Comments Add Comment

कास्कीका कोरोना संक्रमित : संक्रमणको स्रोत अझै पत्ता लागेन

२५ जेठ, पोखरा । पोखरा महानगरपालिका–८ सिमलचौरका ६० वर्षीय पुरुष मंगलबार आफ्नै कोठामा बेहोस भेटिए । आफन्तले गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगे । तर मेडिकल कलेजले उपचार गर्न असमर्थ रहेको बताएपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगियो ।

धुम्बाराहीस्थित ह्याम्सप अस्पतालमा उपचाररत उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भयो ।

गण्डकी स्वास्थ्य निर्देशनालय, पोखरा महानगर र नेपाल प्रहरीको टोलीले संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरेका छन् । ‘उहाँको बाहिरी ट्राभल हिस्ट्री देखिएको छैन,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले भने, ‘उहाँ कसरी संक्रमित हुनुभयो भने पत्ता लगाउने प्रयासमा छौं ।’

उनी कास्कीका पहिलो कोरोना संक्रमित हुन् । कानुन व्यवसायी तथा प्रध्यापक समेत रहेका उनको सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ । तर कसैमा पनि लक्षण नदेखिएकाले स्रोत पत्ता लगाउन गाह्रो भइरहेको महानगर बताउँछ । ‘बिहान मर्निङवाक निस्कँदा रहेछन् । धेरै समूहमा हिँड्ने मान्छे पनि होइनन्’ पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले अनलाइनखबरसँग भने, ‘तर संक्रमणको स्रोत पत्तना लगाउन गाह्रो भएको छ ।’

३८ जनाको स्वाब संकलन

६० वर्षीय संक्रमितको सम्पर्कमा आएका ३८ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । ‘प्रारम्भिक चरणमा ३७ जना प्रत्यक्ष सम्पर्कमा आएको पाइयो । उनीहरुको तत्काल स्वाब कलेक्सन गरेर परीक्षण गर्न पठाइसकेका छौं,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख शर्माले भने ।

पोखरा ८ वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार संक्रमितसँग सम्पर्कमा थप १५ जनाको पनि पहिचान भएको छ । उनीहरुको पनि पीसीआर टेस्ट गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment