Comments Add Comment

‘जर्मन क्लासिको’ अर्थात बायर्न भर्सेस डर्टमण्ड

१३ जेठ काठमाडौं । बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड दुवैले लिग पुनः शुरू भएपछि लगातार दुई खेल जितेका छन् ।

यही दुई टोली मंगलवार बुण्डेसलिगामा भिड्दैछन् । ४ अंक अगाडि रहेको वायर्न म्युनिख उक्त खेलका लागि डर्टमण्डको सिग्नल इडुना पार्क जाँदैछ । खेल नेपाली समय अनुसार राति सवा १० बजे शुरु हुनेछ ।

लिगमा २७ खेल सकिँदा बायर्न ६१ अंकसहित शीर्ष स्थानमा छ भने ५७ अंक जोडेको डर्टमण्ड दोस्रोमा छ । उपाधि दाबेदार दुई टोलीबीचको खेल प्रतिक्षित छ ।

घरेलु मैदान जित हात पार्न सके डर्टमण्डले अंक दुरी १ मा झार्नेछ । उता बायर्नले जित हात पारे ७ अंकको अग्रता बनाउनेछ र उपाधि यात्रा अझ मजबुत पार्नेछ ।

दुई ठूला क्लबबीचको यस भिडन्तलाई डेर क्लासिसकर अर्थात जर्मन क्लासिको रुपमा समेत चिनिन्छ ।

यस सिजनको पहिलो खेलमा बायर्नले घरेलु मेदानमा डर्टमण्डलाई ४-० ले हराएको थियो । गत सिजन बायर्नको मैदानमा भएको खेलमा पनि घरेलु टोली ५-० ले विजयी भएको थियो । पछिल्लो दुई खेलमा कुनै गोल नगरी ९ गोल खाएको डर्टमण्डलाई यस पटक घरेलु मैदानमा बदला लिने अवसर समेत छ ।

गत सिजन घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डले बायर्नलाई ३-२ ले पराजित गरेको थियो । घरेलु मैदानमा बायर्नसँग खेलेको पछिल्लो चार खेलमा डर्टमण्डले एक खेल मात्र हारेको छ ।

यो खेल हुँदा सबैको नजर बायर्नका रोवर्टो लेवान्डोसकी र डर्टमण्डका एलर्न हालान्डमा हुनेछ । लिगमा चार सिजन सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्की मास्टर ब्लास्ट र यसै जनवरीमा डर्टमण्ड पुगेका युवा स्टार एर्लिन हालान्ड टि प्रोडिजी यस खेल अघि चर्चामा छन् ।

दुवै खेलाडी गोल गर्न माहिर छन् । लेवान्डोस्की २७ गोलसहित लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । हालान्डले पनि १० गोल गरिसकेका छन् ।

बुण्डेसलिगामा यी दुई टोलीबीच १०३ खेल हुँदा बायर्नले ४८ खेल जित्दा डर्टमण्डले २६ खेल मात्र जितेको छ । बाँकी खेल बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment