Comments Add Comment

१५ हजार खुराक खर्चले फुटबलरलाई राहत, १३औँ सागको पुरस्कार कहिले ?

२२ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीहरुलाई खुराक खर्चस्वरुप १५/१५ हजार दिने निर्णय गर्दा १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका खेलाडीहरु भने पुरस्कारको पर्खाईमै छन् ।

एन्फा कार्यसमितिको भर्चुअल बैठकले मंगलवार विभिन्न विषयमा निर्णय गर्दा अहिले कोरोनाभाइरस महामारीका बेला खेलाडीहरुलाई राहत स्वरुप १५ हजार दिने निर्णय गरेको थियो । यस्तै एन्फाले क्लबहरु र जिल्ला संघ समितिहरुलाई ७५/७५ हजारका दरले राहत प्रदान गर्ने निर्णयसमेत एन्फाको छ ।

महिला र पुरुष फुटबल टिममा ३५/३५ खेलाडीलाई १५ हजारका दरले खुराक खर्च उपलब्ध गराउने एन्फाले निर्णय गरेको हो । तर गत मंसिरमा नेपालमै भएको १३औँ सागमा पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली यु-२३ टोलीले भने घोषित नगद पुरस्कार अहिलेसम्म प्राप्त गरेका छैनन् ।

नेपालले भुटानलाई २-१ ले पराजित गर्दै सागमा स्वर्ण जितेको थियो । एन्फाको यसअघि गत माघ २६ मा बसेको कार्यसमिति बैठकले सागमा स्वर्ण जित्ने पुरुष फुटबल टिमलाई ५ लाख ५० हजारका दरले दिने निर्णय गरेको थियो । यस्तै सागमै नेपालको महिला फुटबल टिमले रजत पदक जितेको थियो । महिला टोलीलाई एन्फाले १ लाख ५० हजारका दरले दिने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस साग फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही साढे ५ लाख दिइने

अघिल्लो कार्यसमिति बैठक बसेको झण्डै चार महिना हुन लाग्दा पनि पदकधारी खेलाडीले घोषित पुरस्कार पाएका छैनन् । स्वर्ण जित्ने टिमका खेलाडीले उक्त पुरस्कार पनि पाए अझै राम्रो हुने बताए ।

‘सागको पुरस्कार हामीले कहिले पाउँछौँ, अहिले दिँदा राम्रो हुन्थ्यो,’ स्वर्ण जितेका एक खेलाडीले भने ।

नेपाल सरकारले भने सागमा स्वर्ण जित्ने टिम इभेन्टका खेलाडीलाई ६-६ लाखका दरले नगद पुरस्कार बैंक खातामा हाल्दिसकेको छ ।

एन्फा प्रवक्ता किरण राईले सागमा स्वर्ण जित्ने खेलाडीलाई आगामी साधारण सभाले बजेट अनुमोदन गरेपछि पुरस्कार दिने बताए ।

‘अब हामीले बजेटमा त्यो विषयलाई समेटका छौँ । आगामी साधारण सभाले अनुमोदन गरेपछि खेलाडीको पुरस्कार दिनेछौँ,’ राईले अनलाइनखबरसंग भने ।

यस्तै मंगलवारको बैठकले निर्णय गरेको १५ हजार खुराक खर्च भने एन्फाले चाँडै उपलब्ध गराउने राईले बताए ।

फिफाबाट अनुदान प्राप्त ५ लाख डलरबाट एन्फाले एक लाख डलर बराबर रकम राहतमा वितरण गर्न लागेको हो । एन्फाले १ करोड रुपैयाँभन्दा बढी रकम कोरोना राहत स्वरुप विरतण गर्ने निर्णय गरेको हो । अब फिफाबाट त्यो बजेट स्वीकृत भएर आएपछि सबैलाई रकम वितरण गरिने राईले जानकारी दिए ।

राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले एन्फाले गरेको निर्णय राम्रो भएको बताए । ‘अहिलेको अवस्थामा फुटबल जिरो कन्डिसनमा छ । त्यसैले खेलाडीको लागि यो रकम छुट्याउनु राम्रो हो । एन्फाको यो राम्रो कदम हो,’ किरणले भने ।

महिला फुटबलर एन्जिला तुम्बापो सुब्बाले पनि एन्फाले गरेको निर्णय राम्रो भएको बताइन् ।

‘एन्फाको गरेको काम प्रशंसायोग्य छ । एन्फाप्रति म आभारी छु,’ १३ औं सागमा रजत पदक जित्ने टोलीमा रहेकी एन्जिलाले भनिन् । एन्जिला महिला टोलीको गोलकिप र उपकप्तान समेत हुन् ।

एन्फाले ३५/३५ जनालाई खुराक खर्च दिने भने पनि मापदण्ड तोकेको छेन । एन्फा प्रवक्ता राईले अहिले तलब खाइरहेका राष्ट्रिय टिमका खेलाडीलाई १५ हजार खुराक खर्च उपलब्ध गराइने बताए ।

१३ औं सागमा महिलातर्फ नेपालको राष्ट्रिय टिमले नै खेलेको थियो । तर पुरुषतर्फ भने यू२३ राष्ट्रिय टिमले खेलेका थिए । यू २३ टिम भए पनि आधा सिनियर टिमबाटै खेलिसकेका खेलाडीहरु थिए ।

यसैगरी २०१७ मा भुटानमा भएको साफ यु-१८ च्याम्पियनसप जित्ने खेलाडीलाई पनि आगामी बजेटमा पुरस्कारको व्यवस्था गरेको प्रवक्ता राईले बताए । राईले पुरस्कार दिन बाँकी सबैको लागि बजेटमा पुरस्कार व्यवस्था गरिएको बताए ।

२०१७ सेप्टेम्बरमा थिम्पुमा भएको दोस्रो संस्करणको साफ यू १८ को उपाधि नेपालले जितेको थियो । नरेन्द्र श्रेष्ठ अध्यक्ष रहँदा एन्फाले विजेता खेलाडीलाई २/२ लाख दिने निर्णय गरेको थियो । तर कर्माछिरिङ शेर्पा नेतृत्वले समेत एन्फामा दुई वर्ष पूरा गर्दा खेलाडीले पुरस्कार पाएका छैनन् । उक्त टिमको कप्तानी गरेका गोलकिपर अर्पण कार्कीसँगै डिफेण्डरद्वय सुमन अर्याल र विकास खवास, मिडफिल्डरद्वय राजिव लोप्चन, सेसेहाङ आङदम्बे फरवार्ड अभिषेक रिजाल, प्रेजन तामाङ र रेजिन सुब्बा घरेलु मैदानमा भएको १३औं सागमा स्वर्ण जित्दा टिममा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment