Comments Add Comment

‘उपयुक्त नहुने’ ठहर भएको काभ्रेमा फेरि विमानस्थलको योजना

६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुभन्दा एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सञ्चारकर्मीसँग भनेका थिए, ‘अब नेताको भनसुनका आधारमा होइन, सम्भाव्यताका आधारमा मात्र नयाँ एयरपोर्ट बन्छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार पारित भयो । जसमा सरकारले बनाएको मापदण्डसँग मेल नखाने विमानस्थल निर्माणको कार्यक्रम पनि समेटिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ,’काभ्रेपलान्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइनेछ ।’ जबकि नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक-पटक गरेको सम्भाव्यता अध्ययन र स्थलगत अवलोकनबाट काभ्रेमा विमानस्थल बनाउन उपयुक्त स्थान छैन भन्ने पुष्टि भएको छ ।

राजनीतिक लबिङका आधारमा बनाइन खोज्ने यस्ता विमानस्थलतर्फ संकेत गर्दै पर्यटनमन्त्री भट्टराईले भन्दै आएका छन्, ‘तोकिएका तीन वटा मापदण्ड पूरा हुने स्थानमा मात्र नयाँ एयरपोर्टका लागि योजना अगाडि बढ्छन् ।’ मन्त्रालयले विमानस्थल बनाउन तीन वटा मापदण्ड अनिवार्य गर्ने भनेको छ । मापदण्डअनुसार त यातायातको अन्य साधन नभएको, पर्यटकीय दृष्टिकोणबाट बनाउनैपर्ने अवस्था रहेको र व्यवसायिक दृष्टिकोणबाट चल्ने सम्भावना भएको स्थानमा नयाँ एयरपोर्टले मात्रै बजेट पाउनुपर्ने हो ।

काभ्रेको कुनैपनि स्थानमा बन्ने विमानस्थल माथिको तीन वटै मापदण्डभित्र नपर्ने प्राधिकरणले यसअघि गरेका सम्भाव्यता अध्ययनले देखाइसकेको छ । सरकारले काभ्रेमा त्रिभुवन विमानस्थलको विकल्पमा आन्तरिक विमानस्थल विस्तार गर्ने योजना यसपटक पनि समावेश गरेर आफ्नै मापदण्डको खिल्ली उडाएको छ ।

काभ्रेमा (१८सिट क्षमताका) टि्वनअटर जहाजभन्दा ठूला जहाज उड्न सक्ने विमानस्थल बनाउने खालको ठाउँ अहिलेसम्म भेटिएको छैन । काठमाडौंबाट टि्वनअटर बढी चल्ने गन्तव्य लुक्ला हो । त्यसलाई पनि रामेछाप विमानस्थलबाट विमानस्थलबाट सफलतापूर्वक व्यवसायिक उडान भइसकेका कारण स्वयं प्राधिकरणका उच्च अधिकारीहरू काभ्रेमा विमानस्थल आयोजना समेट्नुमा कुनै तर्क देख्दैनन् ।

प्राधिकरणका एक अधिकारी भन्छन्,’यस्ता आयोजनामा जबरजस्ती बजेट राख्नु बलुवामा पानी खन्याउनु हो । नेताहरूले राजनीति गर्न यस्ता सम्भव नभएका आयोजना नीति तथा कार्यक्रममै घुसाएर हामीमाथि दबाब बढाउँछन् ।’

राजनीतिक दबाब

यो आयोजना नीति तथा कार्यक्रम र बजेटमा परेको तीनपटक भयो । सरकारले पहिलोपटक काभ्रेमा विमानस्थल बनाउने आयोजनालाई आर्थिक वर्ष २०७५/७६ को बजेटमा राखेको थियो भने चालु आर्थिक वर्ष २०७६/७७ वर्षमा समेत राखिएको थियो । अब आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइएको छ ।

सरकारले दुई पटक यस आयोजनाका लागि मात्र २५/२५ करोड रुपैयाँ छुट्यायो । तर, यो रकम खर्च भने हुन सकेन। किनकि अहिलेसम्म काभ्रेको कहाँ विमानस्थल कहाँ बनाउने भन्ने नै तय भएको छैन ।

स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले काभ्रेमा विमानस्थल बनाउने लक्ष्यसहित मन्त्रालय, प्राधिकरण र विज्ञसहित काभ्रेका तीन वटा स्थलमा स्थलगत अध्ययन नै गरेका थिए । त्यसबेला उनलाई सहजीकरण गर्ने नेता थिए तत्कालीन सूचना तथा सञ्चारमन्त्री तथा सांसद गोकुल बास्कोटा ।

बास्कोटा जसरी पनि आफ्नो क्षेत्रमा विमानस्थल हुनुपर्छ भन्ने अडानमा छन् । उनको यो अडानलाई पर्यटन मन्त्रालयले यसपटक पनि खारेज गर्ने आँट भने गरेन । काभ्रेमा भन्दा प्राथमिक आयोजना निजगढमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हो भन्नेमा स्वयं मन्त्रालयका अधिकारीहरूको दुई मत छैन । तर, अझै पनि सरकारको रटान काभ्रेतिरै छ ।

संसदीय समितिको निर्देशन उपेक्षा
सरकारले मात्रै हैन, हवाई क्षेत्रका विज्ञ टोली र प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सूक्ष्म अध्ययन गरेको आयोजना हो काभ्रे विमानस्थल।

तर, दुवै सरोकारवालाले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको निष्कर्ष निकाल्दै सरकारलाई यो कार्यक्रम फिर्ता लिन निर्देशन दिइसकेका छन् । तर, सरकारले यस वर्ष पनि यो आयोजना दोहोर्‍याएर संसदीय समितिको निर्देशन नै लत्याएको छ ।

समितिले शक्तिशाली नेताले बल र पहुँचका आधारमा अनुपयुक्त स्थानमा जबर्जस्ती आयोजना थुपार्दा देशको ढुकुटीको दोहन भइरहेको भन्दै यो आयोजना बजेटमा नराख्न निर्देशन दिएको थियो।

समिति अन्तर्गतको उपसमितिले काभ्रेको नागीडाँडामा विमानस्थल नै आवश्यक नभएको ठहर गरेको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजकत्वको उपसमितिले सीमित व्यक्तिको फाइदाका लागि ठूलो धनराशी खर्चेर राज्यले एयरपोर्ट बनाउन नहुने निष्कर्ष निकालेको थियो ।

उपसमितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढ्ने समयमा काठमाडौं आसपास अर्को विमानस्थल बनाउन आवश्यक नहुने बताएको छ । प्रतिवेदन बुझाएपछि पूर्वप्रधानमन्त्री नेपालले अनावश्यक रुपमा राज्यको ढुकुटी दोहन गरेर काभ्रेको नागीडाँडामा विमानस्थल बनाउन नपर्ने बताएका थिए ।

सबै नेता र मन्त्रीलाई आफ्नो क्षेत्रमा विमानस्थल बनाउन हतारो देखिने गरेको भन्दै उनले आर्थिक तथा व्यवसायिक सम्भावना नहेरि बनाउन नहुने बताएका थिए । उनको उपसमितिले नागीडाँडामा सम्भाव्यता अध्ययन नै आवश्यक नभएको निष्कर्ष निकालेको थियो ।

काभ्रेमा बन्ने एयरपोर्टमा ठूला विमान अवतरण गर्न भने समस्या हुने संसदीय समितिको ठहर थियो ।

काठमाडौंबाट स्थलमार्गमार्फ लामो दुरीमा रहेकाले पनि यो विमानस्थलको आवश्कतामाथि प्रश्न उठ्दै आएको छ । त्रिभुवन विमानस्थलदेखि नागीडाँडा जमिनबाट करिब २४.६ किमी पर्छ भने नर्टिकल माइलका आधारमा करिब ८.६२ टाढा छ ।

नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकि ठूला विमानका लागि १५ सय मिटरससम्मको रन-वे आवश्यक पर्छ। यहाँ त्यति लामो रन-वे बनाउन सकिनेमा प्राविधिक रुपमा समस्या छ ।

हाल आन्तरिक उडानका लागि सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग एटीआर तथा यती एयरलाइन्ससँग जेटस्टि्रम र एटीआर जस्ता ठूला जहाज छन् ।

यी विमानले काभ्रेजस्ता स्थानमा बन्ने साना विमानस्थलमा उडान/अवतरण गर्न नसक्ने बताइन्छ । काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको १७ वर्ष नाघिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment