Comments Add Comment

डोटीको शिक्षा कार्यालय भवनमा कोरोना अस्पताल बनाउने निर्णय

२०-२० दिनमा सीमा नाका खोल्न केन्द्र सरकारलाई अनुरोध

१९ जेठ, डोटी । डोटी जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शिक्षा इकाईलाई पशुसेवा कार्यालयको भवन सारेर शिक्षा कार्यालयको भवनमा कोरोना अस्थायी अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल सुरुमा १६ शय्याको बनाउने र आवश्यक परे शय्या थप्दै जाने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

सर्वपक्षीय बैठकले जिल्लाभित्रका मेडिकल अधिकृत कार्यरत रहेका स्थानीय स्वास्थ्य संस्थाहरूमा कम्तीमा १० आइसोलेसन बेड तयार गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णयसमेत गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

२०-२० दिनमा सीमा नाका खोल्न केन्द्र सरकारलाई अनुरोध

आइतबार बसेको सर्वपक्षीय बैठकले २० दिनको अन्तरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एक साताको अवधिमा मात्रै छ हजार आठ सय ८२ जना जिल्ला भित्रिएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको भन्दै उक्त निर्णय गरिएको हो ।

क्वारेन्टिन बनाउनका लागि भौतिक संरचनाको अभाव रहेको, जनशक्ति अभावका कारण क्वारेन्टिन व्यवस्थानमा समस्या भइरहेको, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको समेत अभाव रहेको अवस्थामा दिनहुँ सीमा नाका खोल्दा भारतबाट आउनेको संख्या बढ्ने र यसले क्वारेन्टिनमा बसेकाहरूमै कोरोना फैलिन सक्ने खतरा रहेको बैठकको निष्कर्ष छ ।

यदि २० दिनको अनतरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउने हो भने एक चरणमा आएकालाई १४ दिनपछि परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राख्ने र अर्को चरणमा आएकालाई व्यवस्थापन गर्न सजिलो हुने बैठकले निर्णय गरेको छ । यस्तै सम्बन्धित व्यक्ति र परिवारलाई प्रतिबद्धता गराई स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवकको निगरानीमा रहने गरी होम क्वारेन्टिनमा राख्न सकिने व्यवस्था गर्नसमेत केन्द्र सरकारलाई आग्रह गरिएको छ।

यस्तै, क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहहरुले स्वयंसेवक समूह गठन गर्ने, क्वारेन्टिन बनाउन संरचना अभाव देखिएकाले सरकारी तथा गैरसरकारी संस्थाका भवनहरु र निजी विद्यालयका भवनहरु समेत प्रयोग गर्ने निर्णय भएको छ ।

क्वारेन्टिन अभावको कारण मुलुकभित्रका अति संवेदनशील स्थानहरू बाहेकका जिल्लाहरूबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने समेत बैठकको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment