Comments Add Comment

आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा-शोध

यतिबेला अधिकांश बालबालिका घरभित्र छन् । आमाबुबासँग छन् । उनीहरूले आफ्ना परिवारलाई अरू नजिकबाट नियाल्न पाएका छन् । विद्यालय वा पढाइबाट अहिले उनीहरुको ध्यान हटेको छ । त्यसैले उनीहरू आफ्ना परिवार, आमाबुबा, भाइबहिनीसँग बढी एकाकार भएका छन् ।

बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । हरेक कुरा जान्न खोज्ने हुन्छन् । त्यसो त उनीहरूको मस्तिष्कको तीव्र विकास हुने अवस्था पनि हो यो । त्यसैले यतिबेला उनीहरू नयाँ-नयाँ कुरा जान्न, बुझ्न, सिक्न र अनुभव गर्न उत्सुक रहन्छन् । त्यसैले उनीहरूलाई स-सना कुराको पनि चाँडै प्रभाव पर्छ।

यो अवस्थामा घरको माहौल अर्थात् आमाबुबाको व्यवहार, सम्बन्ध, बोलीचाली आदिको प्रभाव उनीहरूको मस्तिष्कमा गहिरोसँग रहन्छ । जसको प्रभाव जीवनभर रहन्छ ।

घरको माहोल एवं वातावरण कस्तो छ भन्ने कुराले पनि उनीहरूको मानसिक र मनोवैज्ञानिक विकासलाई प्रभावित बनाउँछ । यदि घरको वातावरण खराब छ । आमाबुबाकाबीच सम्बन्ध सुमधुर छैन, परिवारका सदस्यहरूको बोली-व्यवहार ठिक छैन भने उनीहरूको मस्तिष्कमा यसको गहिरो असर पर्छ, जो जीवनभर कायम रहन्छ।

के भन्छ अध्ययन ?

जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एक अध्ययनअनुसार बाल्यकालमा प्रतिकूल पारिवारिक वातावरणमा हुर्किएका बच्चाहरूलाई पछि गएर हृदय अर्थात् मुटुको रोग लाग्ने सम्भावना अधिक रहन्छ । खराब पारिवारिक माहोलमा हुर्केका बच्चाहरू वयस्क भएपछि उनीहरूको मुटुमा समस्या देखिन सक्छ ।

बालबच्चाप्रति दुर्व्यवहार गर्ने, आमाबुबा झगडा गर्ने, सधैंजसो कलह र अशान्ति छाउने परिवारमा हुर्किएका बच्चापछि गएर हिंस्रक, क्रोधी हुन सक्छ । त्यसो त सानै उमेरमा पनि उनीहरू डिप्रेसन, एन्जाइटी जस्ता समस्याले ग्रसित हुन सक्छन् । खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरुमा हीनताबोध हुने, झगडालु स्वभावका हुने, लागुऔषधको लतमा फस्ने सम्भावना पनि अत्याधिक हुन्छ ।

उनीहरूमा असामाजिक वा साथीभाइसँग घुलमिल नहुने स्वभाव विकास हुनपुग्छ ।

बुबाआमाको झगडा वा एकअर्काले गर्ने खराब व्यवहारको कारण बालबच्चाले रचनात्मक क्षमता समेत गुमाउन सक्छ । उनीहरूको सिर्जनशीलता प्रस्फुटन हुन पाउँदैन ।

खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरू सधैं भयाभित रहने हुन्छ । उनीहरूमा असुरक्षाको भाव रहन्छ ।

अब के गर्ने त ?

व्यवहारिक जीवन चलाउने क्रममा श्रीमान् र श्रीमतीबीच मतभेत हुन सक्छ । कतिपय कुरामा मनमुटाव वा भनाभन हुन सक्छ । तर, जब उनीहरूले आफ्नो आवेग र रिसलाई नियन्त्रण गर्न सक्दैनन्, परिवारको वातावरण नै बिग्रिन्छ । आमाबुबाबीच हुने यस किसिमको भनाभन, झगडाबाट निर्दोष बच्चाले यातना भोग्नुपर्ने हुन्छ । त्यसैले आफ्ना बच्चाको भविष्य सम्झेर पनि घर परिवारको वातावरण खराब हुन दिनहुन्न ।

बालबच्चाको अगाडि झगडा गर्नु वा भनाभन गर्नु त अझ खराब हो । त्यसैले श्रीमान् र श्रीमतीले आपसी मतभेतमा अलग्गै बसेर पनि छलफल गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment