Comments Add Comment

कोरोनाविरुद्ध लड्न इजरायलमा बन्यो राष्ट्रिय सरकार, नेतान्याहु पाँचौंपटक प्रधानमन्त्री

सरकारमा विपक्षी दल पनि सहभागी, आलोपालो नेतृत्व गर्ने सहमति

प्रधानमन्त्री बेञ्जामिन र विपक्षी नेता बेनी गान्त्ज (दायाँ) ।

१ जेठ, काठमाडौं । कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु एकपटक फेरि इजरायलको प्रधानमन्त्री बनेका छन्। भ्रष्टाचारको आरोप लाग्दा र तीन पटकको चुनावमा बहुमत नपाउँदा पनि उनले राजनीतिक गठबन्धनको आधारमा फेरि प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।

नेतान्याहुले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन्। प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल हो ।

नेतान्याहु सबैभन्दा पहिले १८ जुन १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकाल ३१ मार्च २००९ देखि १८ मार्च २०१३ सम्म थियो । तेस्रो कार्यकाल १८ मार्च २०१३ देखि ६ मे २०१५ सम्म र चौथो कार्यकाल ६ मे २०१५ देखि ९ अप्रिल २०१९ सम्म थियो ।

इजरायलको पछिल्लो चुनावमा नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवैले बहुमत पाउन सकेका थिएनन् । तर, दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मिलिजुली सरकार गठन गरेका छन् ।

दुवै नेताहरूले कोरोना कहरको बेला देशलाई स्थिर सरकार चाहिएकाले यो गठबन्धन जरुरी रहेको बताएका छन् ।

बीबीसीका अनुसार लिकुड पार्टीका नेता नेतान्याहु र विपक्षी ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गात्जले सरकार चलाउने विषयमा १४ पृष्ठ लामो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

गठबन्धन बीचमै तोड्न नपाउने सहमति

सहमतिअनुसार दुई नेताहरूले आलोपालो सरकार चलाउने छन् । सुरुको १८ महिना नेतान्याहु प्रधानमन्त्री हुने छन् भने गात्ज रक्षामन्त्री बन्ने छन् । गात्ज पूर्वसेना प्रमुख हुन् ।

प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र विपक्षी नेता बेनी गान्त्ज (वायाँ) ।

नेतान्याहुको कार्यकाल सकिएपछि गठबन्धन तोडेर फेरि चुनाव घोषणा गर्न नपाइने सहमति पनि भएको छ । नेतान्याहुविरुद्ध उच्च अदालतमा जारी भ्रष्टाचार मुद्दामा आरोप प्रमाणित भए पनि गात्जले नेतान्याहुलाई हटाउन पाउने छैनन्, त्यसका लागि सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने छ ।

विपक्षी नेता गात्ज इजरायलको पूर्व सेना प्रमुख हुन् । नेतान्याहुलाई चुनावमा हराउन उनले दक्षिणपन्थी र उदार दुवै नीतिको साहारा लिएका थिए । चुनावको बेला उनले नेतान्याहुलाई लागेको भ्रष्टाचार आरोप लगातार उठाइरहे । उनले नेतान्याहुसँग मिलेर सरकार नबनाउने घोषणासमेत गरेका थिए । तर, उनले यो वाचा देशको हितका लागि भन्दै तोडेका छन् ।

बीबीसीसँगको कुराकानीमा इजरायलका राजनीतिक विश्लेषक योहानन प्लेसनेरले यस गठजोडलाई ‘लोकतान्त्रिक युद्धविराम’ भनेका छन् ।

वर्तमान सरकारका चुनौती

इजराली अखबार हारेट्जका अनुसार इजरायलको राजनीति हालसम्म धार्मिक र राष्ट्रवादमा टिकेको छ । नेतान्याहुको कार्यकालभर राष्ट्रवादी पार्टीहरूको सत्तामा दबदबा थियो । नेतान्याहुको लिकुड पार्टीको विगतका सत्ता साझेदार दक्षिणपन्थी र रुढीवादी पार्टीलाई यसपटक सरकारमा स्थान मिलेको छैन ।

तर, अहिले गठबन्धन गरिएका विपक्षी दलका नेता बेनी गात्ज उदारवादी नेता हुन् । त्यसैले सरकारका नीतिहरूमा विवाद बढ्ने आशंका गरिएको छ ।

इजरायल कोरोना भाइरसविरुद्ध लड्न धेरै हदसम्म सफल भएको छ । तर, आर्थिक संकट निम्तिएको छ । एक अनुमानअनुसार इजरायलको एक चौथाइ कर्मचारी अर्थात् १० लाखभन्दा बढी व्यक्ति बेरोजगार बनेका छन् । रोजगारी सिर्जना र आर्थिक संकटमा देशलाई जोगाउने चुनौती छ ।

नेतान्याहुले चुनावमा यहुदी बस्ती बसाइएको वेस्ट बैङ्कका क्षेत्रहरू विलय गर्ने बाचा गरेका थिए । गठबन्धन सरकारमा पनि यो विषयमा सहमति भएको छ । एक जुलाईदेखि विलय सुरु गर्ने योजना छ । यससँगै प्यालेस्टाइनमा संघर्ष सुरु हुने अनुमान छ । अन्तर्राष्ट्रिय कानुनअनुसार पनि यो विलय गैरकानुनी मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment