
५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।
अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?
उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्युयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्युयोर्कका सब-वे र ट्रेनहरूमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।
उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।
प्रतिक्रिया 4