Comments Add Comment

नटवरलाल : जो चार वर्ष जेल बसे, जेलरलाई नै ठगे !

८ जेठ, काठमाडौं । प्रहरीकहाँ आइपुग्ने ठगीसम्बन्धी कसूरका उजुरीका धेरैजसो पीडित आम नागरिक हुन्छन् ।

तर महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले नयाँ ठगलाई समातेको छ, जसले प्रहरी जिल्ला अधिकारी, जेलर कसैलाई पनि छाडेनन् । उनी हुन् काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३, बालाजुका ४५ वर्षीय राजकुमार चापागाईं ।

उनका अनेक परिचय छन् । अवस्थाकाअनुसार भेष बदल्छन् । अनेक जुक्ति लगाएर सिंहदरबार पुग्छन्, मन्त्रालयहरु चाहर्छन् ।

कसैलाई आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँछन्, कसैलाई गृहमन्त्रीकै पिए भनिदिन्छन् ।

उनैले केन्द्रीय कारागार, सुन्धाराका जेलरलाई वैशाख पहिलो साता फोन गरेर केही व्यक्ति छुटाउन सिफारिस गरे । प्रजातन्त्र दिवसमा सरकारले निश्चिम मापदण्ड पूरा गर्ने कैदीलाई थुनामुक्त गर्छ । त्यही मौकामा उनले जेलरलाई एनसेलको नम्बरबाट फोन गरे र आफूलाई एक मन्त्रीको पीएका रुपमा परिचित गराए, प्रजातन्त्र दिवसमा छोड्न लागिएका कैदीहरुको सूचीमा राख्न भन्दै केही नाम पनि सिफारिस गरे ।

जेलरले पुनः त्यही नम्बरमा कल गर्दा स्वीच अफ थियो । ‘उहाँलाई शंका लागेर हामीलाई खबर गर्नु भयो’, काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘बुझ्दै जाँदा सिन्धुपाल्चोकका सीडीओलाई पनि त्यसैगरी ठगेको पायौं ।’

त्यसवेला पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो र अभद्र कसूरको मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको थियो । तर लकडाउनका कारण जघन्य अपराधबाहेकका घटनाका अभियुक्तलाई छाड्ने नीति लिइएका कारण उनी छुट्न सफल भए ।

लकडाउनमा पनि छाडेनन् ठगी

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार चापागाईँले लकडाउनका वेला सशस्त्र प्रहरीको डीएसपीका रुपमा परिचित गराउँदै ठगी गरिरहेको पाइएको छ ।

उनले विदेशबाट आएकी महिलालाई स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपूर्ण पदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगेको पाइएको थापा बताउँछन् । ‘बिहीबार खरिदारको नक्कली परिचय पत्र र नियुक्ति पत्र समेत बोकेर आएको अवस्थामा हामीले पक्राउ गरेका छौं’, थापाले अनलाइनखबरसँग भने, ‘पीडित सचेत हुनु भएकाले उनलाई रंगेहात समात्न सफल भयौं ।’

अहिले उनी फेरि काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् ।

बोगटीका अनुसार चापागाईंले दुई जना महिलालाई झुक्काएर पटकपटक गरी तीन लाख पाँच हजार रुपैयाँ लिइसकेका थिए ।

चार वर्ष नख्खु कारागारमा

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार चापागाईं यसअघि चार वर्ष कारागार बसिसकेका व्यक्ति हुन् । उनी २४ असार ०७२ मा निलिमा महर्जन र आकृति डंगोललाई चार लाख रुपैयाँ ठगी गरेको कसूरमा नख्खु कारागार चलान भएका थिए ।

कारागारबाट निस्किएर उनले त्यतिवेला चिनजान भएका व्यक्तिलाई छुटाउन मन्त्रीको पिए भएको बताएर जेलरलाई फोन गरेको खुलेको छ । उनले विभिन्न सर्वसाधारणलाई पनि प्रहरीको उच्च अधिकृत भएको बताएर धम्क्याउने गरेको पाइएको छ ।

उनले आर्मी स्कुलमा विद्यार्थी भर्ना गरिदिने भनेर पनि रकम लिने गरेको खुलेको छ । एसपी बोगटी भन्छन्, ‘उनीबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्छन्, त्यस्तो व्यक्तिले प्रहरीसँग सम्पर्क गरिदिनु हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment