Comments Add Comment

‘कोरोनाबाट बच्न ट्रम्पले सुझाएको औषधिबाट ज्यान जान सक्छ’

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आफूले औलोको उपचारको लागि प्रयोग गरिँदै आएको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गर्दै आएको बताएका थिए । विज्ञानको शोध पत्रिका लेसेन्टले भने यो औषधिले बिरामीको मृत्यु हुने सम्भावना बढी रहेको उल्लेख गरेको छ ।

लेसेन्टको अध्ययनको क्रममा उक्त औषधिले कोरोना भाइरस (कोभिड–१९) को लागि कुनै सहयोग नगर्ने पाइएको थियो । यो औषधिले मानिसमा मुटुको समस्या बढ्न सक्ने बताइएको छ । यसअघि पनि एक अध्ययनले यो औषधिले कोरोना भाइरसको लागि कुनै सहयोग नपुग्ने देखाएको थियो । तर, ट्रम्पले भने यसको बेवास्ता गर्दै आइरहेका छन् ।

ट्रम्पले अन्य मानिसहरुलाई पनि यो औषधि प्रयोग गर्न सुझाव दिएका छन् । उनले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको लागि चिकित्सकहरुले भने सिफारिस गरेका छैनन् । लेसेन्टको अध्ययनमा यो औषधि दिएका बिरामीमा मृत्युदर बढी पाइएको थियो । यो अध्ययनमा ९६ हजार बिरामीलाई सामेल गरिएको थियो । जसमध्ये १५ हजार मानिसलाई हाइड्रोक्सिक्लोरोक्विन दिइएको थियो ।

यो औषधि दिएका बिरामीमा मृत्युदर १८ प्रतिशत थियो । क्लोरोक्विन औषधि दिएका बिरामीमा भने मृत्यु हुनेको संख्या १६ दशमलव ४ प्रतिशत थियो । कुनै पनि औषधि नदिएका मानिसमा भने मृत्युदर नौ प्रतिशत थियो ।

शोधकर्ताका अनुसार हाइड्रोक्सिक्लोरोक्विन चिकित्सकको सल्लाहविना लिनु अझै हानिकारक हुन्छ । ट्रम्पले भने आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको कारण कोरोना भाइरसको परीक्षणमा नेगेटिभ नतिजा आएको बताएका थिए । अहिले पनि यो औषधिको विषयमा थप अनुसन्धान चलिरहेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment