Comments Add Comment

भारतमा कन्ट्याक्ट ट्रेसिङ एप किन विवादित छ ?

२ जेठ, काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गन सहज होस् भनेर ‘आरोग्य सेतु’ नामक कन्ट्याक्ट ट्रेसिङ एप ल्याएको छ । यो १० करोडभन्दा धेरै डाउनलोड भइसकेको भारतको सूचना प्रविधि मन्त्रालयले बताएको छ । यद्यपि यो एपबारे मानिसहरूको गोपनीयताको चासो भने बढेको छ । ‘आरोग्य सेतु’ संस्कृत शब्द हो । यसको अर्थ ‘स्वास्थ्यको पुल’ भन्ने हुन्छ । यो एप भारतले ६ साताअघि मात्र सार्वजनिक गरेको थियो ।

भारतमा यो एप सरकारी र निजी क्षेत्रका कर्मचारीलाई डाउनलोड गर्नु अनिवार्य गरिएको छ । तर, प्रयोगकर्ता र विशेषज्ञहरूले यो एप प्रयोग गर्दा डेटा सुरक्षाको जोखिम रहेको बताएका छन् ।

यसले कसरी काम गर्छ ?

मोबाइलको ब्लुटुथ र लोकेसन डेटाको आधारमा ‘आरोग्य सेतु’ले पहिचान भइसकेका कोरोना भाइरसका बिरामी नजिकै भएको वा नभएको जानकारी दिन्छ । यो डेटा सरकारसँग पुग्छ । कसैले पछिल्लो दुई सातामा संक्रमित व्यक्तिसँग भेटेको छ भने एपले उक्त व्यक्तिमा संक्रमित हुने जोखिम पनि बढाउँछ । साथै, संक्रमण रोक्न आवश्यक पर्ने नियम पालना गर्न सिफारिस पनि गर्छ ।

मानिसको नाम र नम्बर भने सार्वजनिक गरिँदैन । यो एपले मानिसको लैङ्गिक सूचना, भ्रमणको इतिहास र धुम्रपान गर्ने गरेको वा नगर्ने भन्ने कुराको पनि जानकारी संकलन गर्छ ।

एप डाउनलोड गर्नु अनिवार्य छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल टि्वटरमा यो एपलाई सहयोग पुग्नेगरी टि्वट गरेका छन् । उनले सबैलाई यो एप डाउनलोड गर्न आग्रह गरेका छन् ।

अहिले यो एप सरकारी र निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारीका लागि अनिवार्य बनाइएको छ । भारतको नोइडाले उक्त क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई यो एप प्रयोग गर्नु अनिवार्य हुने नियम लागू गरेको छ । यो नियम नमान्नेलाई यो क्षेत्रमा ६ महिनासम्मको जेल हुन सक्ने चेतावनी दिइएको छ ।

जोमाटोजस्ता खाद्य डेलिभरी कम्पनीले पनि आफ्ना कर्मचारीहरूलाई यो एपको प्रयोग अनिवार्य गरेका छन् । यद्यपि यस विषयमा सरकारमाथि विशेषज्ञहरूले भने प्रश्न उठाएका छन् ।

इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा भारतका पूर्व प्रधानन्यायाधीश बीएन श्रीकृष्णले सबै मानिसलाई यो एप प्रयोग गर्न लगाउनु ‘पूर्णरुपमा अवैध’ भएको बताए । उनले अहिलेसम्म भारतमा यो निर्देशन कुनै पनि नियममा नपर्ने बताए । विश्वभर यस्ता २५ एपहरू सार्वजनिक भइसकेका छन् । यसमध्ये अन्य केही एपबारे पनि आलोचना भइरहेको छ ।

भारतको एपमा मुख्य चासोको विषय के हो ?

भारतको एपमा लोकेसनको विवरण र फोनको ब्लुटुथ आवश्यक हुन्छ । यसले व्यक्तिगत विवरणको सुरक्षामा प्रश्न उठ्न सक्छ । सिंगापुरमा पनि यस्तो स्वास्थ्य एप प्रयोग गर्न सुझाइएको छ । तर, त्यहाँ उक्त एपको सबै डेटा स्वास्थ्य मन्त्रालयले राख्छ र उसले यो डेटा कतैबाट पनि चुहिन नदिने नीति अपनाएको छ ।

भारतमा पनि त्यस्तै किसिमको सूचना बाहिर चुहिँदैन भनेर सरकारले मानिसहरूलाई आश्वस्त पार्नुपर्ने आलोचकहरूको भनाइ छ ।

एप निर्माताले भने प्रयोगकर्ताको डेटा आफूले नचुहाउने दाबी गर्दै आएको छ । यो एप निर्माता माईगोभका प्रतिनिधिले भने कम्पनीले यो एपको डेटा अन्य प्रयोजनका लागि प्रयोग नगर्ने र कसैलाई बिक्री पनि नगर्ने दाबी गरे । विशेषगरी यो एपले मानिसको लोकेसनको विवरण राख्छ, जुन विश्वव्यापीरुपमा अनावश्यक मानिने गरिएको छ । साथै यो गोपनीयताको उल्लंघन पनि रहेको इन्टरनेट नियामकहरूले बताएका छन् । साथै उनीहरूले यो एपको ब्लुटुथको कामप्रति पनि धेरैले प्रश्न उठाएका छन् ।

गोपनीयतासम्बन्धी चासो के-के हुन् ?

यो एप प्रयोग गर्दा लोकेसनको आधारमा नजिकै बिरामी रहेका कोभिड-१९ का बिरामीको सूचना पनि पाउन सकिन्छ । यसको अर्थ जो कोहीको डेटा सरकारले चाहेको खण्डमा जसलाई पनि दिन सक्छ । यसले मानिसको गोपनीयताको विषयमा आशंका जन्माएको छ । तर, यो एप निर्माताले भने यो एपको गोपनीयतालाई ध्यानमा राखेर एप निर्माण गरेको दाबी गर्दै आएको छ । सरकारले पनि मानिसहरूको विवरण गोप्य राखिने बताउँदै आएको छ । तर, विशेषज्ञहरू भने भारतभरि को बिरामी छ भनेर जानकारी दिने यो एपमा धेरै कमजोरी रहेको बताउँछन् ।

विशेषज्ञहरूका अनुुसार यो एपको माध्यमबाट प्रधानमन्त्री कार्यालयदेखि प्रत्येक घरमा को मानिस बिरामी छ भन्ने कुरा थाहा पाउन सकिन्छ । जसले मानिसको सुरक्षामा पनि प्रश्न उठ्न सक्छ । तर, त्यस्तो हुन नसक्ने एप निर्माताको दाबी छ । त्यसका साथै यो एपमा मोबाइल नम्बर र बैङ्कको खाता नम्बर पनि राख्नुपर्ने व्यवस्थाले थप जोखिम बढ्ने विज्ञहरूले बताएका छन् । साथै यो एप ओपन सोर्स नहुनाले समस्या बढ्न सक्ने बताइएको छ ।

यो प्रणालीलाई छक्याउन सकिन्छ ?

यो एपमा रजिस्ट्रर गर्दा प्रयोगकर्ताले आफ्नो नाम, लिङ्ग, भ्रमणको इतिहास, मोबाइल नम्बर र लोकेसन राख्नुपर्छ । यस्तोमा मानिसहरूले गलत सूचना पनि राख्न सक्छन् । जसले यो एपको प्रभावकारितामा पनि प्रश्न उठ्न सक्ने बताइएको छ । एउटा प्रतिवेदनअनुसार एक भारतीय इन्जिनियरले यो वेबसाइट ह्याक गरेर रजिस्ट्रेसन पेज स्किप गरेर एप खोलेका थिए । साथै, उनले आफ्नो लोकेसन र ब्लुटुथको विवरण एपले लिन नसक्ने पनि बनाएका थिए । यो घटनाले पनि थप आशंका सिर्जना गरेको हो ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment