+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘कोरोना ब्याच, डेस्क बेञ्च सबै पास’ हुनबाट रोकौं

ऋतुराज सापकोटा ऋतुराज सापकोटा
२०७७ जेठ ४ गते ११:०२
ऋतुराज सापकोटा

विश्वभर कोरोना महामारीको सन्त्रास हालसम्म साम्य हुने छाँट देखिएको छैन । कुनै त्यस्तो क्षेत्र छैन, जहाँ कोरोको चर्चा र प्रभाव नभएको होस् । विद्यालय, विद्यार्थी, परीक्षा, परीक्षाको नतिजा सबै अन्योल अवस्थामा छन् ।

मुलुकको गतिविधि लयमा फर्केको एकाध महिनासम्म विद्यालयमा हुने औपचारिक पढाई गर्न गाह्रो हुने कुरामा द्विविधा छैन ।

हाम्रो मुलुकमा सम्भवतः सबैभन्दा धेरै बोलिने र लेखिने बिषय हो बालवालिका अधिकार, उनीहरूका पढाइ र सुरक्षा । विडम्बना नै भन्नुपर्छ, सबैभन्दा बढी ओझेलमा पारिने र सम्वोधन गर्न रुची नराखिएको विषय पनि बालबालिका र विद्यालयहरु नै हुन पुगेका छन् ।

कोरोना सन्त्रासका कारण शैक्षिक गतिविधिबाट विमुख ६५ लाखभन्दा बढी बालबालिकाको चञ्चल बाल मष्तिष्कलाई घरभित्र कैद गर्नु परिरहेको बाध्यात्मक परिवेश छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सोचसम्म पनि बनाइरहेका छैनाैं।

शिक्षा क्षेत्र अस्तव्यस्त भयो भन्ने हौवा पिटाएर मर्यादित परीक्षाको साख गिराउनु कदापि हुँदैन

परीक्षाका तयारीकै क्रममा कुनै न कुनै रुपमा व्यस्त रहनुभएका कक्षा १० देखि कक्षा १२ सम्मका मात्र करिव १५ लाख विद्यार्थीको स्थगित परीक्षाले उनीहरुको मानसिक तनावका बारेमा हामीले अनुमान गरेका छैनौं । परीक्षाको प्रतिक्षामा रहेका १० लाख विद्यार्थीमध्ये अधिकतर विद्यार्थीहरुलाई सम्बन्धित विषय शिक्षक, विद्यालय तथा सरोकारवालाहरुले केही शैक्षिक खुराक दिन सक्नेगरी अनलाइन, अफलाइन कक्षा पस्कने, काम विद्यार्थीलाई विषय शिक्षकको सम्म्पर्कमा राख्ने उद्देश्यले केही काम भइरहेका छन् ।

परीक्षा हुन्छ, परीक्षाको तयारीेमा रहनुपर्छ भनी व्यस्त रहनुभएका हाम्रा विद्यार्थी भाइबहिनीहरुको सम्वेदनशीलतालाई ख्यालै नगरी परीक्षाको विकल्पका नाममा नानाथरीका प्रचार गरी परीक्षार्थीको मस्तिष्क खल्बल्याउने काम जानेर नजानेर यो वा त्यो कोणबाट भइरहेका छन् । त्यस्तो नहोस्, तथापि स्थिति थप भयावह भएमा परीक्षा स्वास्थ्य सुरक्षा भन्दा प्रमुख कदापि हुनेछैन र त्यो स्थितिमा विकल्पको खोजी गरिनु समय सान्दर्भिंक होला । तर, अहिले नै यो वा त्यो सम्भावनाको खोजी गर्दै परीक्षाको विकल्प खोजिनु अधिकांश परीक्षार्थीलाई प्रिय लागेको नहुन सक्छ ।

परीक्षो, नतिजा र प्रमाणपत्रको आ–आफ्नै महत्व र गरिमा छ । आफूलाई अब्बल बनाउने मापन हो प्रमाण पत्र । सबैले आ–आफूलाई समाज र दुनियाँमा अब्बल प्रमाणित गर्न स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट खरो उत्रिन पाउनु नैसर्गिक अधिकार हो । ‘म त सात साले सबै पासको एस्एलसी’ भनी कुनै हजुरबाले गफ गरिरहँदा वहाँको हातमा थमाईएको प्रमाण पत्रको पीडालाई कस्ले अनुभुत गर्ने ? ‘हजुरबुबाले घिउ खाएको हात अहिले हामीले सुङ्ने भने झै यस बर्ष हाम्रा पन्ध्र लाख विद्यार्थीले परीक्षा नदिँदा हामी त कोरोना व्याच, डेक्स बेञ्च सबै पास भनी प्रमाणपत्र बोकेर अहिलेको दुनियाँमा डुल्दा भविष्यमा पर्ने पीडालाई अहिले नै अनुभूत गर्ने कि नगर्ने ?

आफूले पाएको प्रमाण पत्र देश र दुनियाँमा देखाउन लाज मान्नुपर्ने अवस्था सिर्जना गरियो भने त्यसको जिम्मेवारी कसले लिने ? कामना गराैं, यस्तो अवस्था नआओस् । उपयुक्त समय, पर्याप्त सुरक्षाको ब्यवस्था र मर्यादित तवरले अनुकुल समयमा परीक्षा सञ्चालन गराैं। परीक्षार्थीलाई न्याय गराैं । परीक्षाको विश्वव्यापी मान्यतालाई कायम राखाैं ।

परीक्षालाई समय सापेक्ष कसरी चुस्त, मर्यादित र विश्वसनीय बनाउन सकिन्छ त्यसतर्फ सोचौं । काम गरौं । कुनै पनि तहको शैक्षिक सत्र र बर्ष नबिथोलिने गरी कामलाई व्यवस्थित गरौ । हामीले चैतको प्रारम्भमा लिएको परीक्षाको परीक्षाफल जेष्ठको मध्यमा प्रकाशित गर्ने र उपल्लो शैक्षिक सत्र श्रावणमा सुरु गर्ने गरी आएको परम्परालाई अहिलेदेखि नै तोडाैं । यो उपयुक्त समय हो । कसरी चुस्त र दुरुस्त गरी काम गर्न सकिन्छ । यो अवसर हो । यस अवसरलाई सही ढंगले पस्कन सक्यौं भने अनुत्पादक तरिकाले लाखाैं विद्यार्थीको खेर गइरहेको समयलाई न्याय हुन सक्ला ।

शिक्षा क्षेत्रको सुधारको प्ररम्भ बिन्दू नै यही हो । तर, अहिलेको हाम्रा कार्य शैलीले अझ पनि हामीमा चेत आएन भने शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने हजाराैं मुद्दा हाम्रा तीन पुस्तामा पनि सम्भव हुँदैन ।

एउटै तह, विद्यालय तहको कक्षा १० को शैक्षिक सत्र वैशाख, कक्षा ११ को श्रावण र कक्षा १२ को असारमा सञ्चालन हुँदै आएको अहिलेको परिपाटीलाई कहिले हो सुधार्ने ? यी तीन कक्षाहरुको नतिजा तयारी (विद्यार्थीहरुका लागि नतिजा पर्खाइको अनुत्पादक र खेर गएको समय) अत्यासलाग्दो समय के हाम्रै कार्यशैलीको परिणाम होइन र ?

नतिजा प्रकाशनका लागि केही अनिवार्य समय खर्चनु पर्ला । तर, नतिजा प्रकाशनले अनावश्यक समय लिएको छैन र ? नतिजा पर्खिरहेका विद्यार्थीहरुलाई नतिजा अगावै उपल्लो कक्षामा प्रवेश गर्ने अधिकार वा वातावरण बनाउन सकिँदैन र ? यस्तो प्रावधान देशमै र संसारका कैयाैं देशहरुमा नभएको पनि त हाेइन ।

कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षाअन्तर्गत रहेको वर्तमान व्यवस्थामा कक्षा १० माध्यमिक तहको शुरुवाती र अन्तिम कक्षा दुवै होइन । तर, पनि हाम्रो समाजमा हालसम्म विगतमा भन्ने गरिएको एसएलसी र हालको एसईईको नतिजालाई नै उपल्लो डिग्री ठान्ने ठूलै हिस्सा छ । गरिब तथा विपन्न परिवारका साथै विविध कारणले औपचारिक शिक्षालाई यो तहभन्दा अगाडि लैजान नसक्नेहरुका लागि लागि यो परीक्षा नै अन्तिम परीक्षा रही आएको छ ।

एकातिर हालसम्म पनि यही प्रमाण पत्र बोकेर भविष्य सुनिश्चित बनाउन हजाराैं युवाहरु बजारमा भौतारिरहेका हुन्छन् भने अर्कोतर्फ यही ग्रेड सीट बोकेर देश र बिदेशमा उच्च शिक्षा अध्ययनका लागि हज्जारौं विद्यार्थी दौडिरहेका हुन्छन् । यस्तो अवस्थामा ‘कोरोना व्याच, डेक्स बेञ्च सबै पास’ भइदियो भने सरकारी लालमोहरधारी प्रमाणपत्रको गाइजात्रा नहोला र ?

यसर्थ, हालको संकट शिक्षा क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा थोर बहुत पर्ने नै छ । तर, शिक्षा क्षेत्र अस्तव्यस्त भयो भन्ने हौवा पिटाएर मर्यादित परीक्षाको साख गिराउनु कदापि हुँदैन । बरु कार्यशैली परिवर्तन गर्नु आवश्यक छ । यसले समग्रतामा पढाइ र सिकाइ उपलव्धीमा सकारात्मक प्रभाव पार्दै परीक्षाको गरिमा र प्रमाण पत्रको ओझलाई अझ कायम राख्ने छ ।

(सापकोटा निजी विद्यालयहरुको संगठन एन प्याब्सनका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?