Comments Add Comment
ब्लग :

अर्थमन्त्रीज्यू, हामी जनता मर्ने कि बहुलाउने ?

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ

गएको सोमबार बेलुकी साढे नौ बजेतिर गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गले एउटा विरक्तलाग्दो तर वास्तविक स्टाटस पोस्ट गरे । उनले गरेको सो पोस्ट प्रादेशिक अर्थमन्त्रीको मर्यादाभन्दा बाहिरको हो ।

सर्सरी सबैले उनलाई व्यङ्ग्य गरे, कतिले त उच्च ज्वरोको  बेहोसी अवस्थामा दिइएको अभिव्यक्ति पनि भने । सोझो अर्थलगाउने हो भने प्रदेशका अर्थमन्त्री बहुलाए भनिएको हो । तर उनले भनेको यो अभिव्यक्ति निकै मर्मस्पर्शी छ।

किनभने केन्द्रीय अर्थमन्त्रीले लकडाउनको बीचमा कसैसँग मागेर भए पनि सरकारलाई चुक्ता गर्नुपर्ने कर तिर, नत्र भने कानुनअनुसार कारबाहीको भागेदारी वनभन्दै घाउमाथि अमिलो पोख्ने काम गरेका थिए ।

विष्णु गौतम

किरण गुरुङ्गले गरेको पोस्ट यस्तो थियो- ‘अब चिन्ता नगर मूर्खहरू आकाशबाट बर्सिन्छ। दुईहात थापेर घरमै बसेर खाऊ । दुई पैसाको उपति छैन, उपरखुट्टी लाएर मोज गर ।’

केन्द्रीय अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनकै बीचमा यही जेठ २५ गतेभित्र तिर्नुपर्ने सबै कर चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीको हितमा मन्त्री गुरुङको अभिव्यक्ति पोखिएको हो ।

उनले घुमाउरो तरिकाले लकडाउनलाई उल्लङ्घन गरी सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर, घरमा बसेर मात्रै हुँदैन, राज्यले कर मिनाहा गर्दैन, त्यसैले नियमित काममा फर्क, घरमै मात्रै नबस भनेका हुन् ।

उठी सुख न बसी सुख !

त्यसपछि फेरि उनले सिधै अर्को स्टाटस पनि पोस्ट गरे ।

लकडाउनका कारण उद्योग व्यवसाय ठप्प छ। कुनै पनि उद्योग व्यवसाय न ब्याज तिर्न सक्ने अवस्थामा छ, न किस्ता । यस्तो अवस्थामा ब्याज नतिरे बैङ्क डुब्छ, बैङ्क डुबे लगानी डुब्छ, लगानी डुबे व्यवसायी नै डुब्छ । व्यवसायी डुबे कर तिर्न सक्दैन, कर नउठे राष्ट्रिय अर्थतन्त्र चल्दैन, राष्ट्रिय अर्थतन्त्र नचले राज्य डुब्छ, राज्य नै डुबेपछि देश र जनताको रक्षा कसले गर्छ ?

माननीय अर्थमन्त्रीको मात्र कुरा होइन, यस्तो अवस्थामा कसले के नै गर्न सक्छ ? त्यसैले लकडाउन गरेर होइन, तुरुन्त लकडाउन खोलेर अर्थतन्त्रलाई चलायमान बनाई सिङ्गो राष्ट्र र राष्ट्रिय अर्थतन्त्रलाई जोगाउनुपर्छ । उद्योग व्यावसायिक क्षेत्रलाई लकडाउन खुलेको कम्तीमा पनि ६ महिनापछि विनाहर्जना बैङ्कको ब्याज र किस्ता तिर्ने तथा कर उठाउने व्यवस्था गर्नुपर्छ । हामीले जति ढिलो गर्छौं, राष्ट्रले त्यति नै ठूलो नोक्सानी ब्यहोर्नु पर्नेछ ।

सबैले आ-आफ्नो बुद्धिको ढकन खोलौं र विवेक प्रयोग गरौं । सबैले बुझौं, आकाशबाट बर्सि‌ंदैन ।

किताबी ज्ञानमा नभेटिएको विवेक 

साँच्चै प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको जत्ति पनि विवेक रहेनछ केन्द्रीय अर्थमन्त्री डा. खतिवडाको । नत्र भने आफैँले लकडाउन जेठको मसान्तसम्म भनेर सार्वजनिक गर्ने अनि लकडाउनकै बीचमा २५ गतेभित्र कर चुक्ता गर भन्न मिल्ला त ?

निजी उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले त सार्वजनिक रुपमा भनिसक्यो, अर्थमन्त्रीको भनाइ सनक हो । देश सनकको भरमा चल्दैन । हामी कुनै हालतमा कर र ब्याज तिर्न सक्ने अवस्थामा छैनौं ।

सरकारले विनाविकल्प लामो समय व्यवसाय बन्द गराउँदा अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने ठहर गर्दै निजी व्यवसायीहरूले संयमता अपनाउँदै व्यवसाय सञ्चालन गर्न अनुमति मागेका छन् । व्यवसायीहरूले लकडाउनको मोडालिटी परिवर्तन गरी सामान्य भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखेका छन् ।

सरकारले वर्तमान जटिल परिस्थितिमा व्यवसायीलाई निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राहतका प्याकेज ल्याउनुपर्नेमा उल्टै अल्टिमेटम दिने भन्दै व्यवसायीहरूले सार्वजनिक विरोध गर्न थालेका छन् ।

विगतको प्रतिबद्धता जेठको घाममा सुकेकै होला र ?

अर्थमन्त्री डा. युवराज खतिवडा

२०७४ साल फागुनमा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्री भए । उनले मन्त्रालय सम्हालेको पहिलो दिन पहिलो हस्ताक्षर गर्दै आफ्ना पाँच सूत्रीय प्रतिबद्धता सार्वजनिक गरेका थिए । जसमा–

१. लोककल्याणकारी राज्यव्यवस्थाको अवधारणामा राज्यको अभिभावकत्वको भूमिकालाई सुदृढ बनाउने र त्यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने । राज्यको परिपूरक भूमिकामा रहने ।

२. सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने । अर्थतन्त्रमा पारदर्शिता, अनुशासन र  कुशलतालाई प्राथमिकता राखिने ।

३.हाल मुलुकमा देखिएको समस्या बाहृय कारणले नभई आन्तरिक कारणले नै भएको हुनाले वित्तीय प्रणालीका संरचनात्मक समस्याको समाधान गरिने ।

४.आन्तरिक र बाह्य निजी क्षेत्रलाई परिचालन गरेर लगानी भित्र्याउन अधिकतम प्रयास गर्ने । लगानी बोर्डलाई क्रियाशील बनाउने ।

५.अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय स्वार्थमा परिचालन गर्न आवश्यक पहल गर्ने ।

यो बेला उनले गरेका प्रतिबद्धता अहिले खै त ? धरापमा परेको अर्थतन्त्रलाई उकास्न उनले लिएको नीतिको कार्यान्वयनको यो चरणमा उनले आफ्नै प्रतिबद्धता बिर्सिए र निजी क्षेत्रलाई असहज वातावरण बनाए । सबै कुरा पैसा मात्रै हुन सक्दैन भन्ने कुराको सामान्य हेक्का पनि नराखी बोल्ने र व्यवहार गर्ने गर्दा सरकारलाई नै नकारात्मक असर पर्न सक्छ ।

तत्कालीन समयमा सबैले आशा गरेका अर्थमन्त्रीका रुपमा उनलाई हेरिएको थियो । उनी अर्थमन्त्री हुनेबित्तिकै धेरै अर्थशास्त्रीहरूले बिरामी देशको अर्थतन्त्रमा युवराज खतिवडालाई औषधिका रुपमा हेरेका थिए ।

जन अपेक्षाअनुसार काम गर्नु र कुनै सानो निकायको प्रशासक भएर कर्मचारीलाई चलायमान बनाउनु फरक कुरा हो भन्ने उनले कहिल्यै बुझेनन् । त्यसैले, उनले आफ्नो सनकको ‘डिक्टेटरसिप’ अर्थमन्त्रीका रुपमा पनि देखाए

आमाका अगाडि मामाको बखान !

डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुनेबित्तिकै अर्थ मन्त्रालयको  ब्रिफिङ्ग गर्ने क्रममा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारीले १० सेकेण्डमै सके । उनले अर्थमन्त्रीलाई ब्रिफिङ्ग गर्दै भने– ‘आमाका अगाडि मामाको के बखान गर्नू ? अर्थमन्त्रीज्यूलाई मन्त्रालयमा स्वागत छ ।’

बिरामी अर्थ व्यवस्था भएको समयमा अर्थ व्यवस्था बुझेको व्यक्ति अर्थमन्त्री हुनु सबैका लागि खुसीको कुरा थियो । उनले केही सुधारका काम पनि गरे ।

उनी अर्थमन्त्रीमा नियुक्त भएपछि अर्थविद् एवं पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले डा. खतिवडा अर्थमन्त्री बनेकोमा खुसी हुँदै यस्तो ट्विट गरेका थिए, ‘जे होस् डा. युवराज खतिवडा अर्थमन्त्री भएभन्दा अलिकति भए नि ढुक्क लाग्ने । अर्थतन्त्र ध्वस्त बनाउन लागे भन्ने चिन्ता निकै नै रहेछ मनमा ।’

सबैमा उनीप्रति भरोसा र अपेक्षा थियो । तर उनी सस्पेन्स फिल्मको भिलेनजस्तो देखिए, कोरोना कहरका बीचमा ।

सफल प्रशासक, असफल मन्त्री

विसं. २०३९ सालमा सहायक अनुसन्धान अधिकृतका रुपमा राष्ट्र बैङ्कमा सेवा सुरु गरे पनि उनी निस्कने बेलामा गर्भनर र योग्य, सफल प्रशासकको पदवी पाएर बिदा भएका हुन्  । तर जन अपेक्षाअनुसार काम गर्नु र कुनै सानो निकायको प्रशासक भएर कर्मचारीलाई चलायमान बनाउनु फरक कुरा हो भन्ने उनले कहिल्यै बुझेनन् । त्यसैले, उनले आफ्नो सनकको ‘डिक्टेटरसिप’ अर्थमन्त्रीका रुपमा पनि देखाए ।

लकडाउनको बीचमा जसरी भए पनि कर तिर भनेर मानसिक दबाब दिनु अर्थमन्त्रीको बचपना र सनकको भनाइभन्दा अरू हुनै सक्दैन । राज्य चल्ने करले नै हो, त्यसैले करलाई सही बाटोमा ल्याउने अनि नियम संगत निर्णय गरेमा मात्रै कर पनि राम्ररी उठ्छ ।

अर्थमन्त्रीको कमजोरी नै हो यो । जनभावनाको कुरा नबुझ्नु अनि किताबी र डकुमेन्टका आधारमा मात्रै गरिने निर्णय कतिपय अवस्थामा आफैँतिर फर्कन्छन् । यो कुरा नेताहरुले बुझेका हुन्छन्, त्यसैले बोल्दा विचार पुर्‍याउँछन् । त्यही भएर गण्डकीका अर्थमन्त्री किरण गुरुङ्गले तीतो शब्दमा भए पनि जनभावना बोले ।

कोरोनाको त्रास सरकारले नै अत्यधिक फैलाएको छ । साढे दुई महिना हुन लाग्यो, अझै घरबाट ननिस्क मात्रै भनेको छ  । किस्ता–किस्तामा थपेको लकडाउनले बैङ्कको ब्याज, घरको भाडा, व्यवसायिकस्थलको भाडा, दैनिक खाने खाद्यान्नको उधारो बिल किस्ता– किस्तामा बढेको बढ्यै छ । योबेला सामान्य विवेक पनि नपुर्‍याउने सरकारका प्रतिनिधिलाई भोलि फेरि जनता भएर उही समाजमा आउने नैतिक आधार पनि रहला कि नरहला ?

अब मर्ने भनेको कोरनाले होइन, भोकले हो । अनि प्रत्येक कोणबाट आउने आर्थिक मानसिक दबाबको बोझले हो ।

अर्थमन्त्रीज्यू, तपाईंले पनि लामो लकडाउनको मानसिक दबाबले बर्बराउँदै कर तिर्न ताकेता गर्नुभएको हो भने उपचार गर्नुहोला, नत्र भने खान नपाएका नागरिकलाई लकडाउनकै बीचमा कर तिर भन्नेखालको जधन्य अपराधजन्य बोली बोलेर मानसिक तनावमा पार्ने काम नगर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment