमान्तर गरेर कोभिड १९ कोषमा एक करोड ३५ लाख बजेट व्यवस्था गर्यौं । यो कोषमा अन्य दाताहरुले पनि सहयोग गर्नु भएको छ । यतिसम्मकी सबै वडावासीहरुले पनि नगरपालिकाको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरिदिएर हामीलाई ठूलो गुन लगाउनु भएको छ ।

सबैको साथ सहयोग पाएकाले काम गर्ने बेला कुनै अप्ठ्यारो महसुस भएन । कतिपय ठाउँमा जनप्रतिनिधि, कर्मचारी प्रशासन, सुरक्षा निकाय र समुदायबीच आपसी समन्वय नभएको कुराहरु सुनिएको छ तर हाम्रो नगरपालिकामा त्यस्तो संकेतसमेत पाइएन । सबैले उत्साहका साथ काम गरिरहनुभएको छ ।

स्वास्थ्यकर्मीहरुले हिच्किचाहट विना काम गरिरहनुभएको छ । नगरपालिकाभित्रका दुईवटा इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, सशस्त्र बेस क्याम्प र बर्दिया राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको रम्भापुरको सेनाको टोली पनि सक्रियतापूर्वक परिचालित हुनु भयो ।

वास्तवमा कुनै पनि समस्याको समाधान गर्न स्थानीयबासीको सक्रिय सहयोग, पूर्वतयारी, उपलब्ध स्रोत साधनको व्यवस्थापन र उच्चतम उपयोग महत्वपूर्ण हुने रहेछ ।

समुदाय नै संकटमा परेको बेला विपत्तीको सामना गर्ने बल समुदायबाटै प्राप्त हुँदा गौरवको महसुस भइरहेको छ । कोरोनाविरुद्ध लड्न झन् बढी ऊर्जा प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस बर्दियाका प्रजिअ भन्छन्– नेपालगञ्जमा संक्रमित बढ्दा संकटमा छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment