Comments Add Comment

चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

६ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन सकेन ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताएपनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment