Comments Add Comment

पुलमा हिँड्दा सुरुवाल नसुर्कौं : प्रधानमन्त्री

विपी कोइरालाभन्दा राजा महेन्द्र एडभान्स ?

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत हुन् । उनी अध्यक्ष रहेको नेकपाले अहिलेसम्म राजा महेन्द्रलाई भन्दा वीपी कोइरालालाई प्रगतिशील एवं प्रजातान्त्रिक मान्दै आएको छ ।

तर, मंगलबार राष्ट्रियसभामा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वीपीभन्दा महेन्द्र ‘एडभान्स’ भएको विश्लेषण सुनाए ।

सांसदका प्रश्नको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका प्रधानमन्त्रीले बोल्दै जाँदा आफ्नो सम्वोधनलाई प्रशिक्षण ठाने र भने, ‘…मैले एकपटक भनेको थिएँ । यस्तै प्रशिक्षण कार्यक्रम चल्याथ्यो… ।’

विद्वतहरुको सभा मानिने राष्ट्रियसभामा प्रधानमन्त्रीले गरेको रोचक सम्वोधनको सम्पादित अंश–

वीपी र पुष्पलालका अवधारणा पुराना भए

वीपी कोइरालाले विकाससम्बन्धी एउटा अवधारणा अगाडि सार्नुभयो– एउटा सानो घर, एक हल गोरु, एउटा लैनो गाई, सानो बारी । त्यो परिकल्पना गर्नुभयो उहाँले । दूधभात खान पाउने परिवार, एक हल गोरु भएको परिवार । त्यतिमा नेपाललाई पुर्‍याउने । त्यसबेलाको एउटा कुरा थियो, विकाससम्बन्धी परिकल्पना वीपी कोइरालाले गर्नुभयो ।

महेन्द्रले अलिकति फरक परिकल्पना– आधारभुत आवश्यकता । खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्य प्राप्त गर्न पाउने गरीको जीवनस्तर हुनुपर्दछ भनेर पाँच आधारभूत आवश्यकताको अवधारणा महेन्द्रले ल्याए । त्यो पनि विकाससम्बन्धी नेपाली समाजमा रहेको अवधारणाको एउटा अलिकति एड्भान्स रुप हो ।

पहिले वीपीले आम जनताको बारेमा सोचेर त्यो ल्याए । पुष्पलालले त्योभन्दा धेरै व्यापक जनताको डेमोक्रेसीको सम्बन्धमा ल्याए । ती सबै अवधारणाहरु आज पुराना भए ।

त्यसकारण हामीले परिपूर्ण जनताको जीवनका सबै पक्ष र पछाडि परेको मान्छे अगाडि बढ्ने प्रतिव्यक्ति आय र जीडीपी नापेर देशको आर्थिक उन्नतिको हिसाब गर्ने होइन । ‘ह्याप्पिनेश इन्डेक्स’ जनताको खुसी, खुसीका मापदण्डहरु । अहिले एसडीजीले तिनै खुसीका मापदण्डहरुको कुरा गर्‍या  छ ।

माननीयजीहरु कुन पुराना डेमोक्रेटिक थ्यौरीहरु, परिभाषा, नागरिक शास्त्रका परिभाषाहरुमा अल्मलिनुभएको छ ? आज जमाना धेरै अगाडि बढिसक्यो । अबको जमाना भनेको– एसडीजी गोल हेर्नुस न ।

हामीले भनेका मान्यताहरु के हुन् भन्दा दीगो विकास लक्षले जे भनेको छ, कमसेकम त्यस बाटो भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा हो । शिक्षा, स्वास्थ्य, खानेपानी आदि लगायत । सबै क्षेत्रमा । जागिरको सम्मान आदि क्षेत्रमा । यी सबै क्षेत्रमा आज डेमोक्रेसी हेरिन्छ ।

डेमोक्रेसी वाक, प्रकाशन, विकास, मुभमेण्ट आदिमा मात्रै डेमोक्रेसी नापिँदैन । हरेक चिज, खानाको थालमा डेमोक्रेसी नापिन्छ, स्वस्थकर खाना छ कि छैन ? पौष्टिक खाना छ कि छैन ? आवश्यक मात्राको न्युट्रेसन छ कि छैन ? त्यसमा हेरिन्छ । खाना मात्रै भएर हुँदैन, उपयुक्त खाना हुनुपर्छ । लगाएको बस्त्रमा डेमोक्रेसी हेरिन्छ । फाटेको छ कि, ठिकै छ ।

जाडो छेक्ने छ कि छैन ? डोमोक्रेसी नापिँदाखेरि जाडो छेक्ने छ कि छैन ? त्यो कपडामा पनि नापिन्छ । अब जाडोमा ज्याकेट लगाउन पाउनुपर्छ । जाडोका बेला सिरक ओढेर सुत्नुपर्छ भन्दा कसको डेमोक्रेसी हुन्छ ? यो नेपाली डेमोक्रेसी भनेको । अरु डेमोक्रेसी काम छैन । त्योभन्दा उन्नतस्तरको डेमोक्रेसीको कुरा गर्‍या हो ।

त्यसकारण, यसमा कन्फ्युजन नराखौं । हाम्रो डेमोक्रेसी कम्प्रिहेन्सिभ त्यसैकारण भनेको मैले । कम्प्रिहेन्सिभ छ यो । पिपुल्स डेमोक्रेसी हो । त्यसकारण पिपुल्सको जीवनसँग सम्पूर्ण पक्षसँग यसले सरोकार राख्छ । सामाजिक न्याय र समानतासहित । राष्ट्रिय उत्पादन, वा उपलब्धी वा आम्दानी वा त्यसको समुचित हिस्सा उसले प्राप्त गर्नुपर्छ । त्यो न्यायसहितको हक अधिकारदेपिख लिएर सुरक्षा र सम्मानको जिन्दगी ।

अब यसमा बोल्न पाए पुगिहाल्यो भनेर अरु अधिकार किन चाहियो भनेर यो सबै अधिकार जनतालाई दिने कुरा कसरी हुन्छ भनेर किन हामी भड्किने ? भड्किनै पर्दैन । यो जनताको सरकार हो त्यसकारण यसले सडक बालबालिकालाई आवासमा पुर्‍याउँछ । गाँसमा पुर्‍याउँछ । बासमा पुर्याउँछ । शिक्षालयमा पुर्याउँछ । यो डेमोक्रेसी त्यो हो– जनताको डेमोक्रेसी, जनताको सरकार भन्या त्यो हो । त्यो हेरिन्छ ।’

हाम्रा संसदीय अभ्यास पनि दुनियाँका विभिन्न अभ्यास छन्, त्यो थोत्रा अभ्यास सिकेर हुँदैन । अर्थतन्त्रका सिद्धान्तहरु, अर्थतन्त्र सम्बन्धी कुराहरु, समाज सञ्चालन सम्बन्धी कुराहरु, राज्य सञ्चालन सम्बन्धी कुराहरु, सरकार सञ्चालन सम्बन्धी कुराहरु यसमा पनि हामी एकदमै ट्रान्जिसनल फेजमै छौं । हामीले नयाँ अवधारणाहरु नै अगाडि सार्नु जरुरी छ ।

कम्प्रिहेन्सिभ डेमोक्रेसी । जनताको डेमोक्रेसी । जनताका लागि डेमोक्रेसी । समाजवाद उन्मुख डेमोक्रेसी । जनताद्वारा, जनताका लागि, जनताको लोकतन्त्र । हामीले भन्दा अचम्म लाग्ने, त्यही कुरा अब्राहम लिंंकनले भन्दाखेरि चाहिँ गुरुमन्त्र हुने ? अब्राहम लिंंकनले त्यही कुरा भन्या छन् । त्यो उनले उहिल्यै भन्या छन् । डेमोक्रेसी जनताबाट हुनुपर्छ, जनताका लागि हुनुपर्छ, जनताबाट हुनुपर्छ । अब्राहम लिंंकनको काट्ने कोही छैन होला ।

हामीले एउटा अवधारणा, समाजवादउन्मुख अवधारणा, खाली पोलिटिकल डेमोक्रेसी मात्र होइन । यो राजनीतिक स्वतन्त्रताको मात्रै कुरा होइन, यो जनताका जीवनका हरेक पक्षसँग सम्बन्धित भएको डेमोक्रेसी भन्दा हामीलाई टाउको किन दुख्ने ?

मान्छेका छोराछोरी खान नपाएर, अविभावकविहीन भएर सडकमा मागेर हिँड्छ । अनि डेमोक्रेसी हेरेर बस्छ । त्यस्तो डेमोक्रेसी डेमोक्रेसी हुँदैन । राजनीतिक स्वतन्त्रता भनेर मात्र हुँदैन । त्यसकारण मैले डेमोक्रेसीको सम्बन्धमा भनेँ – त्यो बच्चालाई नदेख्नु, त्यसको बन्दोबस्त नगर्नु भनेको मानवीय सभ्यताको आजको समय अनुसारको अनुकुल भएन ।

त्यसकारण हामीले भनेको डेमोक्रेसीलाई सर्वोत्कृष्ट, कसैसँग मिल्दैन । नेहरुसँग पनि मिल्दैन, वीपीसँग पनि मिल्दैन, अरुसँग पनि मिल्दैन । यो अवधारणा विकास हुँदै आएको छ ।

पुलमा हिँड्दा किन सुरुवाल सुर्किने ?

डेमोक्रेसीलाई रिसेपिङ गर्न (पुनःआकार दिन) जरुरी छ । अर्थतन्त्रलाई रिसेपिङ गर्न जरुरी छ । हाम्रा गन्तव्यहरु, हाम्रा बाटाहरु, हाम्रा तरिकाहरु, तिनलाई आजको समय अनुसार गर्न जरुरी छ । र, सत्ताको भूमिका के, प्रतिपक्षको भूमिका के, यसलाई पनि रिसेपिङ गर्न जरुरी छ ।

पुराना मान्यता, पुराना चलन, पुराना कुरा, उही पुरानो । चार सय वर्ष अगाडि, तीन सय वर्ष अगाडि, पाँच सय वर्ष अगाडिका कुरा हामी हेर्छौं, उद्धरण गर्नपर्‍यो भने ।

आज विज्ञान र प्रविधिको नजिकको तत्कालको आर्टिसिफियल, इटेलिजेन्सको जमानामा हामी तीन सय वर्ष अगाडिको पुस्तकको कोड निकाल्छौं । सन्दर्भ सामाग्रीका रुपमा त काम गर्छ । तर, त्यो कोडले के गर्ने आज ?

शास्त्रहरुको अत्यन्त दुरुपयोग गर्छौं । त्यो शास्त्रलाई हामीले सन्दर्भ सामाग्रीको रुपमा होइन । मार्गदर्शकका रुपमा लिन्छौं, जो ३०० वर्ष पुरानो छ । आज आइटीको जमानाको होइन, उहिलेको जमानाको ।

मैले एकपटक भनेको थिएँ । यस्तै प्रशिक्षण कार्यक्रम चल्या थियो ।

उहिले एकजना विद्वान तरेको ठाउँमा सानो खोलो रहेछ । त्यसकारण जत्ता फुकालेछन् र घुँडाभन्दा माथिसम्म सुरुवाल तानेर तरेछन् ।

अनि सर्वसाधारणलाई काम लाग्छ भनेर ‘खोलो तर्दा जुत्ता फुकालेर, कपडामाथि सारेर तर्नू’ भनेर अनुभव लेखेर छोडिदिएछन् ।

त्यो त राम्रो कुरा हो । त्यो उपयोगी शास्त्र हो । खोलो तर्दाखेरि नत्र जुत्ता भिज्छ, सुरुवाल भिज्छ । त्यो हुन नदिनका लागि उनले लेखे ।

अलि पछाडि पुल बन्यो । शास्त्र पढेको एउटा विद्यान गएर, यसो शास्त्र सम्झियो । खोलो तर्दाखेरि जुत्ता फुकाल्नुपर्छ भन्याथ्यो । भनेपछि पुल बनेपछि पनि जुत्ता फुकाल्यो र पारि गएर लगायो । सुरुवाल पनि माथि सार्‍यो । त्यो त पर्ने थिएन ।

गाडी चल्यो । गाडी चलेपछि फेरि गाडीबाट हिँड्दैछ, यसो हेर्‍यो, खोलो आयो भनेपछि हत्त र पत्त जुत्ता फुकाल्यो । यसको के काम हुन्छ ?
त्यसकारण शास्त्रलाई सन्दर्भ अनुसार बुझ्न जरुरी छ हामीले ।

‘सामाजिक सञ्जालमा अश्लील कुरा लेख्या हुन्छ’

हाम्रो संस्कार संस्कृति कस्तो हो ? सांस्कृतिक अधोपतन । एक ढङ्गले सांस्कृतिक हिसावमा भन्ने हो भने – बोल्ने कस्तो ? के बोल्ने भन्ने पनि छैन । सामाजिक सञ्जालमा हेर्नुभयो भने हेर्न नसक्ने खालका कुराहरु, सुन्न नसक्नेखालका कुराहरु, पढ्न नसक्ने खालका कुराहरु । सँगै बसेर साथीसँग, परिवारसँग, कसैसँग पनि पढ्न नसकिने कुराहरु त्यस्तो मनपरी लेख्या हुन्छ । अश्लील कुराहरु लेख्या हुन्छ ।

हाम्रो संस्कार कस्तो भएर जान थाल्यो भने, मुख छाडेन भने धितै नमर्ने । अति असभ्य ढङ्गले बोलेपछि बल्ल अलिकति धित मरेजस्तो हुने । योखालको सांस्कृतिक अधोपतन ।

हाम्रो संस्कार, हाम्रो संस्कृति कस्तो थियो शास्त्रहरुमा हेर्न सक्छौं । हाम्रा शास्त्रहरुले भन्छन् । देवसभाहरुको चित्रण गर्‍या हुन्छ । देव सभाहरुमा बोल्दा कसरी बोल्छन् भने, सम्बोधन गर्नुपर्‍यो भने– हे ब्रह्माजी, तपाईं चर्तुमुखी हुनुहुन्छ । तपाईका आठवटा आखाँ छन् । चारैतिर देख्नुभाछ । सबै कुरा सुन्नुभएको छ । चार मुखले चारवटा कुरा एकैचोटी भन्न सक्नुहुन्छ, यस्तो महान हुनुहुन्छ । हुन त चार मुख कस्तो होला ! त्यो हेरिसक्नु होला र ? तर पनि अब प्रशंसै गरेको सुनिन्छ है कहीँ पनि ।

मेरो विचारमा चारतिर फर्किएका टाउका चारतिर फकिर्एका मुख भएपछि हेरिसक्नु त पक्कै नहोला । तैपनि, प्रशंसा गरेर त्यस्तो भन्ने चलन छ । तपाईं यति महान हुनुहुन्छ, यस्तो हुनुहुन्छ भनेर । यस्ता ब्रह्माजीलाई म प्रणाम गर्दछु, सम्मान गर्दछु भन्छ ।

त्यसपछि हे विष्णु, उनको प्रसंशा गर्दै सम्बोधन गर्न चाहन्छु, हे महादेव जट्टाधारी, त्यहाँ त थुप्रै कुराहरु होलान् नि । तर पनि प्रशंसा गरेको छ । यस्ता महान तपाईं हुनुहुन्छ भनेर । हे देवगण भन्दै त्यसरी सुरु गर्छ ।

हाम्रोमा तर्क बहस सुरु गर्नुपर्यो भने, तिमी ..(औंलो ठड्याउँदै) ..जंगिएर सुरु गर्छ मान्छेले । यो सांस्कृतिक अधोपतन हो । हामीले सांस्कृतिक पुनरुत्थान गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment