 
																			१५ जेठ, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ ।
सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ। हवाई इन्धनमा पूर्वाधार करबापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो ।
उक्त करमा छुट भएसँगै अब हवाई इन्धनको मूल्य उल्लेख्य घट्नेछ । यसको कार्यान्वयनले हवाई भाडा उल्लेख्य घट्ने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेत बताउँछन् । ‘पूर्वाधार करमा छुटको घोषणा भएसँगै हवाई इन्धनको मूल्य स्वतः कम हुने भयो,’ उनले भने, ‘अब आयल निगमले आफूले राख्ने नाफासमेत कम गराउने हो भने हवाई भाडा इतिहासकै कम हुनेछ ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको बजेटमा नेपाली वायुसेवा कम्पनीका लागि हवाई इन्धनमा लाग्ने पूर्वाधार करमा छुट दिने उल्लेख छ ।
यसबाहेक लकडाउन र उडान प्रतिबन्धका कारण विमानस्थलमा ग्राउण्डेड भएका हवाई कम्पनीले अब पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुरमा समेत छुट दिने घोषणा भएको छ । ‘अन्य दस्तुरमा दिने छुटको मूल्य त्यति धेरै नभए पनि यसले सरकार हवाई कम्पनीको बढ्दो घाटाप्रति सचेत रहेको संकेत गरेको छ,’ बस्नेत भन्छन्, ‘तर, इन्धनमा छुट हुँदा हामीले ठूलो राहत महसुस गर्नेछौं ।’
वायुसेवा सञ्चालक संघका अनुसार हवाई कम्पनीको सञ्चालन खर्चमा ३५-४० प्रतिशत हिस्सा इन्धनको मूल्यमा हुन्छ । नेपालमा हवाई इन्धनको मूल्यमा न्यूनतम चार रुपैयाँ थपघट हुनासाथ हवाई भाडामा परिवर्तन हुनेगर्छ ।
सरकारले ११ चैतमा लकडाउन सुरु गरेसँगै अहिले अधिकांश वायुसेवा कम्पनीका जहाज ग्राउन्डेड छन् । त्यसयता हवाई कम्पनीले मात्र २० अर्बभन्दा माथिको नोक्सानी व्यहोर्ने अनुमान कम्पनीहरूले गरेका छन् । किनकि कोरोना प्रभाव तत्काल सकिने सम्भावना देखिएको छैन ।
त्यसमाथि लकडाउन खुल्दा पनि तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआउँदा वायुसेवा कम्पनीको आम्दानी आधा कम हुन्छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4