Comments Add Comment

बागलुङका ४ स्थानीय तह सिल

११ जेठ, बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।

स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । ‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।’

बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।

बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।

शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment