Comments Add Comment

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो २ अर्ब ३० करोड

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये दुई अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ ।

सरकारले स्थानीय तहलाई सशर्त अनुदानका रुपमा यो रकम बाँडफाँट गर्छ । स्थानीय तहले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्नेगरी यो रकम खर्च गर्नुपर्ने हुन्छ।

अर्थ मन्त्रालयका अनुसार श्रम तथा रोजगार मन्त्रालयमार्फत ११ फागुनमा छ सय २३ वटा स्थानीय तहलाई दुई अर्ब रुपैयाँ स्थानीय तहमा पठाइएको छ । त्यसबेला आयोजना प्रस्ताव गरी पठाउन नसकेका स्थानीय तहलाई भने १७ वैशाखको निर्णयअनुसार थप ३० करोड ३२ लाख रुपैयाँ पठाइएको छ ।

पछिल्लो समय आयोजना प्रस्ताव गरी पठाएका ७८ बेरोजगारको प्राथमिकतासहितको सूची रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको एक सय १२ स्थानीय तहका लागि रकम पठाइएको हो ।

शर्तअनुसार आयोजना सञ्चालन गर्न पाइने
स्थानीय तहमा गएको पैसा तल्लो तहका सरकारले आफुखुसी खर्च गर्न भने पाउँदैनन् । मन्त्रालयका अनुसार गाउँपालिका र नगरपालिकाले आवेदन दिएका व्यक्तिबाट बेरोजगार पहिचान गरेका व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेपछि मात्र आयोजना सुरु गर्न सक्नेछन् । यसरी सूचीकृत भएका व्यक्तिलाई रोजगारी सुनिश्चित हुनेगरी आयोजनामा खटाउनु पर्ने शर्त रहेको छ ।

बेरोजगार व्यक्तिलाई लाभग्राही परिचयपत्र जारी गरिने भएको छ । त्यसको अभिलेखसमेत रोजगार व्यवस्थापन सूचना प्रणालीमा राख्नुपर्ने भएको छ । तोकिएका प्राथमिकता प्राप्त आयोजनामा मात्र काममा लगाउनुपर्ने शर्त समेत राखिएको छ ।

आयोजनाको लागत अनुमान स्वीकृति, बजेट खर्च र लेखा परीक्षणसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । यो रकमबाट चलाइने आयोजनामा लकडाउनका कारण रोजगारी गुमाएका विपन्न परिवारका सदस्यलाई रोजगारी दिनुपर्नेछ । सरकारले राहत नबाँडी काम दिने नीति ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment