Comments Add Comment
साहित्य–वार्ता :

मैले शैक्षिक प्रमाणपत्र च्यातेर फालें : रेशम विरही

‘अहिले मार्क्सवादलाई भ्रमको खेती बनाइयो’

कविता र निबन्धमा दर्विलो नाम बनाएका रेशम विरहीले पत्रकारिता पनि गरे । पाँच दशकदेखि कुनै न कुनै रुपमा लेखनसँग जोडिएका विरहीका छ थान कवितासंग्रह, एक निबन्ध (देब्रे आँखा) र एक उपन्यास (प्रेमदासको डायरी) प्रकाशित छन् । देखेको कुरालाई आफ्नो विचारको लेपले सटिक उतार्ने उनको लेखनको मुख्य विशेषता मानिन्छ ।

साहित्य र पत्रकारितामा सधैं सक्रिय रहने उनलाई यो वर्ष आन्द्राको क्यान्सर देखियो । डेढ वर्षको उपचारपछि अहिले उनी गृहनगर चितवनको रामपुरमा स्वास्थ्य लाभ गरिरहेका छन् । स्वास्थ्यले साथ लिए यो वर्ष नयाँ पुस्तक निकाल्ने योजना छ उनको ।

जीवनका अधिकांश समय नेपालगञ्ज, चितवन र काठमाडौंमा बिताएका उनको मुख्य कर्म लेखन हो । विरहीसँग साहित्य, समसामयिक राजनीति र व्यक्तिगत जीवनमा केन्द्रित रहेर अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकनीः

साहित्यिक गतिविधि, लेखन र जमघटमा सक्रिय भइरहनुपर्ने मानिस, एक्कासी स्वास्थ्य समस्या आएर मौन बस्नुपर्दा कस्तो महसुस भएको छ ?

बिरामी हुँदाको समयमा एकदमै पीडाको भावना आइरहेको थियो जसले गर्दा केही समय लेख्न सकिनँ । लेख्न नसकेपछि छटपटी हुँदोरहेछ । सामाजिक रुपमा पनि एक्लो महसुस हुने रहेछ । साथीहरू एकाध घण्टा भेट्न त आउँछन् तर उनीहरू गएपछि झनै उकुसमुकुस हुने रहेछ । अन्तरक्रियाबाट टाढा रहेपछि नयाँ पुस्तक केकस्तो धारमा आएको छ त्यो थाहा नहुने रहेछ । तर पछिल्लो तीन महिनादेखि स्वास्थ्य सुधार भएकाले लेख्नेपढ्ने काममा जाँगर बढेको छ ।

‘देब्रे आँखा’ भन्ने निबन्ध संग्रह नै प्रकाशित गर्नुभयो । सधैंभरि जीवन र जगतलाई देब्रे दृष्टिले (बामपन्थी) हेर्दा सन्तोष लाग्छ ?

बिल्कुल सन्तुष्ट छैन । नेपालको सन्दर्भमा परिवर्तनका लागी धेरैले ज्यान गुमाए । पञ्चायत सरकारले जेल सार्ने बहानामा धेरैलाई मार्यो । यति धेरै मानिसले प्राण अपर्ण गरेर स्थापित आजको परिवर्तन हेर्दा ती सबैको उपलब्धी सीमित समुहले लिइरहेको प्रष्ट देखिन्छ । मार्क्सवादको जगमा टेकेकाले नै मार्क्सवादको खिल्ली उडाए । विचारलाई उनीहरूले भ्रमको खेतीमात्र बनाए ।

हाम्रै विगतका साथी र आजका नेताको भाषण सुन्दा निकै परिवर्तन भएजस्तो लाग्छ तर सामाजिक जीवनको तहमा हेर्दा केही पनि परिवर्तन भएको छैन । म बिरामी हुँदा नै महसुस गरेँ कि स्वास्थ्य र शिक्षाजस्तो जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षमा कुरुप राजनीति हुँदोरहेछ । यसर्थ समय र समाजलाई आलोचनात्मक दृष्टिले हेर्न सक्नुपर्छ भन्ने अर्थमा ‘देब्रे आँखा’ भनेको हुँ ।

साहित्य लेखनमा पक्षधरता कसरी प्रकट हुन्छ ?

विचारले गर्दा लेखनमा पक्षधरता हुन्छ । पक्षभन्ने बित्तिकै बामपन्थी भन्नेमात्र होइन । यहाँ प्रगतिवादी साहित्य भन्नेमा झनै डामाडोल अवस्था छ । प्रगतिवाद भनेको के हो, उनीहरूलाई थाहा छैन । के प्रगतिवाद नारामात्र हो ? प्रगतिशील भनेर लालित्यपूर्ण साहित्यलाई ओझेलमा पार्दै नारालाई स्थापित गर्ने झुण्ड यहाँ धेरै छन् ।

यसैले पक्षधरता मान्छेको जनजीवन र परिवर्तनको पक्षमा उभिनु हो । सत्य र न्यायको मार्गमा हुनु पक्षधरता हो । कुनै व्यक्ति र समुहको पक्ष लिने होइन ।

प्रगतिशील लेखनसँग जोडिनुहुन्छ तर त्यसको वकालत गर्नेहरूप्रति कडा आलोचना गर्नुहुन्छ किन ?

उनीहरू नाममात्रको प्रगतिशील हुन् । व्यक्तिगत जीवन र आफू संलग्न प्रत्येक काममा प्रगतिशील आचरण भयो भने मात्र ऊ प्रगतिशील हुन्छ । यसैले म प्रगतिशील साहित्यभित्रको खराब पक्षको सधैं कडा निन्दा गर्छु । जसको लेखनमा गुणवत्ता छैन, लेखकीय विशिष्टता छैन उसैलाई ओभररेटेड गराउने प्रवृत्तिको पनि मैले विरोध गरेको छु । यसमाथि लेख्दै–बोल्दै पनि आएको छु ।

आफ्ना कविता, आख्यान र निबन्धका पुस्तकमा कवि श्यामल, नारायण ढकाल र नयनराज पाण्डेका मन्तव्य राख्नुहुन्छ ? उनीहरूसँग जोडिरहनुपर्ने कारण के ?

कुनै विशेष कारणले होइन, मात्र संयोगले हो । म नेपालगञ्ज बस्दा कवि श्यामल त्यहीँ बस्थे । त्यसपछि मेरा दुईवटा कृतिमा उनलाई लेख्न लगाइयो । नयनराज पाण्डेजी पनि नेपालगञ्जकै हुन् । यी नामहरू मलाई मनपर्ने साहित्यकार हुन् र मेरा नजिकका मित्र पनि । तर यी नाममात्र सर्वेसर्वा हुन् भन्न खोजेको होइन । समकालीनमा हरि अधिकारीदेखि नयाँ पुस्ताका विनोदविक्रम केसी, भूपीन, मनु मञ्जिल, हेमन यात्री, संगीत श्रोतालगायतका कवि–लेखक मलाई मन पर्छन् । उनीहरूका सृजना म ध्यानपूर्वक पढिरहेको हुन्छु ।

पञ्चायतकालीन राजनीति र साहित्यको साक्षी हुनुहुन्छ र त्यसको विद्रोही पनि । तपाईंको विचारमा विद्रोह भनेको के हो ?

विद्रोह भनेको परिवर्तनको चाहना हो । विद्रोह चेतनाको विद्रोह हुनुपर्छ, उग्रपन होइन । माओवादीले बन्दुक बोकेर हिँडेको मात्र विद्रोह हो भन्ने बुझ्नुहुन्न । पञ्चायतमा राजा र राजाको वरीपरिका मानिसको मात्र राज्य थियो त्यो हुनुहुन्न भनेर विद्रोह भयो । लोकतन्त्र र अधिकारका लागि विद्रोह भयो । यसर्थ चेतना र परिवर्तनको लडाइँलाई म विद्रोह मान्छु ।

आफ्ना मन्तव्यहरूमा राजनीतिको कुरुपतामाथि प्रहार गर्नुहुन्छ । यसअर्थमा अहिलेको राजनीति र नेतृत्वसँग तपाईंलाई तीब्र वितृष्णा छ ?

देशले लोकतान्त्रिक गणतन्त्र पाएको छ, यो ठूलो उपलब्धी हो । तर आज सत्तामा जानेले लोकतन्त्रको मर्मलाई ‘बाँदरको हातमा नरिवल’जस्तो मात्र बनाए । ठूलाठूला योजना र विकासको सपना बाँडिन्छ । तर पहाडमा औषधी खान नपाएर मानिस मरिरहेका छन् । दलितको हत्या गरिएको छ । बामपन्थी धार र प्रजातान्त्रिक धार दुवैका नेतृत्वले केही गर्न सकेको छैन । मानिसको जीवनलाई खिल्ली उडाइँदैछ ।

पत्रकारिता, साहित्य र राजनीतिमा जीवनको लामो समय व्यतीत गर्दाको उपलब्धी के, आनन्द के ?

मलाई व्यक्तिगत सुखसयलको आकांक्षा कहिले भएन । आफ्नो क्षमता र योग्यताले जति सकेँ त्यो मैले गरें । करिब पाँच दशक पत्रकारिता गरें, यो पनि अधिकांश समय गाउँमा बसेर गरें । पत्रकारिताको जीवनलाई फर्केर हेर्दा जे गरें त्यो ठीक गरें भन्ने महसुस हुन्छ ।

साहित्यले देशैभरिबाट पाठक, लेखक र सहृदयी मित्रहरू पाएको छु । यिनै क्षेत्रका साथीहरूले जीवनका जस्तोसुकै अप्ठ्यारामा पनि साथ दिएका छन् ।

समसामयिक साहित्यको विधागत अवस्था हेर्दा कविता, आख्यान र निबन्ध लेखन कस्तो पाउनुहुन्छ ?

म स्वयंले पनि कविता धेरै लेखेको छु । सामाजिक मुद्दा र राजनीतिमा कलम चलाउनुपर्दा गद्य पनि लेख्जुपर्ने भयो । त्यसपछि मैले निबन्ध बढी लेखें । यसरी आफू पनि निरन्तर लेखेको आधारमा सबैभन्दा फस्टाएको विधा कविता हो भन्ने लाग्छ । नयाँनयाँ लेखकका नयाँनयाँ मुद्दामा आख्यान पनि लेखिएका छन् । तर निबन्ध विधा भने कमजोर छ । निबन्धमा हत्तपत्त कलम चलाउने आँट गर्दैनन् । नाटक पनि निकै कम लेखिएका छन् ।

अनेक कामको शिलशिलामा रेशम विरही मूलधारबाट हरायो भन्ने कुराकानी चलेको थियो । अहिले तपाईंको सक्रियता फेरि मूलधारमा फर्कने संघर्ष हो र ?

म मूलधारमा आउन खोजेकै होइन । काठमाडौं आएर बसोबास गर्दैमा मूलधारमा आउन खोजेको अर्थ लाग्दैन । विगत पाँच वर्षयता राष्ट्रिय दैनिकमा बारम्बार लेखिरहेको छु । त्यसअघि पनि लेख्थेँ तर पछिल्लो दश वर्ष लेखनको रफ्तार बढेको हो। आफैंसँग इमानदार भएर राम्रो लेख्न जीवनभर प्रयत्न गरिरहन्छु ।

व्यक्तिगत जीवनमा शान्त तर लेखन र विचारमा तीखोपना तपाईं कमजोरी हो कि शक्ति ?

म व्यक्तिगत जीवनमा पनि विद्रोही छु । परिस्थिति अनुसार नरम र विद्रोही हुने बानी रहेछ मेरो । मलाई के लाग्छ भने देवकोटादेखि भूपी, रिमाल, पारिजातसम्मको लेखनमा उनीहरूको स्वाभाव देखिन्छ ।

व्यक्तिगत व्यवहारमा म शालीन हुँला । तर, कतिपय लेखनमा म तीखो प्रहार गर्छु । शोषण, उत्पीडन र होचोअर्घेल्याइँ सहने मेरो स्वाभाव छैन । अनि तिनका विरुद्ध लेख्नु मेरो कर्तव्य ठान्छु ।

यही स्वाभावले गर्दा आफ्ना सबै शैक्षिक प्रमाणपत्र च्यातेर फाल्नुभएको हो ?

साढे तीन दशक अगाडि नै मैले आफ्ना शैक्षिक प्रमाणपत्र च्यातेर फालेको थिएँ । जब ज्ञान र चेतनालाई प्रमाणपत्रसँग दाँजेर हेर्ने चलन छ त्यहाँ ढोंगमात्र हुन्छ भन्ने सोचेर सबै च्यातेर फालेँ । आफ्नो अध्ययन र सृजनासँग म विश्वस्त थिएँ त्यसैले त मैले काम गर्दा कहीँ प्रमाणपत्रको आवश्यकता परेन । फेरि, आफ्नैमात्र स्वार्थ सोचेर कुनै पनि काम नगरेको हुनाले मलाई त्यति साह्रो पछुतो कुनै कुरामा हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment