Comments Add Comment

मास्कमय संसद, राष्ट्रपति आउँदा बग्गी देखिएन

२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा विगतमा भन्दा केही फरक दृष्य देखिए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई न्यून गर्न ११ चैत २०७६ देखि लकडाउन सुरु भएयता संघीय संसदमा शुक्रबार हालसम्मकै ठूलो जमघट थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी मास्क र पञ्जा लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगिन् । नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाइन् । फर्किदा मास्क लगाएरै फर्किइन् ।

बैठक कक्षमा सहभागी सबैजसो सांसदले मास्क लगाएका थिए । संघीय संसद सचिवालयले पनि बैठकमा सहभागी हुनेहरुलाई माक्सको प्रयोग अनिवार्य गरेको थियो ।

तर, बैठक कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायतका कतिपय सांसदले भने मास्क लगाएनन् ।

रिसल्लाको रौनक

राष्ट्रपति नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् भवन पुग्दा बग्गी (रिसल्ला) प्रयोग गर्ने गरिन्थ्यो । तर, यस पटक त्यस्तो देखिएन ।

कारगेट सहितको सवारी भने थियो । विगतमा राष्ट्रपतिको सवारीमा सडक खाली गराउनुपर्दथ्यो । कतिपयले राष्ट्रपतिको आवागमनमा सडक जाम भोग्न परेको भन्दै गूनासो गर्थे । तर, लकडाउनका कारण यसपटक त्यस्तो भएन ।

राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराएको थियो । संसद भवन परिसरलाई सिङ्गारेर झकिझकाउ बनाइएको थियो । विगतका वर्षहरुमा मुख्य कार्यक्रम सञ्चालन हुँदा सञ्चालनमा ल्याइने फोहरा नजिक मानिसहरुको भीड हुन्थ्यो । यसवर्ष तस्वीर खिच्न पुगेका फोटो पत्रकार मात्रै देखिन्थे ।

हात धुने ठाउँ …

संघीय संसद भवन परिसर झकिझकाउ त छँदैथियो । विगतमा भन्दा यसवर्ष थपियो हात धुने ठाउँ ।

सांसदहरुले साबुनपानीले हात धोए । स्यानिटाइजरको प्रयोग गरे । ज्वरो नापे । सबै ठीकठाक भएपछि बैठक कक्षमा प्रवेश पाए ।

सभाहल प्रवेशका लागि पीसीआर परीक्षण नतिजालाई अनिवार्य गरिएको थियो । चालु अधिवेशन सुरु हुनु अघि संसद सचिवालयले नै सांसद र संसद सचिवालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो ।

बालकोनीमा सांसद

विगतका बर्षहरुमा भन्दा यसवर्ष संसदका देखिएको अर्को फरक दृष्य हो– बालकोनीमा सांसद । सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बेला सांसदहरु बालकोनीमा देखिए ।

सामाजिक दूरी कायम गर्नका लागि केही सांसदलाई सभाहलको बाल्कोनी अर्थात अघिपछि विशिष्ट पाहुना, पत्रकार, दर्शकका लागि प्रयोग हुँदै आएको स्थानमा राखिएको थियो ।

सामाजिक दूरी कायम गरी सांसदहरुको कुर्सी राख्दा आमन्त्रित व्यक्तिको संख्यामा उल्लेखनीय रुपमा कटौती गरिएको थियो ।

कूटनीतिज्ञलाई बोलाइएन

स्थान अभाव भएकै कारण यसवर्ष सरकारको नीति तथा कार्यक्रम सुन्न विदेशी राजदूत लगायतका कूटनीतिज्ञहरुलाई बोलाइएन ।

संवैधानिक आयोगका अध्यक्षहरु सहभागी भए । अघिल्ला वर्षहरुमा आयोगका सदस्यहरुलाई समेत बोलाउने गरिएकामा यस वर्ष अध्यक्षलाई मात्र बोलाइयो ।

सांसद छुटे

प्रतिनिधिसभाका सात र राष्ट्रिय सभाका दुई गरी नौ जना सांसद यसवर्ष नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा सहभागी हुन पाएनन् ।

बैठकमा प्रवेश नपाउने प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुही नाज, सूर्यबहादुर केसी छन् भने, राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाएनन् ।

उनीहरु काठमाडौं बाहिर थिए र संसद सचिवालयका अनुसार उनीहरुले कोरोना संक्रमण परीक्षण पनि गराएका छैनन् ।

प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन्  । राष्ट्रियसभामा एक जना सांसद मनोनित हुन बाँकी छ । यसरी हाल कूल ३२९ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment