Comments Add Comment

भाइरस स्वास्थ्य मन्त्रालयभित्र कि बाहिर ?

बुधबार दिउँसो स्वास्थ्य मन्त्रालय रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूले गेटमा तैनाथ सुरक्षाकर्मीबाट अप्रत्याशित जवाफ पाए, ‘आजबाट नियम कडा भएको छ, भित्र छिर्न नदिनुस् भन्ने माथिको आदेश छ ।’

‘होइन होला ?’ अविश्वास गर्दै सोध्दा सुरक्षाकर्मी भन्थे, ‘हो, सर छिर्न नदिनुस् भनेका छन् ।’

किन भनेर सोध्दा जवाफ दिए, ‘संक्रमण सर्ने डर हुन्छ रे ।’

संक्रमण रोक्ने कस्तो राम्रो (?) उपाय !  यो उपाय सुझाउनेलाई सरकारले पक्कै पुरस्कृत गर्ला । तर, यो भन्नको लागि मात्रै थियो भन्ने नियमित मन्त्रालय पुगिरहने स्वास्थ्य पत्रकारले संकेत पाइसकेका थिए। ‘मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गर्ने तयारी गरेको छ भन्ने सूचना केही समय अगाडि नै आइसकेको थियो ।

हिजोसम्म गेटमा तैनाथ सुक्षाकर्मीले ज्वरो नाप्थे । हातमा स्यानिटाइजर हालिदिन्थे । प्रेस पास देखाएपछि भित्र छिर्न कुनै रोकतोक हुँदैनथ्यो । हामी सम्बन्धित स्रोतको काममा असर नपर्ने गरी भेटेर फर्कन्थ्यौं । फर्कने बेला उनीहरू आग्रह गर्थेँ,  ‘हाम्रो नाम चाहिँ कतै नआओस् है, सरुवा भइएला भन्ने डर छ ।’

अहिले अकस्मात् नियम परिवर्तन भयो  । यो अस्वाभाविक पनि  थियो ।

अस्वाभाविक किन पनि थियो भने हाम्रै अगाडि विभिन्न एनजीओ/आईएनजीओका मानिसहरू भटाभट मन्त्रालय प्रवेश गरिरहेका छन्  । राजनीतिक दलका कार्यकर्तालाई मन्त्रालय आफ्नै पार्टी कार्यालयझैं थियो । विभिन्न अस्पतालका मानिसहरू स्वत:स्फूर्त आउजाउ गरिरहेका थिए । तर, हामी दुई/चार जना पत्रकारलाई भने संक्रमण सार्छन् भन्दै गेटमै रोकियो।

गेटमा रोकिएपछि हामीले स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टलाई फोन गर्‍यौं । उनले आज बिहान (बुधबार) मन्त्रालयमा बसेको मिटिङले पत्रकारलाई छिर्न कडाइ गरेको भन्दै केही गर्न नसक्ने बताए ।

उनले भने, ‘कसलाई भेट्ने हो प्रवक्तालाई जानकारी दिनुस्, उहाँले सम्बन्धित व्यक्तिलाई सोधेर समय छ/छैन, जानकारी दिनुहुन्छ ।’

विष्टले यो पनि थपे, ‘अनि सम्बन्धित व्यक्तिले प्रवक्तालाई ‘हुन्छ उहाँहरूलाई पठाउनुस्’ भनेपछि प्रवक्ताज्यूले गेटमा फोन गरेर छिर्न दिनुस् भन्नुहुन्छ ।’

उनका अनुसार अब हामीमध्ये कसैले भेट्न चाहेको मानिससँग सिधै सम्पर्क गरेर भेट्न सम्भव भएन । मन्त्रालयका प्रवक्तालाई जानकारी गराएपछि मात्रै हाम्रा लागि प्रवक्ताले सम्बन्धित व्यक्तिको समय मागिदिने भए ।

‘किन यो नियम लागू गरियो त  ?’

प्रशासन प्रमुख विष्टले प्रष्टीकरण दिए, ‘यहाँको कर्मचारीहरूलाई तपाईंहरूबाट कोरोना सर्ने डरले ।’

यो ओठे जवाफ थियो भन्ने हामीमध्ये धेरैलाई थाहा थियो ।

देशमा लकडाउन सुरु भएपछि स्वास्थ्य मन्त्रालयमा नियमित पुग्ने स्वास्थ्य पत्रकार  एउटा हातको औंलामा गन्न अटाउने मात्र छन् । अरू पत्रकारले घरबाटै टेलिफोनमार्फत् रिपोर्टिङ गरिरहेका छन् ।

केही पत्रकार छिर्दा मन्त्रालयमा भिडभाड भएर संक्रमण सर्ने  कस्तो डर ? त्यही पनि अधिकांश पत्रकार एकैपटक  मन्त्रालय छिर्दैनन् । एउटै मान्छेलाई एकैपटक भेट्दैनन् ।

स्वास्थ्य मन्त्रालय जाँदा पत्रकारले पनि सब स्वास्थ्य सुरक्षाका उपाय अपनाएर प्रवेश गर्छन् । मन्त्रालयका अधिकारीहरूसँग भेट्दा दुरी कायम गरेरै भेट्छन् ।

के अरू मानिसहरू मन्त्रालय छिर्दा कोरोना नसर्ने अनि पत्रकारबाटमात्रै जोखिम ?

नाम उल्लेख गर्न नचहाने शर्तमा मन्त्रालयको एक कर्मचारी भन्छन्, ‘त्यसरी कडा गरेपछि कुन पत्रकारले कुन कर्मचारीलाई भेट्यो र भोलिपल्ट कस्तो समाचार आयो भन्ने डाटा मन्त्रालयसगँ हुन्छ। मन्त्रालयले निगरानी राखेपछि कर्मचारीहरूले पनि सूचना दिन्नन् । डाटा हुँदा कारबाही गर्न पनि सजिलो हुन्छ ।’

हो, सायद उनले  भनेजस्तै पत्रकारलाई सूचना दिने कर्मचारीको तथ्यांक संकलन गर्दैछ मन्त्रालय । जसको कारण मन्त्रालयको सूचना, कमजोरी र अनियमितता जनतासम्म नपुगोस् । किटको हाहाकार भएको खबर नछापियोस् । किटको गुणस्तरको बारेमा प्रश्न नै नउठोस्। सम्भावित संक्रमितको जाँच नभएको सूचना पत्रकारसम्म नपुगोस् ।

हिजोआज मन्त्रालयले सञ्चार माध्यममा पढ्न र सुन्न नचाहने यस्ता धेरै खबर आइरहेका छन् । ओम्नीले ल्याएको सामान दातालाई किन्न लगाएर फेरि मन्त्रालयमा सहयोग दिनको लागि गरेको गुहार पत्रकारहरूले थाहा पाएका छन् । ओम्नीसँगको स्वास्थ्य मन्त्रालयको साँठगाँठ छताछुल्ल भएको छ । कसैले सहयोगमा दिएको किटसमेत ल्याउन नसकेर ल्याब बन्द हुँदा स्वास्थ्यमन्त्रीको क्षमता उदाङ्गो भएको छ। खरिद प्रकिया र टेण्डरमा मन्त्रालयको स्वार्थ घाम जत्तिकै छर्लङ्ग भएको छ।

देशमा कोरोना संक्रमणको महामारी बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयको काम भने निराशाजनक छ । संक्रमण तीव्र गतिमा बढ्दा मन्त्रालयको कामको गति भने स्वात्तै घटेको छ ।

देशभर कोरोना विशेष भनेर सञ्चालन गरिएका अस्पतालमा पर्याप्त बेड छैनन् । आईसीयू र भेन्टिलेटरको संख्या अत्यन्त न्यून छ। स्वास्थ्यकर्मीको पनि हाहाकार हुने अवस्था छ । हामीले यो काम गर्‍यौं भनेर बताउने उपलब्धि स्वास्थ्य मन्त्रालयसँग धेरै छैन ।

सोही कारण गएको चार महिनामा स्वास्थ्य मन्त्रालय पटकपटक विवादमा तानिएको छ ।

डा. शेरबहादुर पुन विवाद, ओम्नीसँगको सामान खरिद विवाद, ओम्नीको सामान खरिद गरेर मन्त्रालयलाई दिन दाताहरूसँग गरेको गुहार यी विवादका प्रमुख शृङ्खला हुन् । मन्त्रालयमा के भ्रम छ भने यी विवाद सञ्चार माध्यममा समाचार आएका कारण भएको हो ।

त्यसैले यस्ता विवाद सिर्जना नगर्ने भन्दा पनि सञ्चार माध्यममार्फत बाहिर जान नदिनेमा स्वास्थ्य मन्त्रीको सचिवालय सजग छ । त्यसैले पनि पत्रकारलाई सूचना दिने कर्मचारीलाई कारबाही गर्ने भनेर बारम्बार तर्साइरहन्छ।

स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङमा पुग्दा अधिकांश कर्मचारी हामीसँग सशंकित हुन्थे । हामीसँग भेट गरेको खबरमन्त्रीको सचिवालयमा पुगे कारबाही गर्ने चेतावनी उनीहरूलाई पटकपटक आइसकेको थियो । मन्त्रालय मात्र होइन, स्वास्थ्य सेवा विभाग, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कर्मचारीहरू पनि केही सूचना दिए जागिर धरापमा पर्छ भनेर हामीसँग पन्छिन्थे।

यो हालसालै विकास भएको घटनाक्रम भने होइन । नेपालमा कोरोना संक्रमणको दोस्रो केस देखिएपछि पत्रकारसँग नजिकिने मन्त्रालय अन्तर्गतका कर्मचारीलाई सकस परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक रुना झा हुन् या इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका केही कर्मचारी, उनीहरू अधिकाशंलाई सूचना चुहाएको आरोप लागेको छ ।

‘कोभिड सकिनासाथ सरुवा गर्छौं’ भन्ने धम्की उनीहरूले बारम्बार खेपिरहेका छन् ।

यसको मुख्य डिजाइनर स्वास्थ्यमन्त्रीको सचिवालय र स्वास्थ्य सचिव यादव कोइराला हुन् । यादव तिनै सचिव हुन् जसले मन्त्रीको अगाडि धेरै कर्मचारीहरूलाई ‘तँ’ भनेर थर्काएका छन् । ‘डाक्टरहरुलाई देखाइदिन्छु’ भन्दै अभिव्यक्ति दिएका छन् । विभिन्न महाशाखाको प्रमुखहरूसँग झगडा नै गरेका छन् ।

त्यसैले स्वास्थ्य सचिव कोइरालालाई मन्त्रालयको केही कर्मचारी ‘डन’ भनेर सम्बोधन गर्छन् ।  सचिवालयको डिजाइन र उनको निर्देशनमा मन्त्रालयमा यस्तै विवादास्पद गतिविधि भइरहेको छ । जसले स्वास्थ्य मन्त्रालयलाई दिनहुँ बदनाम गरिरहेको छ ।

यस्ता विवाद र आरोप लाग्दा स्वास्थ्य मन्त्रालयले ‘रेडिमेड’ जवाफ दिन्छ, ‘भाइरसमा राजनीति गर्नेहरूले मन्त्रालयलाई बदनाम गराए ।’

हाल स्वास्थ्य मन्त्रालयले कोभिड नियन्त्रणको आकस्मिक कामको लागि भन्दै राजनीतिक कार्यकर्ता भर्ति गरेको छ । उनीहरूले कर्मचारीको पनि जासुसी गर्ने गरेका छन् । हिजो मन्त्रालय छिरेका राजनीतिक कार्यकर्ताले वर्षौदेखि मन्त्रालयमा काम गरिरहेका इमान्दार कर्मचारीको कामको जासुसी (मुल्याङ्कन ?) गरिरहेका छन् ।

हुनत मन्त्रालयको जिम्मेवार अधिकारीहरूले मन्त्रालय भित्र भाइरस छिराउलान् भनेर पत्रकारलाई छिर्न नदिएको भनिरहेका छन् । तर, पत्रकार नछिर्दा मन्त्रालय भाइरसमुक्त हुन्छ भन्नु कस्तो तर्क हो ?

बरु मेला लागे जसरी मन्त्रालय छिरेका कार्यकर्ताहरूको पो विचार गर्ने कि स्वास्थ्यमन्त्रीज्यू ?

मन्त्रालयमा नियमितजसो रिपोर्टिङमा पुग्ने धेरैजसो पत्रकारलाई कोरोनाभन्दा खतरनाक भाइरस स्वास्थ्य मन्त्रालयभित्रै रहेको थाहा छ । राजनीतिक भाइरसले मन्त्रालयलाई गरेको संक्रमण पनि ‘ओपन सेक्रेट’ छ ।

विश्वव्यापी महामारीमा पनि त्यो भाइरसले स्वास्थ्य मन्त्रालय थला पार्न गरेको कसरत कतैबाट लुकेको छैन । पत्रकारलाई गेटबाट भित्र छिर्न नदिँदैमा त्यो भाइरस एक्सपोज गर्ने काम रोकिन्छ भन्ने कस्तो भ्रम ?

यो भ्रमबाट मुक्त भएर कोरोना नियन्त्रणको काममा लाग्नुस् है स्वास्थ्यमन्त्रीज्यू, त्यसो गर्दा तपाईंको मात्र होइन देश र जनताकै भलो हुनेछ ।

यो पनि पढ्नुहोस स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई रोक लगाएकामा विरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment