Comments Add Comment
कोरोना संक्रमित नर्सको अनुभव :

छोराले सोध्यो – ममीलाई कोरोना भएको हो ?

८ जेठ, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना नियन्त्रणका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्म संक्रमित हुन थालेका छन् ।

नेपालमा स्वास्थ्यकर्मीलाई पहिलो पटक कपिलवस्तुकी एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी ३६ वर्षीया नर्समा वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भयो ।

अस्पतालको सर्जिकल वार्डको आइसोलेसनमा रहेकी उनीसँग अनलाइनखबरकर्मी सुरेश विडारीले गरेको संक्षिप्त कुराकानीका क्रममा उनले दिएको प्रतिक्रिया :

रातिको ८ बजेतिर खाना खाने तयारी गर्दै थियौँ । बाबु (छोरा) सधैं खाना आफैँ खान्थ्यो । तर, त्यो दिन ममीले खुवाउनुपर्छ भन्न थाल्यो । उसलाई एक गास मात्रै के खुवाउन भ्याएको थिएँ। अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायको फोन आयो ।

फोन रिसिभ गर्दा उहाँले भन्नुयो, ‘तिमी आइसोलेसनमा बसिहाल ।’

किन र डा. सा’ब ?, मैले सोधेँ ।

उहाँले भन्नुभयो, ‘यस्तो समयमा किन आइसोलेसनमा बस्नु भन्छु होला ?’

मैले उहाँको आशय बुझिहालेँ ।

डा. सा’बको फोन श्रीमानलाई पनि दिएँ । श्रीमान र डा. सा’बबीच वार्तालाप चलिरहेको थियो । बाबु फेरि म भएको ठाउँमा आउन खोज्यो । मैले उसलाई मेरो नजिक नआऊ भनें । तर, उसले जिद्दी गरी रह्यो । श्रीमानले पनि ममी भएको ठाउँमा नजाऊ भनेर सम्झाउनुभयो ।

त्यसपछि छोराले सोध्यो, ‘ममीलाई कोरोना भएको छ हो ?’

उसको प्रश्नले हामी नाजवाफ भयौं । उसले कुरा बुझेछ, त्यसपछि मेरो नजिक आएन ।

श्रीमान पनि स्वास्थ्यकर्मी भएकाले सहज भयो । उहाँले मलाई सम्झाउनुभयो, ‘आत्तिनु पर्दैन ठिक भइहाल्छ, चिन्ता नलेऊ ।’

भोलिपल्ट अस्पतालको आइसोलेसनमा भर्ना भएँ । पहिलो दिन असहज नै भयो । तर, अहिले नर्मल नै छु । छिट्टै ठिक हुन्छु भन्ने आत्मविश्वास बढेको छ ।अस्पतालमा आफ्नो लागि आफैँ खाना-खाजा बनाउँछु । केही सामान चाहिएमा श्रीमानले अस्पतालका स्टाफमार्फत पठाइदिनुहुन्छ ।

मलाई सानैदेखि दूध मन नपर्ने, फलफूलमा पनि स्याउ मात्रै मनपर्थ्यो। तर, अहिले धेरै फलफूल खाने गरेको छु । तातो दूध पनि नियमित पिउने गरेको छु । बेसार राखेर तातोपानी खाइरहेको छु । शारीरिक व्यायाम पनि गरिरहेको छु।

कोरोनालाई जित्न यति त गर्नैपर्‍यो !

****

वीरगञ्जमा कोरोना संक्रमण फैलन सुरु भएपछि संक्रमितको उपचार गर्ने टिममा सक्रिय भएँ । अस्पतालले २/२ साताको सेड्युल बनाएको थियो । ड्युटी परेको समयमा उपचारमा संलग्न सबै जना अस्पतालले तोकेको क्वारेन्टाइनमा बस्नुपर्थ्यो।

ड्युटी सकेर आ-आफ्नो घर फर्किँदा कोरोना परीक्षण अनिवार्य थियो । म पनि घर जानुअघि परीक्षण गराएर गएको थिएँ । रिपोर्ट नेगेटिभ आएपछि वैशाख २० गते क्वार्टरमा फर्किएँ ।

तर, अस्पतालमा संक्रमित बढेसँगै कामको चाप बढिरहेको थियो । त्यसैले घर फर्किएपछि पनि तीनदिन जति अस्पताल गएँ । अस्पतालको इमर्जेन्सीमा आएर डाटा लिने र रिपोर्ट तयार पार्ने काममा सघाएँ ।

श्रीमानश्रीमती दुवै जना व्यस्त हुने र वीरगञ्जमा संक्रमित बढ्दै गएपछि छोरालाई कलैयामा फुपूकोमा राखेका थियौं । तर, म अस्पतालको ड्युटी सकेर लामो समय क्वार्टरमै आराम गर्न पाउने भएपछि बाबुलाई ल्याउने सल्लाह भयो ।

श्रीमानले रिकन्फर्मका लागि फेरि एकपटक परीक्षण गराउन भन्नुभयो । म भने संक्रमित भएको छैन भन्नेमा ढुक्क नै थिएँ । किनकि अस्पतालमा ड्युटी गर्दा सुरक्षा सतर्कता अपनाएकै थिएँ । त्यसैले फेरि परीक्षण गराउनुपर्छ जस्तो लागेको थिएन ।

बाबु ल्याउने भएपछि परीक्षण गराऔं न त भन्ने लाग्यो । वैशाख २८ गते अस्पताल गएर स्वाब दिएँ । रिपोर्ट आउन ढिलो भयो । रिपोर्ट नआउँदै बाबुलाई घरमा ल्याइसकेका थियौं । स्वाब दिएको चौथो दिनमा मेरो रिपोर्ट आयो । आफ्नो रिपोर्ट पोजेटिभ सुन्ने बित्तिकै पत्याउनै गाह्रो भयो । बाहिर कहीँ कतै गएकै थिइन । अस्पतालकै कम्पाउण्डभित्र दिन बित्थ्यो । क्वार्टरमा आएपछि भने त्यही तीन दिन आउजाउ गरेँ ।

तैपनि संक्रमित भएछु । कल्पना पनि नगरेको रोगबाट संक्रमित भएँ । कसरी संक्रमित भएँ होला भनेर सोच्दा-सोच्दा निदाउन सकिन ।

तर, भोलिपल्टदेखि भने सामान्य लाग्न थाल्यो ।

अस्पतालको आइसोलेसनमा बसेको आज ८ दिनभयो, अहिलेसम्म कुनै लक्षण देखिएको छैन र औषधिको नाममा भिटामिन बी कम्प्लेक्स, जिंक र भिटामिन सी खाएको छु । म एकदम ठिक छु । मेरो पुनः परीक्षणका लागि बुधबार स्वाब लिइसकेको छ, रिपोर्ट आउन बाँकी छ ।

मेरा श्रीमान र छोरा दुवै जनाको पहिलो पीसीआर परीक्षण नेगेटिभ आएको छ । यसले मलाई राहत मिलेको छ । कम्तीमा म इन्फेक्सन भएपनि श्रीमान र छोरा त सुरक्षित छन् । तर, उहाँहरूको पनि रिकन्फर्मका लागि फेरि परीक्षण गर्ने तयारी गरिरहेका छौं ।

र, अहिले क्वार्टरमै सेल्फ आइसोलेसनमा छन् ।

****

अस्पतालमा सुरुका दिनहरूमा संक्रमित केस आउँदा त ड्युटी नपरोस् जस्तो लाग्थ्यो । ड्युटीको पालो आउन थालेपछि डर लाग्थ्यो । आफ्नो ड्युटी आवरभित्र संक्रमित केस नआओस् भनेर भगवान पुकार्थेँ । ड्युटीमा खटिँदा डराईडराई काम गर्थें ।

नयाँ खालको रोग भएकाले डर लाग्नु स्वभाविक हो । तर, आफू संक्रमित भएपछि ममा भएका सबै डर हराएका छन् । छिट्टै सञ्चो हुन्छ जस्तो लागेको छ । कोरोना जित्ने ठूलो औजार भनेकै आत्मविश्वास हो, त्यो ममा विकास भएको छ ।

त्यसैले कोरोनालाई जितेर चाँडै काममा फर्किन र संक्रमितहरूलाई आफ्नो अनुभव बाँड्न चाहन्छु ।

कोरोना लाग्दैमा मृत्यु भइहाल्दैन । तर, यसका लागि संक्रमितले समयमा सही उपचार पाउनुपर्छ । आफू पनि सजग र सचेत हुनुपर्छ। नियमित पोषिलो खानेकुरा खानुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । आत्मबल बलियो बनाउन सक्यौं भने कोरोना हराउने मुख्य औजार नै त्यही हो ।

सधैं सकारात्मक सोच्नुपर्छ । समाजमा कोरोना संक्रमितलाई हेर्ने नजर पनि परिवर्तन गर्नु आवश्यक छ । समाजबाट अवहेलित हुने डरले संक्रमितहरूको आत्मबल घट्दै जान्छ ।

नकारात्मक सोच राखेमा संक्रमितहरू झन्-झन् विचलित हुन्छन्, आत्तिन्छन् । त्यसैले परिवार तथा समुदायबाट पनि संक्रमितको आत्मबल बढाउने काम गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment