Comments Add Comment

क्रिकेट खेलाडीको तलब १० हजार बढाउने प्रस्ताव

२५ जेठ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटरको तलबमा १० हजार वृद्धि गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग माग गर्ने निर्णय गरेको छ ।

क्यानको शनिबार बसेको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसीमक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ ।

अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब पठाइरहेको छ । क्यान निलम्बन भएको बेला आईसीसीले तलब दिने गरेको थियो ।

क्यानले सेन्ट्रल कन्ट्रयाकको नयाँ लिस्ट सार्वजनिक गर्नुअघि तलब बढाउन प्रस्ताव गरिएको हो । ‘हामीले खेलाडीको तलब १० हजार बढाएर पठाउन आईसीसी समक्ष प्रस्ताव गरेका छौँ,’ क्यान स्रोतले भन्यो ।

अहिले ग्रेड ‘ए’ मा रहेका खेलाडीले ३५ हजार ग्रेड ‘बी’ मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले १५ हजारका दरले तलब पाउनेछन् ।

क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाकको लागि पनि अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसका लागि तीन सदस्यी समितिले काम गरिरहेको र त्यसपछि अन्तिम निर्णय गरिने भएको छ ।

पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीको सेन्ट्रल कन्ट्रयाक गरिने यसअघि नै क्यानले निर्णय गरिसकेको छ । महिला क्रिकेटरको पहिलो पटक सेन्ट्रल कन्ट्रयाक हुन लागेको हो ।

यस्तै खेलाडीको प्रशिक्षण गर्नका लागि सरकारको निर्णय पर्खिरहेको क्यान स्रोतले जनाएको छ । सरकारको लकडाउन जेठ ३२ गतेसम्मको लागि छ । त्यसपछि लकडाउन खुकुलो बनाउनका लागि सरकारले मोडालिटी तयार पार्दैछ ।

असार १५ पछि प्रशिक्षण फेरी सुरु गर्नका लागि सरकारसंग अनुमति माग्ने निर्णय भएको हो ।

कोरोना भाइरस महामारीका कारण अहिले नेपाली खेलाडीको प्रशिक्षण देखि सबै प्रतियोगिता स्थगित अवस्थामा छ । आईसीसीले पनि क्रिकेट विश्वकप लिग २ स्थगित गरेको छ । नेपालले प्रतिस्पर्धा गर्ने ३ ट्राई सिरिज पनि महामारीका कारण नै स्थगित छ ।

बैठकले प्रदेश संरचनालाई ध्यानमा राख्दै सात वटा प्रदेशमा एक-एक जना प्रशिक्षण राख्ने प्रस्तावसमेत गरेको छ ।

यसैगरी विदेशी प्रशिक्षक नियुक्तका लागि केही प्रशिक्षकसँग कुरा भएको र अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ । मौखिक कुराकानी भइरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ । सम्भवत लकडाउन खुलेपछि निर्णय हुन्छ ।

क्रिकेट गतिविधि नभएको र लकडाउन जारी रहेकोले पनि तत्काल विदेशी प्रशिक्षक आउने सम्भावना नरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment