Comments Add Comment

काठमाडौंका बैंकमा किन बढ्यो घुइँचो !

फाइल तस्वीर

२४ जेठ, काठमाडौं । लकडाउनका बेला प्रायः बन्दजस्तै रहेका काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ । लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस भएर बाहिर निस्कन थालेपछि बैंकमा पनि भिडभाड बढेको हो ।

बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको बैंक सञ्चालकहरु बताउँछन् ।

सरकारले बैंकका कर्मचारीहरुलाई सवारी पास कम दिएको र बैंकको परिचयपत्रका आधारमा प्रहरीले हिँडडुल गर्न नदिएका कारण कर्मचारीहरु थोरै परिचालन गर्नुपरेको र भीड बढेको गुनासो बैंकर्सहरुको छ ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केसरी शाहले सवारी पासमा कडाइ हुँदा बैंकमा भिड देखिएको बताए । बैंकका कर्मचारीहरुलाई आफ्नो परिचय पत्र देखाएर कार्यालय जान–आउन सुविधा दिने हो भने बैंकमा देखिएको भिड कम हुने शाहले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहले सुरक्षा, स्वास्थ्यजस्तै बैंकहरुलाई पनि सरकारले अति आवश्यक क्षेत्रमा राखेको भन्दै यसलाई सीमित पास दिएर सेवा दे भन्नु गलत भएको बताए । उनले बैंकका कर्मचारीहरुलाई परिचय पत्र देखाएर आवत–जावत गर्न दिनुपर्ने बताए ।

‘भिड बढ्दो छ, हामीलाई आफ्नोभन्दा पनि हाम्रा ग्राहकको चिन्ता छ, बाहिर कुपन दिन्छौं बाहिरै भिड लाग्छ,’ उनले भने, ‘हामीले सबै कर्मचारी राखेर सेवा दिन पाउने हो भने यस्तो भिड हुँदैन, कोरोनाबाट जोगाउन र जोगिनका लागि पनि यस विषयमा हामी गम्भीर हुनैपर्छ ।’

सीईओ शाहका अनुसार लकडाउनकै अवधिमा पनि नबिल बैंकको एउटै शाखामा दैनिक ५ सय वटासम्म कारोबार हुने गरेका छन् ।

बैंकर्स संघका कार्यकारी सदस्य तथा सनराइज बैंकका सीईओ जनकराज पौड्याल पनि बैंकहरुमा पछिल्लो समय भिड बढेको बताउँछन् । यद्यपि, आत्तिहाल्नुपर्ने गरी भिड भने नरहेको उनले बताए ।

सीईओ पौड्याल पनि सबै शाखा कार्यालयहरु नखुलेका र पूर्णरुपमा सेवा दिन नपाएका कारण बैंकहरुमा भिड लाग्ने गरेको उनले बताए । सबै शाखा कार्यालयहरु खुला हुने र सबै कर्मचारीहरु राखेर सेवा दिने हो भने भिड कम हुने उनी बताउँछन् ।

‘नगदमा समस्या छैन’

बैंकहरुमा नगदको भने कुनै समस्या नरहेको उनीहरुले बताएका छन् । शाहले सबै बैंकहरुमा नगद पर्याप्त रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमा निक्षेप गर्नेहरुको संख्या बढेको शाहले बताए ।

‘तरलता पर्याप्त छ, कहिलेकाहीँ शाखामा कम हुनु अलग कुरा नभए अरु खास समस्या केही छैन । नबिल बैंक सीसीडी रेसियो ७३, ७४ प्रतिशत छ,’ उनले भने । पैसा निकाल्नेभन्दा पनि जम्मा गर्नेकै संख्या ठूलो रहेको उनले बताए । पछिल्लो समय निक्षेप बढेको तर कर्जाको माग भने कम रहेको उनले बताए ।

सनराइज बैंकका सीईओ पौड्यालले पनि एक अर्ब रुपैयाँ कर्जा लगानी हुँदा ३ अर्ब रुपैयाँ निक्षेप आउने गरेको सुनाए ।

‘नगदको त्यस्तो केही समस्या छैन, मलाई अहिलेसम्म समस्या परेको भनेर रिपोर्टिङ आएको छैन,’ सीईओ पौड्यालले भने, ‘खर्च गर्ने ठाउँ पनि नभएकाले हुनसक्छ, अहिले पैसा जम्मा गर्नेहरुकै संख्या धेरै छ ।’

लकडाउन लामो समय लम्बिँदा सबै क्षेत्रमा समस्या परेको भन्दै उनले अब पनयाँ मोडल अपनाएर लकडाउनलाई सहज बनाउनु पर्ने बताए । सधैं लकडाउन गरेर समाधान हुन नसक्ने भन्दै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उच्च सुरक्षा सतर्कता अपनाएर लकडाउन केही सहज बनाउनुपर्ने बताए ।

लकडाउनपछि खर्च गर्ने ठाउँहरु नभएका कारण नगद प्रवाह पनि कम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment