Comments Add Comment

जीवन जिउने शैलीमा पुनर्विचार

ऋषिमुनिका उपदेश बिर्सेर सिसीमुुनि फस्यौं

‘कोरोना भाइरसको महामारी सकिएपछि यसले भत्काएको विश्वलाई पुनर्निर्माण गर्दैगर्दा प्रत्येक व्यक्तिको हातमा एक अन्तिम मौका बाँकी रहनेछ । त्यो हो–‘पहिलेकै जस्तो रातदिन धपेडीमा जिन्दगी जिउनु एउटा ठूलो भूल रहेछ भन्ने गल्तीबोध ।’

यो कथन हो अमेरिकी वैज्ञानिक तथा लेखक एलान लाइटमेनको । यो कथन सुन्दा हरेकलाई लाग्छ कि यो मेरै लागि भनिएको हो । एकपटक होइन, यो कथनमाथि अनेकौंपटक पुनर्विचार गर्नु पर्ने बेला हो यो । वास्तवमा म, तपाईं र हामीमध्ये अधिकांशले अवलम्बन गरेको त्रुटिपूर्ण जीवनशैलीमाथि एकपटक फेरि गहिरिएर आत्मचिन्तन गर्ने समय यही हो ।

जिन्दगी यतिखेर पहिलेको भन्दा भिन्न किसिमको दिनचर्यामा बाँधिएको छ । पहिले तन र मन दुवै भागदौडमा हुन्थ्यो । अहिले हाम्रो तन सीमित घेराभित्र बन्द छ । तर, मन पहिलेभन्दा अझ बढी भागदौडमा छ ।

मनको भागदौड यतिखेर विगतको भन्दा पृथक किसिमको छ । पहिले हाम्रो मन जिन्दगी र स्वास्थ्यको मूल्यलाई खासै वास्ता नगरी बाहिरी गोरखधन्दामा केन्द्रित भई बढी भागदौड गथ्र्याे । समयचक्रले यतिखेर हर व्यक्तिलाई जिन्दगी र स्वास्थ्यको मूल्यबारे सोच्न बाध्य बनाएको छ । जसरी हुन्छ बाँच्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छ, यतिखेर हाम्रो मन ।

भनिन्छ, कोरोना महामारी समयचक्रको एक महत्वपूर्ण कडी बनेर आएको छ । इतिहासकारले इतिहास लेख्दा कोरोनाअघिको युग र कोरोनापछिको युग भनी समयचक्रको विभाजन गर्नेछन् । यसले समयचक्रको गतिलाई मात्रै हेरफेर गरेको छैन । मानिसको जीवनचक्रमा पनि अकल्पनीय परिवर्तन ल्याइदिएको छ र अझै ल्याउनेवाला छ । प्रकृतिवादको सिद्धान्तलाई मान्ने हो भने यो महामारी मनुष्यको जीवनचर्या, व्यवहार र खानपानको शैलीलाई सुधार्ने अलार्म हो ।

जिन्दगीमाथि अन्याय कहिलेसम्म ?

मानव प्रकृति र संस्कृतिबीचको चेतनशील कडी हो । सबैलाई थाहा छ कि हामी मानव प्रकृतिबाट धेरै टाढियौं । क्षणिक सुखलाई सबैथोक मान्न थाल्यौं । जसले जिन्दगीलाई कृत्रिमताको जालोभित्र फसाउँदै लग्यो ।

मानव प्रकृतिको कृति हो । आफ्नो कृतिलाई हिफाजत गर्ने काम प्रकृति स्वयंले गर्छ । यसो गर्नु उसको नैसर्गिक विशेषता हो । यो मौन सत्यलाई बेवास्ता गर्दै मानव स्वयं नै जब प्रकृतिविरुद्ध विकृति फैलाउँछ, प्रकृतिको अनवरत दोहन गर्छ र आफ्नो रहनसहनलाई अप्राकृतिक बनाउन थाल्छ, त्यो प्रकृति मातालाई सह्य नहुँदो रहेछ । जसले यो कुरा बेलैमा मनन् गर्छ, ऊ प्रकृतिको कोपभाजनबाट बाँच्छ ।

२०७२ सालको महाभूकम्पका बेला हामीले प्रकृति मातालाई थोरै भए पनि सुन्ने र सम्झने प्रयास गरेका थियौं । तर, हामीभित्रको विवेक–दोष र स्वार्थी सोचका कारण त्यसलाई केही समयभित्रै बिर्सिदियौं । कोरोना महामारीका माध्यमद्वारा प्रकृतिले पुनः हामीलाई महाभूकम्पभन्दा बेग्लै किसिमको झट्का दिएको छ । यसर्थ, यो समय महामारीपीडितको पीडासँगै प्रकृति आमाको पुकार पनि सुन्ने बेला हो ।

विगत केही दशक पछाडि फर्केर हेरौं, प्रकृतिमाथि मात्रै होइन हामीले संस्कृतिमाथि पनि अन्धाधुन्द विकृति फैलायौं । आफ्नै मूल संस्कृति, संस्कार परम्परा, जीवनपद्धतिजस्ता कुरा हामीलाई पुरातन र नचाहिँदो लाग्न थाल्यो । भोग, ढोंग र रोगमुखीे पराई संस्कृतिमा हामी अन्धो भई रमाउन थाल्यौं । ऋषिमुनिका उपदेशभन्दा सिसीमुुनिका फेसनमा बढी तानियौं ।

ऋषिमुनिका आचरण र आविष्कारको तुलनामा सिसीमुुनिहरुको आचरण र आविष्कारतर्फ बढी लोभियौं । आयुर्वेदसम्मत जीवनपद्धति, अध्यात्मप्रेरित जीवनचर्या, यज्ञप्रधान कर्मशैली, प्राकृतिक आहारबिहार, निःसर्ग उपचार पद्धति, यी र यस्ता अनमोल धरोहरलाई हामीले ‘आउटडेटेड’ मानी अवहेलना गर्‍यौं । जबकि समृद्ध र सभ्य मानिएको पश्चिमी समाज अहिले यी कुराको पछाडि व्याकुल भई दौडिरहेको छ । समयले कोल्टे फेर्दै जाँदा, वर्तमान महामारीले यी धरोहरको अपरिहार्यता र वैज्ञानिकता झनै उँचो बनाइदिएको छ ।

जानेर होस् या नजानेर प्रकृति र संस्कृतिमाथि तपाईं हामीबाट भएका अवमूल्यनको आत्मलोचना गर्ने यही उपयुक्त मौका हो । लकडाउनमा एक्लिएर बसेको मौकाको सदुपयोग गर्दै जिन्दगी जिउने शैली र बाँच्ने तरिकामा बारम्बार मनन नगर्ने हो भने भोलिको जिन्दगी झन् कठिन बन्ने तथ्यलाई नकार्न सकिँदैन ।

थोरै मात्र दूरदृष्टि राखेर सोच्ने हो भने जीवनशैली, खानपान र जिउने तरिकामाथि पुनर्मूल्यांकन गर्ने काम अहिलेको भाइरस भयभन्दा पनि महत्वपूर्ण छ । रहस्यमयी प्रकृतिको चक्रव्यूहमा बेलाबेला यस किसिमका हेरफेर मानिसलाई आत्मसुधार गर्ने अवसर हो ।

महामारीले उब्जाएको पीडालाई एकछिनका लागि बिर्सने हो भने वर्तमान महामारी हामीलाई जिन्दगी जिउने परिस्कृत शैलीको शिक्षण दिन आएको हुनुपर्छ । प्रकृतिको आवाज सुन्ने व्यक्ति सदा सुखी रहन्छ । प्रकृतिको नियम मान्न जान्ने व्यक्ति सर्वदा स्वस्थ रहन्छ । ‘प्रकृति शरीर स्वरुपम्’ अर्थात् शरीरकै अर्को रुप प्रकृति हो । प्रकृतिको पुकार नसुनिकन आफ्नै मर्जीमा जिउनेलाई प्रकृतिको सिकाउने तरिका विचित्रको हुन्छ, जुन यो कोरोना कालमा देख्न बाध्य छौं हामी ।

जिन्दगी आधुनिक, जीवनशैली प्राकृतिक

सबैले र सधैका लागि स्मरण राख्नैपर्ने तथ्य यो हो कि प्रकृति नै सबैभन्दा ठूलो डाक्टर हो । प्रकृति नै सबैभन्दा ठूलो उद्धारक पनि हो, संरक्षक पनि हो । यो कुरा हामीले अस्तव्यस्त स्वार्थग्रस्त जीवनशैलीको दबाबमा बिर्सिसकेका थियौं । अहिले आएर पुनः स्मरण हुँदैछ कि प्रकृतिले चाह्यो भने मात्रै हामी रोगमुक्त, विपद्मुक्त र विषाद्(मनोविकार)मुक्त रहन सक्ने रहेछाैं ।

प्राकृतिक चिकित्साको सिद्धान्तले सदियौंदेखि भन्दै आएको थियो– कुनै बिमार या महामारी औषधिले होइन, जीवनीशक्तिले निको पार्छ । रोगबिमार निको पार्ने काम डाक्टरको होइन । डाक्टरले केवल निको हुने तरिका बताइदिन्छ ।

संसारको सर्वोत्कृष्ट औषधि प्रकृतिको नैसर्गिक शक्ति हो । त्यही शक्ति मानव शरीरमा इम्युनिटी अर्थात् रोग प्रतिरोधी क्षमताको नामले चिनिन्छ । तर, हामीले यो सत्यलाई सुनिरहेका थिएनौं । हामीलाई लाग्थ्यो कि हातमा धनसम्पत्ति भए सबैथोक पाइन्छ । हामीमध्ये अधिकांशसँग योग, ध्यान, प्राणायाम, खानपान, आरोग्य, सुखशान्तिको स्वभाविक स्रोतबारे सोच्ने फुर्सद थिएन ।

हामीलाई लाग्थ्यो यी कुरा अवकाशपछि बुढेसकालमा गर्ने कुरा हुन् । हाम्रो मानसिकतामा गडिएर बसेको यो भ्रान्तिलाई वर्तमान महामारीले साँच्चिकै भत्काइदिएको छ ।

प्राकृतिक नियमअनुरुप जीवनशैली ढालेर बाँच्ने व्यक्तिको जीवनशक्ति सदैव उच्च हुन्छ । न्यानो घाम, ताजा हावा, धर्तीको उर्वर माटो, शुद्ध शीतल जल, वनजंगलका जडीबुटी, खुला आकाश तत्व आदिमा जे–जति रोगप्रतिरोधात्मक क्षमता हुन्छ । मान्छेले बनाएको कुनै पनि रासायनिक औषधिमा हुँदैन । अत्याधुनिकताको आडमा प्रकृतिको स्पर्शबाट टाढिनु यी निःशुल्क उपहारबाट वञ्चित हुनु हो । हातमा फोरजी र फाइभ जी इन्टरनेट सुविधा उपभोग गरेर बसिरहेका हामीहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने कुरा हो कि होइन ?

कृत्रिम सुखसुविधा केही दिनका लागि सुखद् लाग्छ । तर, त्यसले रोगसँग लड्ने क्षमता घटाइदिन्छ भन्ने तथ्य पनि कोरोना कहरले देखाएको छ । अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्सजस्ता विकसित भनिएका देशमा देखिएको वर्तमान परिदृश्यले यो सत्य उजागर गरिसकेको छ । भौतिक सुविधा, मेडिकल सुविधा, प्रविधिगत सुविधाका दृष्टिले यी देश समृद्ध मानिन्छन् । तर, भौतिक विकास मात्रै सबैथोक होइन रहेछ ।

भौतिक विकासका साथमा संस्कृति र जीवनशैलीको क्षेत्रमा उत्तिकै विकास चाहिने रहेछ । हाम्रो तुलनामा आज त्यहाँका मानिस कोरोना कहरले बढी पीडित र त्रसित छन् । यसबाट हामीले पुनर्विचार गर्नुपर्ने बिन्दु के हो भने प्रकृतिको नजिक रही जिन्दगी जिउँदा थप सबल, सुखी र आरोग्यवद्र्धक बन्ने प्रतिफल पाइँदोरहेछ ।

‘सौ दवा एक हवा’, यसको अर्थ हो एक शुद्ध हावा सय औषधि बराबर हुन्छ । एसी र पङ्खाको हावाभन्दा ताजा हावामा रमाउने साहस गरौं । निसर्गोपचारको सिद्धान्तले भन्छ– त्यही चिज खाऊ, जुन तिम्रा लागि प्रकृतिले पÞmलाइदिएको छ । उम्रिएको खाऊ, जन्मिएको नखाऊ किनकि मानव भएको नाताले तिमी शाकाहारी हौ । क्षणिक स्वाद र सुख नाममा प्राकृतिक नियमको उल्लङ्घन नगर ।

यतिखेर अस्पतालले कोभिड–१९का बिरामीको उपचारभन्दा पनि संक्रमण सर्न र बल्झिन नदिने पुराना उपायको प्रयोग मात्रै गरिरहेका छन् । महामारी चाँडो थामियोस् भनेर प्रार्थना गर्नेबाहेक चाल्न सकिने अन्य कदम आजको दिनसम्म कसैसँग छैन । यसरी अत्याधुनिक सुखसुविधाले सम्पन्न आधुनिक अस्पतालहरूको सामथ्र्यलाई पनि यो महामारीले झस्काइदिएको छ ।

स्मरण रहोस्, मेडिकल आविष्कार र आधुनिक औषधिमूलोको खोज महत्वपूर्ण पाटो हो । तर त्योभन्दा पनि महत्वपूर्ण पाटो हो जिन्दगी जिउने शैली र तरिकामा विवेकसम्मत सुधार । जिन्दगी आधुनिक, जीवनशैली प्राकृतिक, यो मान्यताअनुसार चल्नु नै भविष्यमा आउन सक्ने यस्ता महामारी र विपद्बाट बच्ने सर्वश्रेष्ठ उपाय हो ।

पुनर्विचार गरिनुपर्ने थप बिन्दु

गाउँठाउँको जीवनशैली नै उपयोगी जिउने तरिका रहेछ र अरू सबै आजीविकाभन्दा खेतीकिसानी नै सर्वश्रेष्ठ पेसा रहेछ भन्ने यथार्थ यो महामारीले महसुस गराइदिएको छ । तसर्थ, हाम्रा नयाँ पुस्तालाई वैज्ञानिक खेती किसानीप्रति आकर्षित गर्न नितान्त आवश्यक छ ।

महँगो र नवीनतम उच्चशिक्षा महत्वपूर्ण छ । तर, त्योभन्दा पनि महत्वपूर्ण जीवन जिउने कला जान्नु हो । जीवन जिउने कला नै हर परिस्थितिसँग तालमेल राखी सन्तुलित भएर बाँच्ने कला हो । मानसिक तनाव र चिन्ता घटाउने कला हो । समग्र स्वास्थ्यप्राप्तिको कला अनि हाँस्न र बाँच्न सिकाउने कला हो । यो वास्तविकतालाई बोध गर्दै यी विद्यालाई शिक्षण पद्धतिमा समावेश गर्ने बेला यही हो ।

आफ्नो डाक्टर आफू स्वयं हो । सर्वाधिक शक्तिशाली औषधि स्वयंको जीवनीशक्ति हो । संसारकै सर्वश्रेष्ठ अस्पताल स्वयंको घरपरिवार हो। शारीरिक स्वास्थ्यभन्दा पनि महत्वपूर्ण व्यक्तिको मानसिक एवं आत्मिक स्वास्थ्य हो । यी कुरा यतिखेर सबैजसोलाई आत्मबोध भइरहेको हुनुपर्छ ।

सनातन संस्कृतिमा आधारित पूर्वीय जीवनपद्धति संसारकै सर्वोत्कृष्ट जीवन पद्धति हो । ‘सा प्रथमा संस्कृतिर्विश्ववारा’ अर्थात् हाम्रो संस्कृति सृष्टिकै प्रथम संस्कृति भएकाले यो सबैका लागि हितकारी छ । सारा जगत आज पूर्वीय संस्कृतितर्फ आकर्षित छ । हामी स्वयं किन नहुने ?

पूर्वीय संस्कृतिका क्रियाविधिहरु जस्तो कि नमस्कार गर्ने चलन, स्नान, शौच र सफाइको शैली, प्रकृतिलाई सेवा उपासना गर्ने परम्परा, ताजा र अमृत भोजन गर्ने प्रचलन, जुठो सुतकमा एकान्त बासको प्रचलन, मृत्युपछिको अग्नि संस्कार, योगमय जीवनचर्या, आत्मनुशासित आचार–विचार, ज्ञान एवं सत्संगयुक्त दैनिकी यी कुरा कति वैज्ञानिक र उपयोगी रहेछ भन्ने वर्तमान परिवेशले सावित गरेको छ । यस किसिमको अनमोल स्व–संस्कृतिलाई भुलेर अझै मूलमा भूल गरिरहने ?

स्वास्थ्य, सुखशान्ति, घरपरिवार, नातासम्बन्ध, धर्मकर्म जस्ता कर्मकर्तव्यलाई बन्धकी राखेर रातदिन अस्तव्यस्त भई गोरखधन्दामा दौड्नु जीवनप्रति ठूलो अन्याय रहेछ भन्ने बोध यतिखेर हामी सबैलाई भइरहेको हुनुपर्छ । यहाँनेर के पुनर्विचार गर्न जरुरी छ भने जिन्दगीको केन्द्रविन्दु स्वयम् जिन्दगी हो । स्वास्थ्य, सुख–शान्ति र घरपरिवार जिन्दगीको सर्वोपरी लक्ष्य हुनुपर्छ । पेट भर्ने र हिँडडुल गर्ने काम त पशुपन्छीले पनि गरेका छन् । मानव भएको नाताले कम्तीमा विवेकशील भई पाएको जिन्दगी शानदार तरिकाले जिउनुमा आखिर के हानि छ ? यही त हो मनुष्यताको परिभाषा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment