Comments Add Comment

लकडाउनको सदुपयोग : छतभरी हराभरा सागसब्जी र ढकमक्क फूल

लकडाउन भएपछि घरभित्रै के गर्दै बस्ने, कसरी समय कटाउने भनेर सोचेका भए तनावग्रस्त भइन्थ्यो होला । तर, केही न केही नयाँ काम गर्दै बस्दा कुनै पनि दिन पट्यारलाग्दो भएन । लकडाउन सुरु भएसँगै सागसब्जी रोप्ने, फूलहरु रोप्ने काम गरियो । एक महिनाभन्दा लामो अवधीमा आफैले रोपेका फूलहरु छत र बार्दलीभरी फुलेका छन् । सागसब्जीले हराभरा भएको छ । कहिले मल र माटो तयार गर्ने, कहिले गोडमेल गर्ने, कहिले सिंचाई गर्ने काममै तल्लिन भइयो । अहिले आफैले रोपेको सागसब्जी लहलह भएको देख्दा मन पनि पो हराभरा हुन्छ ।

गाउँघरमा त लकडाउनले पनि खास असर गर्दैन । गाउँमा मान्छेको चहलपहल नहुने भएकाले आफ्नो घर वा खेतबारीमा निर्धक्क काम गर्न सक्छन् । त्यसैले गाउँघरको जीवनशैली अहिले पनि उस्तै छ, जुन लकडाउन अघि थियो । तर, शहरभित्र त्यस्तो अनुकुलता हुँदैन । न घर बाहिर निस्कदा सुरक्षित हुन्छ, न खेतीबाली गर्ने मेलोमेसो नै । जग्गा–जमिन भए पो खेतीबाली गर्नु ?

तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै इच्छा र जाँगर मात्र हुनुपर्छ, आफ्नो काम गर्न कुनैपनि कुरा बाधक बन्दैन । शहरमा बस्नेहरुसँग जग्गा जमिन नभएर के भो त ? घरको छत हुन्छ । वार्दली हुन्छ । घरमा अरु पनि यस्ता खुला ठाउँहरु हुन्छ, जहाँ सागसब्जी रोप्न सकिन्छ ।

खासगरी शहर–बजारमा बस्नेहरुले आफ्नो छतको भरपुर सदुपयोग गर्न सक्छन् । यसबाट मैले प्रत्यक्ष केही फाइदा मिल्ने अनुभव गरें ।

१. त्यसै खेरो गइरहेको वा खासै प्रयोगमा नआउने घरको खाली भागको सदुपयोग हुन्छ । अर्थात आफ्नो घरलाई पनि उत्पादनशिल बनाउन सकियो ।

२. आफु र घरका परिवार मिलेर काम गर्दा रमाइलो हुन्छ । तनाव, चिन्ता हट्छ ।

३. बालबच्चाहरु मोवाइल, टिभी आदिबाट मुक्त हुन्छन् । उनीहरुले जीवनोपयोगी कुरा सिक्न पाउँछन् ।

४. बालबच्चाले सागपात, फलफूलको बारेमा अनुभव प्रप्त गर्न सक्छन् । माटो, मल, पानीको बारेमा व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् ।

५. आफ्नै हातले उत्पादन गरेको ताजा सागसब्जी खान पाइन्छ ।

६. भान्साको व्यायभार घट्छ । अहिलेको अवस्थामा घर बाहिर किनेर खानु भन्दा आफ्नै घरको उत्पादन खानु आर्थिक र स्वास्थ्यको हिसाबले उपयुक्त हुन्छ ।

७. जैविक खानेकुरा खान पाइन्छ ।

त्यसो त जब घरको छतभरी सागसब्जी, फलफूल ढकमक्क हुन्छ, तपाईंले खुसी हुने बाहाना पनि पाउनुहुन्छ । छतको फूलबारी र करेसाबारीमा व्यस्त भएर बोटबिरुवा, माटो, पानीसँग खेल्दा निकै रमाइलो हुन्छ । आफ्नो हातले रोपेको फूलहरु ढकमक्क फुलिदिदा, सागसब्जीहरु हराभरा भइदिदा मनमा अरु स्फूर्ति जाग्छ । न कोरोनाको पिर, न एक्लो भएकोमा पिर, न घरभित्रै बस्नुपरेकोमा पिर । सबैकुरा भुलिन्छ ।

रमाइलो त के भएको छ भने अहिले सागसब्जी रोप्ने खास सिजन पनि हो । त्यसैगरी फूलहरु रोप्ने र फुलाउने अनुकुल समय पनि हो । यतिबेला थरीथरीका फूलहरु रोप्न सकिन्छ । त्यसैगरी छतमा सागसब्जी रोप्ने हो भने त्यसले हाम्रो भान्साको धेरैजसो खाँचो टार्न सक्छ । हामीसँग भएका पुरानो बाल्टिन, चामलको बोरा आदिमा माटो भरेर सागसब्जी रोप्न सकिन्छ । अहिलेको सिजनमा धनिया, पुदिना जस्ता दिनहुँ चाहिने र चाडै उम्रने कुराहरु रोप्न सकिन्छ । त्यसैगरी खुर्सानी, गोलभेडा, भिन्डी, कांक्रा, सिमी, फर्सी आदि गमलामा नै रोपेर खान सकिन्छ ।

कसरी तयार गर्ने गमला ?

सुरुमा माटोको व्यवस्था गर्नुप¥यो । माटोको अनुपातमा तीन भाग कम्पोष्ट मल र दुई भाग बलौटे माटो राम्ररी मिलाउने । गमलाको पिँधमा पानी जम्न नदिनका लागि सानो प्वाल बनाउनुपर्छ । त्यसैगरी गमलाको पिँधमा केही मसिना ढुंगा वा गिटी राख्नुपर्छ । अब मल र बालुवासँग मिसाइएको माटोलाई गमलामा भर्ने । यसरी माटो भर्दा गमलाको माथिल्लो भाग थोरै छाड्नुपर्छ । ध्यान राख्नुपर्ने अर्को कुरा भनेको माटोलाई थिचेर कसिलो बनाउनु हुँदैन । खुकुलो छाड्नुपर्छ । यसले गर्दा बिरुवाको जरा राम्ररी फैलन सक्छ र सिंचाई पनि राम्ररी हुन्छ ।

यसरी बिरुवा लगाइसकेपछि गमलालाई अलि आझेलमा राख्नुपर्छ । चर्को घाममा राख्नु हुँदैन । नियमित जसो सिंचाई गर्नुपर्छ । सिंचाई गर्दा स्प्रेबाट पानी लगाउनु राम्रो हुन्छ । बिरुवा हुर्किएर फूल फूल्ने बेला भएपछि तोरीको पिना, गाइको आलो गोबर मल लगाउनुपर्छ । यसका लागि पिना र मललाई एउटा भाँडामा राखेर दिनभर पानीमा भिजाउनुपर्छ । राम्ररी घोल भएपछि त्यसमा पानी थपेर पातलो बनाउने अनि फूलका बोटहरुमा राख्नुपर्छ । यसले गर्दा फूलहरु राम्ररी फुल्नेछ । सागसब्जी राम्ररी सप्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment