Comments Add Comment

गुल्मीका शिक्षकलाई कोरोना पहाडबाट सर्‍यो कि तराईबाट ?

सिन्धुपाल्चोककी सुत्केरीको जस्तै संक्रमण स्रोत भेटिएन

८ जेठ, काठमाडौं । नेपालमा ४४४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसक्दा पनि कतिपय ठाउँमा देखिएको संक्रमणको स्रोत नै पत्ता लगाउन सरकारले सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक ट्रेसिङको जिम्मा लिए पनि केही ठाउँको संक्रमण स्रोत पत्ता लगाउन नसकिएको बताएको छ ।

यसैको पछिल्लो उदाहरण हो– सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु । त्यस्तै रुपन्देहीको मणिग्रामस्थित अस्पतालमा भर्ना भएका गुल्मी मदानेका शिक्षकमा पनि कोरोना संक्रमण पुष्टि भयो, तर संक्रमणको स्रोत पत्ता लाग्न सकेको छैन ।

निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो । कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा पनि उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

ट्राभल हिस्ट्री गुल्मीदेखि अर्घाखाँची हुँदै रुपन्देहीसम्म

लकडाउनका कारण विद्यालय पनि बन्द भएकाले गाउँमै बसिरहेका शिक्षकमा कसरी कोरोना संक्रमण भयो भनेर गाउँवासी अचम्ममा परेका छन् ।

‘आफ्नो टोलबाट बाहिर कतै जानुभएको थिएन, भारततिरबाट आएकासँग पनि भेटघाट–सम्पर्क भएको थाहा छैन’ संक्रमित शिक्षकका भाइ भन्छन्, ‘दाइलाई कोरोना देखियो भन्दा अचम्म लागेको छ ।’

रुपन्देहीको बुटवल क्षेत्रमै प्रादेशिक अस्पताल हुँदाहुँदै देहातको क्रिमसन अस्पतालमै उनलाई किन लगियो भन्ने प्रश्न एकातिर उठेको छ । त्यो भन्दा अर्को महत्वपूर्ण प्रश्न चाहिँ उनमा कोरोना भाइरस कहाँ र कोबाट सर्‍यो भन्ने अझै पत्ता लागिसकेको छैन ।

क्रिमसनमा भर्ना हुनुभन्दा एकहप्ता पहिले उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा चेकजाँच गराएका थिए । त्यहाँ उनलाई स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधी दिएका थिए । भुसाल मदाने गाउँपालिका अन्तर्गतको म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हुन् ।

औषधि खाएपछि उनलाई दुई दिन जति ठीक भएको थियो । तर, बैसाख ३० गते रातिदेखि वान्ता भएपछि जेठ १ गते फेरि सोही क्लिनिकमा जाँदा जण्डिस भएको भन्दै अन्यत्र लैजान रिफर गरिएको थिए ।

सोही दिन स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर उनलाई अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याएका थिए । त्यहाँका डाक्टरले चेकजाँच गरेपछि विरामीलाई मणिग्रामको क्रिमसन अस्पताल लैजान रिफर गरिएको थियो ।

बुटवलबाट सन्धिखर्क गएको एम्बुलेन्समा राखेर उनलाई जेठ १ गते नै क्रिमसन अस्पताल ल्याई आइसीयूमा राखेर उपचार थालिएको थियो । सन्धिखर्कबाट मणिग्रामसम्म एम्बुलेन्समा उनीसंग उनका सालासहित दुईजना र चालक थिए ।

दुई दिनसम्म आईसीयूमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा सारिएको थियो । कोरोना संक्रमण पुष्टि भएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको अस्पतालले जनाएको छ ।

यसैबीच, प्रदेश ५ का सामाजिक विकास मन्त्री शुदर्शन बरालले विहीबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना संक्रमित बिरामीको निधन भएको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment