Comments Add Comment

विदेशबाट नागरिक ल्याउन सातै प्रदेशमा ‘फोकल पर्सन’ तोकिए

मन्त्रिपरिषद्ले कार्यविधि बनाएपछि प्राथमिकता हेरेर स्वदेश भित्र्याइने

६ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार पार्नेछ ।

सरकारले विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशमा एक-एकजना संघीय सरकारका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन्। भारत बाहेक नै करिब ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वागमतिमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

कार्यविधि बनाएर क्याबिनेटमा पेस गरिने

सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्यविधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेश गरिने महिला बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।

भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्यविधि बनाइने भएको छ । त्यस्तै खाडीलगायत तेस्रो मुलुकबाट नेपालीलाई फर्काउँदा सम्बन्धित देशमा कोरोना संक्रमित नभएको कागजात पेश गर्नुपर्नेछ । संक्रमित व्यक्तिलाई सम्बन्धित देशले नै पठाउन मिल्दैन ।

अहिले आउन चाहने सबैलाई ल्याउन सम्भव नभएको प्रधानमन्त्रीले संसदमै बताइसकेका छन् । सरकारले सम्बन्धित देशका दूतावास र एजेन्सीहरूमार्फत लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका, अशक्त अवस्थामा पुगेका तथा अन्य समस्यामा परेकालाई पहिलो चरणमा उद्धार गर्ने भएको छ ।

उद्धार कुन विधिबाट गर्ने भन्ने निर्णय भइसकेको छैन । नेपाल एयरलाइन्सलगायत अन्य नेपालका बिमान कम्पनीले उद्धार गरेर ल्याउने एउटा विकल्प छ । अर्को विकल्प कतिपय देशले नेपालले चाहेको खण्डमा नेपाली नागरिकलाई आफैँले विमानबाट पठाउने अनौपचारिक प्रस्तावसमेत पठाएका छन् । यसमा पनि छलफल भइरहेको एक मन्त्रीले बताए ।

स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने गुरुङले बताए । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउनेलगायतका विषयमा कार्यविधि बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment