
८ जेठ, काठमाडौँ । झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हाे ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा हिँड्डुल गर्न पाउँदैनन् ।’
उनका अनुसार, ज्ल्लिाका क्वारेन्टाइनमा राखिएकामध्ये १ सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकाे थियाे । तीमध्ये हालसम्म ३३ जना संक्रमित भेटिएका हुन् । संक्रमित सबै भारतबाट आएका व्यक्ति हुन् । सबैलाई सीमाबाट सीधै क्वरेन्टाइनमा लगिएकाले आत्तिनु पर्ने अवस्था नभएको उनी बताउँछन् ।
‘नेपाल छिर्नेबित्तिकै क्वारेन्टाइनमा राखिएकाले कन्ट्याक ट्रेसिङ पनि गरिरहनु परेन,’ उनले अनलाइनखबरसँग भने, ‘समुदायमा नफैलिएकाले आत्तिनु पर्दैन । तर, सामाजिक दूरी कायम गर्ने विषयमा चाहिँ सचेत हुनुपर्छ ।’
प्रतिक्रिया 4