Comments Add Comment

प्रदेश २ का तीन ठाउँबाट कोरोना परीक्षण हुने

९ जेठ, जनकपुरधाम । कोरोना संक्रमणको ‘हटस्पट’ रहेको प्रदेश २ को ३ ठाउँबाट कोरोना परीक्षण गरिने भएको छ । तीनवटै ठाउँबाट रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्ने तयारी गरिएको हो ।

यसअघि प्रदेशको पश्चिमी भाग वीरगञ्जमा मात्रै रहेको रियल टाइम पीसीआर मेसिन अब जनकपुरधाम र राजविराजमा समेत जडान हुने भएको छ । यी दुवै ठाउँका लागि मेसिन आइपुगेको प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए ।

जनकपुरधामस्थित पशुरोग अन्वेशन प्रयोगशालामा पीसीआर जडान गरिनेछ भने राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा जडान गरेर परीक्षण थालिने सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । ‘मेसिन आएर जडान गर्ने काम सुरु भएको छ,’ उनले भने, ‘सम्भवतः सोमबारदेखि नै यो दुबै मेसिन संचालनमा आउनेछ ।’
प्रदेश सरकारले आफैं खरिद गरेको यी मेसिनबाट ४ घण्टामा ९६ जनाको कोरोना परीक्षण गर्न सकिने मन्त्री साहले बताए ।

मेसिन जडान गर्नका लागि प्रदेश सरकारले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई ५० लाख दिने भएको छ । यो रकमले अस्पतालले ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधि एवम् अन्य सामग्री खरिद गर्नेछन् ।

यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि प्रदेश सरकारले २५ लाख निकासा गरेको छ ।

यसअघि जनकपुरधाममा ल्याइएको दुई वटा पीसीआर मेसिन थन्काइसकिएको छ । ती दुई मेसिनबाट गरिएको जाँच यहाँ नेगेटिभ देखिए पनि काठमाडौं पठाउँदा पोजेटिभ देखिन थालिएपछि दुवै मेसिनलाई थन्काइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment